Comments Add Comment

विमस्टेकको शिखर सम्मेलन आउँदो भदौमा काठमाडौंमा हुने

२० जेठ, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास -विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले विमस्टेकको चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो । बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरुसँग गर्ने निर्णय पनि गरेको छ ।

शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, अध्यागमन कार्यालय तथा कारगार कार्यालयहरुको संगठन संरचना तथा दरबन्दी पनि स्वीकृत गरेको छ । प्रशासनको कामलाई सहज ढंगले सम्पादन गर्न प्रशासन, अध्यागमन र कारागार कार्यालयमा संगठन संरचना र दरबन्दी मिलानसम्बन्धी प्रस्ताव स्वीकृत गरिएको मन्त्री बाँस्कोटाले बताए ।

मन्त्रिपरिषद बैठकले काठमाडौं-तराई प्रदेश मार्ग सडक आयोजना सञ्चालन कार्यविधि, २०७५ लाई पनि स्वीकृत गरेको छ । त्यसैगरी सरकारले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकलाई संसदमा पेश गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

प्रवक्ता बास्कोटाले कृषि जैविक विविधता संरक्षण तथा सदुपयोगसम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरिएको बताए । सरकारले विद्यार्थी भर्ना अभियान अन्तरगत अझै ५९ हजार विद्यार्थीहरु विद्यालय नगएको पाइएको उल्लेख गर्दै उनीहरुलाई पनि विद्यालय ल्याउन दोस्रो चरणको भर्ना अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment