Comments Add Comment

भरतपुर अस्पतालको भाडाः १३ धुरको ४ लाख, १ बिगाहाको एक लाख !

भरतपुर अस्पतालको जग्गा भाडामा लिएर बनाइएको पुरानो मेडिकल कलेजको भवन ।

१९ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालले हालै मात्रै अस्पताल परिसरमा एक क्यान्टिन निर्माण गरी सञ्चालनमा ल्याएको छ । सो क्यान्टिन १३ धुर जग्गामा छ ।

क्यान्टिनले मासिक भाडा ४ लाख बुझाउँदै आएको छ । वार्षिक रकम हिसाव गर्दा ४८ लाख रकम हुन आउँछ । जबकी पुरानो मेडिकल कलेजले एक विगाहा जग्गाको वार्षिक भाडा एक लाख बुझाउँदै आएको छ । एक विगाहामा २० कठ्ठा हुन्छ । एक कठ्ठा २० धुरको हुन्छ ।

तर भरतपुर अस्पतालको ९ बिगाहा जग्गा भाडामा लिएर मेडिकल कलेज सञ्चालन गर्दै आएको पुरानो मेडिकल कलेजले प्रति बिगाहा वार्षिक एक लाख भाडा तिर्ने गरेको छ ।

चितवनको भरतपुरको केन्द्र भागमा रहेको अस्पतालको जग्गा कौडीको भाउमा भाडामा लिएर भारतीय नागरिक भी नटराजसहितको टोलीले सानदार मेडिकल कलेज चलाउँदै गर्दा सरकारको पूर्ण स्वामित्वमा चलेको सरकारी अस्पताल भने दुब्लाउँदै जान थालेको छ ।

पुरानो मेडिकल कलेजले प्रति बिगाहा जम्मा एक लाख मात्रै भाडा बुझाउँछ । त्यो पनि कहिल्यै समयमा तिर्दैन । पटकपटक भाडा तिर्नका लागि ताकेता गर्नुपर्ने वाध्यता अस्पताल प्रशासनलाई छ ।

अस्पतालका लेखा अधिृकत हरिहर शर्मा तिवारीले भाडा रकम भुक्तानीका लागि ६ पटक पत्र पठाउँदा समेत रकम नआएको बताए । पुरानो मेडिकल कलेजले अघिल्लो आर्थिक वर्षकै बक्यौता रकम २३ लाख रकम तिर्न बाँकी छ भने भने चालु आर्थिक वर्षको मात्रै भाडा र सम्झौता अनुसारको अन्य रकम गरी ६१ लाख २० हजार रकम बुझाएको छैन ।

मेडिकल कलेजका सञ्चालक भी नटराज प्रसादले भरतपुर अस्पतालसँग गरेको सम्झौतामा हरेक वर्ष भाडा १० प्रतिशतका दरले बढाउँदै जाने उल्लेख छ । तथापि मेडिकल कलेजले शुरुको रकममा १० प्रतिशत मात्रै रकम तिर्दै आएको छ । तर भरतपुर अस्पतालले भने हरेक वर्ष बढ्ने १० प्रतिशतलाई मुल रकम मानी सोको १० प्रतिशत भाडा दिनुपर्ने वताउँदै आएको छ ।

पुरानो मेडिकल कलेजका एक प्रतिनिधिले भरतपुर अस्पताल र मेडिकल कलेजका बीचमा भाडा सम्बन्धी फरक–फरक बुझाइ भएकोले समस्या आएको बताए । उनले अस्पतालको तिर्न बाँकी रकम असार मसान्तसम्म तिर्ने दाबी गरे ।

भरतपुर अस्पतालका लेखा अधिकृत हरिहर शर्मा तिवारीले अस्पतालको जग्गा कौडीको भाउमा छाडिराख्ने कि समयानुकुल हुने गरी समायोजन गर्ने भन्ने विषयमा सरोकारवाला निकायहरुको ध्यान जानुपर्ने बताए । ‘भरतपुरको सुनको टुक्रा जस्तो जग्गा भाडा बिगाहाको जम्मा एक लाखमा दिइएको छ,’ लेखाअधिकृत तिवारीले भने, ‘यसले अन्ततः भरतपुर अस्पताल नै धरासयी हुन्छ, अस्पताललाई बचाउनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment