Comments Add Comment

प्रशासनिक संक्रमणकाल सुरु भयोः मुख्यमन्त्री भट्ट

२० जेठ, डोटी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले अहिले देशमा प्रशासनिक संक्रमणकाल सुरु भएको बताएका छन् ।

आइतवार डोटीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् । ‘देशमा राजनीतिक संक्रमणकाल अन्त्य भएको छ’ मुख्यमन्त्री भट्टले भने, ‘तर प्रशासनिक संक्रमणकाल सुरु भएको छ ।’

उनले केही कर्मचारीहरुलाई संघीयता नपचेकाले उनीहरु जनप्रतिनिधिहरुलाई समेत अप्ठेरोमा पार्न खोजिरहेको बताए । ‘अधिकांश कर्मचारी साथीहरुले सहयोग गर्नु भएको छ, उहाँहरुलाई धन्यवाद पनि दिन चाहान्छु’ डोटी जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रमका लागि गृहजिल्ला डोटी पुगेका मुख्यमन्त्री भट्टले भने ‘केही यस्ता कर्मचारीहरु छन् जसले आफूलाई जनप्रतिनिधिहरु भन्दा माथी ठान्दैछन् र संघीयता असफल होस् भन्ने चाहान्छन् ।’

मुख्यमन्त्री भट्टले कर्मचारीहरुले आफ्नो भविश्यको सुनिश्चितता खोज्नु जायज भएको बताउँदै भने ‘तर आफ्नो सेवा सुविधा खोज्ने नाममा खटाएको ठाउँमा पनि जान्न भन्नु गलत हो ।’ कर्मचारीहरुलाई सेवा सुबिधा दिने कुरामा सरकार सकारात्मक रहेको भन्दै उनले कुनै पनि कर्मचारीहरुले संघीयता फेल होला र फेरी हाम्रो हालीमुहाली होला भनेर नसोच्न आग्रह गरे ।

प्रदेश सरकारका महत्वका चार क्षेत्र

मुख्यमन्त्री भट्टले ७ नं. प्रदेशलाई समृद्ध प्रदेश बनाउनका लागि प्रदेश सरकारले चारवटा कुरालाई अगाडि बढाएको बताए । ‘कृषि, पर्यटन, जलस्रोत र जडीवुटी सरकारका चार प्राथमिकताका क्षेत्र हुन’ उनले भने ‘यिनै क्षेत्रको विकासको विकासबाट प्रदेश समृद्धि सम्भव छ ।’ मुख्यमन्त्री भट्टले कृषिलाई आधुनिकीकरण गर्ने, किसानलाई सहुलियत दिने, प्रत्येक जिल्लामा माटो परीक्षण गर्ने सरकारको मुख्य लक्ष रहेको वताए ।

‘प्रदेशभित्र जलबिद्युत उत्पादन सरकारको दोश्रो प्राथमिकतामा रहेको छ’ उनले भने ‘प्रदेशभित्र रहेका पानीका श्रोतहरुलाई खानेपानी, सिंचाई र ऊर्जाका लागि भरपुर रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा सरकारको ध्यान केन्दि्रत भएको छ ।’ यस्तै पर्यटकीय क्षेत्रको प्रशर्द्धन, विकास र प्रचार तेश्रो र जडीबुटी संकलन र प्रसोधन चौथो प्राथमिकतामा रहेको उनले बताए ।

मुख्यमन्त्री भट्टले प्रदेशको संरचना नयाँ भएका कारण यसलाई विकासको क्षेत्रमा गति लिन सबैले सरकारलाई सहयोग गर्नु पर्ने वताए । उनले भने ‘म चमत्कार गर्छु भन्न त सक्दैन तर म सुरुवात गर्छु भनेर जिम्मेवारी लिएको हुँ र राम्रो कामको सुरुवात गर्छु ।’

भनसुनको आधारमा योजना पाउने जमाना गए

मुख्यमन्त्री त्रिलोचन भट्टले बिगतका जस्तो भनसुनका आधारमा कुनै पनि योजना नबनाइने बताएका छन् ।

‘बिगतका दिनहरुमा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरु र कर्मचारीहरुलाई भनेपछि योजना पास हुने चलन थियो’ उनले भने ‘अब त्यस्तो हुँदैन, जनताको आवश्यकता र मागमा आधारित वास्तबिक योजनाहरु मात्र सरकारले निर्माण गर्नेछ ।’

उनले भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्तिलाई सरकारले उन्मुक्ति नदिने बताउँदै बिगतका जस्तो कृत्रिम योजना बनाउने अनि केही मान्छे मिलेर भ्रष्टाचार गर्ने कुरा प्रदेश सरकारले नसहने बताए । ‘कुनै पनि प्रकारको भ्रष्टाचार भएको छ भने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा रहेको टोल फ्रि नं. १६६०-९१५२७२३ मा सिधै फोन गर्नुहोला’ उनले भने ‘हामी भ्रष्टाचारबिरुद्ध शून्य सहनशीलताको सिद्धान्त अंगिकार गर्छौं ।’

उनले स्थानीय तहका जनप्रतिनिधिहरु पनि भ्रष्टाचारमा संलग्न भएको भन्ने गुनासाहरु सुनिन लागेकोप्रति दुःख व्यक्त गर्दै भने ‘जनताको सेवा गर्छौं भनेर जनतासंग भोट मागेर आएकाहरुले समेत भ्रष्टाचार गर्न थालेपछि यो देशको अवस्था के होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment