Comments Add Comment

अष्ट्रेलियामा नेपाली सेफलाई २३ वर्ष जेल


१८ जेठ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियामा ग्राहकको हत्या गरेको आरोपमा पक्राउ परेका एक नेपाली सेफलाई २३ वर्षको जेल सजाय सुनाइएको छ ।

भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत नेपाली सेफ हरिप्रसाद ढकालले सन् २०१६ अक्टोबर २५ मा रक्सीले मातेर रेष्टुरेन्टमा होहल्ला गर्ने एक पाकिस्तानी ग्राहकलाई चक्कु प्रहार गरी हत्या गरेको ठहर भएको छ ।

ढकाल अष्ट्रेलियामा अवैध रुपमा बसोबास गरिरहेको समेत भेटिएकाले जेल सजाय भुक्तान गरिसकेपछि उनलाई नेपाल फिर्ता गरिने छ ।

५१ वर्षीय ढकालले पाकिस्तानी मुलका ३८ वर्षीय अब्दुल्लाह सिद्दिकीलाई चक्कु प्रहार गरेर हत्या गरेको स्वीकार गरेका छन् ।

घटनाको दिन बेलुकी पाकिस्तानी मुलका सिद्दिकी एक्लै रेष्टुरेन्टमा रक्सी पिएर बसिरहेका थिए, बेलुकी भइसकेकाले रेष्टुरेन्ट खाली थियो । उनले काउन्टरमा गएर वेट्रेससँग थप खानेकुराको अर्डर गरे ।

उनी रक्सीले होहल्ला गर्न थालिसकेका थिए त्यसैले ढकाल किचनबाट आएर उनले धेरै पिइसकेकाले थप खानेकुरा दिन नसक्ने बताए । त्यसपछि सिद्दिकी रिसाएर ढकाललाई गालीगलौज गर्दै धकेल्न थाले ।

स्थिति तनावपूर्ण भएपछि वेटे्रसले दुवैजनालाई झगडा नगर्न भनिन् तर झगडा साम्य भएन । सिद्दिकीले गालीगलौज गरिरहे त्यसले ढकाललाई रिस उठ्यो र किचनबाट चक्कु ल्याएर सिद्दिकी माथि १७ पटक प्रहार गरे ।

सिद्दिकीको हत्यापछि ढकालले रगत लत्पतिएको चक्कुलाई कपडाले बेरेर झोलामा राखी बि्रज मल हुँदै बालारात प्रहरी चौकीमा पुगी आत्मसमर्पण गरे ।

अदालतमा ढकालले आफ्नो प्रतिरक्षा गर्दा सिद्दिकीको मृत्यु हुन पुगेको बयान दिएका थिए तर, अदालतले उनलाई दोषी ठहर्याउँदै उनको दावीलाई अस्वीस्कार गरिदिएको छ ।

‘उनलाई छिटो रिस उठ्यो र उनले त्यस्तो कार्य गरे’ मुद्दाको अन्तिम सुनुवाई गरेका न्यायाधीस लेक्स लेस्रीले भने ‘यो निकै नै दुखद मुद्दा थियो, हत्या गर्नै पर्ने गरी सिद्दिकीले चुनौती दिएका थिएनन् ।’

‘एकको मृत्यको भएको छ । यी मानिसले लामो समय जेल सजाय भोग्दैछन् र त्यसपछि उनलाई उनको देश नेपाल फर्काइने छ’ न्यायाधीस लेस्रीले भने ।

ढकाललाई न्युनतम १७ वर्ष जेल सजाय दिइनेछ र सजाय अवधी सकिएपछि भने उनलाई नेपाल फिर्ता पठाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment