Comments Add Comment

सडक र पुलका ऐँजेरु अर्थात् सांसद बनेका ठेकेदार

    हरिनारायण प्रसाद रौनियार

२१ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) ‘कामचोर’ ठेकेदारहरुको खोजीमा छन् । जिल्ला-जिल्लाबाट सूची मगाएका उनी आजभोलि जहाँ पुग्छन्, ‘कामचोर’ ठेकेदारहरुलाई जेल हाल्ने चेतावनी दिन छाड्दैनन् ।

तर, प्रतिनिधिसभामा सत्तारुढ दलकै रोमा बसेका कामचोर ठेकेदारतिर भने उनको आँखा परेको छैन । हो, ठेक्का लिएर वर्षौंसम्म काम नगर्ने निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण प्रसाद रौनियार संघीय समाजवादी फोरमका सांसद हुन् । संघीय फोरम अहिले सरकारमा छ ।

उनै रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनलाई सडक विभागका अधिकारीहरुले सडक र पुलको ‘ऐंजेरु’ भन्ने गरेका छन् । किनकी पुप्पु कन्स्ट्रक्सनले ‘लोएष्ट बिडर’ बनेर सडक तथा पुलको ठेक्काहरु हात पार्छ र कहिल्यै तोकिएको समयमा काम सम्पन्न गर्दैन ।

‘पप्पुलाई बेलैमा काम भएन भनेर कारवाही गर्ने चेतावनी दिनै हुन्न, अदालत पुगेर स्टेअर्डर ल्याइहाल्छ,’ एक अधिकारीले भने, ‘पावरवाला सांसदको कम्पनी भन्ने भएपछि त झन् डिभिजनका हाकिमहरु पप्पुविरुद्ध बोल्दै बोल्दैनन् ।’

भर्खरै उनको पार्टी फोरमका सांसद मो. इस्तियाक राइन शहरी विकासमन्त्री बनेका छन् । त्यसैले सडक विभागमा चर्चा छ, ‘अब ऐँजेरु भवनतिर पनि सर्ने भयो ।’

कम्पनी बेचें भन्दै झूटो प्रचार

पप्पुको मुख्य कार्यालय वीरगञ्जमा छ । सांसद भएपछि ठेकेदार सांसद भन्न थाले र उनको आलोचना भयो । त्यसबाट बच्न उनले कम्पनी बेचेको दाबी गर्छन् ।

सुमित रौनियार

सोमबार अनलाइनखबरले फोन गर्दा पनि सांसद रौनियारले ठेकेदारका रुपमा कुरा गर्न खोजेको कि माननीयका रुपमा भनेर सोधे । हामीले पप्पु कन्स्ट्रक्सनले काम नगरेको गुनासो छ, यसबारे कुरा गर्नुथियो भनेपछि उनले वीरगञ्जकै सुमित रौनियारलाई कम्पनी बेचेको भन्दै यसबारे केही नबोल्ने प्रतिक्रिया दिए । तर, बुझ्दै जाँदा थाहा भयो, सुमित त उनकै छोरा रहेछन् ।

सडक विभागको तथ्यांकअनुसार सडकका अधिकांश पुलको ठेक्का पप्पु कन्स्ट्रक्सनले हात पारेको छ । सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थालाई टेकेर उनी सबैभन्दा कम बोलकबोलसहित टेण्डर हाल्छन् । सडकका हाकिमहरु पनि उनको क्षमतामाथि प्रश्न उठाएर क्रस गर्ने आँट गर्दैनन् र पप्पुले ठेक्का पाउँछ ।

तर, जब ठेक्का पाएर १० प्रतिशत मोबिलाइजेशन खल्तीमा पर्छ, पप्पुले काम गर्न छाड्छ ।

यस्तो छ पप्पुको खराब रेकर्ड

सडक विभागका अधिकारीहरुका अनुसार पप्पु कन्स्ट्रक्सनले बनाउनु पर्ने सबै पुलको लम्बाइ जोड्ने हो भने सात किलोमिटर नाघ्छ । काठमाडौंको तीनकुनेको पुल होस् वा टेकु र कालिमाटीलाई जोड्ने पुल होस्, पप्पुले नै ठेक्का पाएको छ ।

पप्पु कन्स्ट्रक्सनले पर्सामा नौरन्जीया, तिलाव, बेदाहा र  हेरियाडी नदीमा पुल बनाउँदैछ । यसमध्ये नौरन्जीया र तिलाव ०७० सालमै सक्नुपर्ने थियो भने बेदाहा र हेरियाडीको निर्माण ०७३ मै । तर, अझै काम सकिएको छैन ।

रौतहटमा निर्माण हुँदै गरेको चाँदी नदी पुलको म्याद आगामी असारमा सकिँदैछ । तर, भौतिक प्रगतिले भने पुल बन्न अझै लामो समय लाग्ने देखिएको छ । रौतहटकै लमाहखोला र तरहरा झाँद्ध नदीपुल पनि म्याद गुज्रि सकेको छ ।

पप्पु कन्स्ट्रक्सनसँग अहिले १० अर्ब बढीको ठेक्का छ । तर, कुनै पनि काम न समयमा भएको छ, न प्रगति सन्तोषजनक छ । बरु कामको गुणस्तरीयतामाथि पटक-पटक प्रश्न उठेको छ

कञ्चनपुरको दाईजीखोला पुलमा पनि पप्पुले यस्तै लापर्वाही दोहोर्‍याएको छ । यो पुल ०७४ को पुसमै निर्माण सक्ने गरी सम्झौता भएको थियो ।

पप्पु कन्स्ट्रक्सनले बाँके, सिराहा, धनुषा, सुर्खेत, सप्तरीलगायतका जिल्लामा पनि पुलका ठेक्का लिएर अलपत्र पारेको विभागका अधिकारीहरु बताउँछन् ।

हुलाकी मार्गमा पर्ने झापाको कन्काई पुलको निर्माणमा पनि पप्पुको लापरवाही कायमै छ । २०७२ जेठ मसान्तसम्ममा निर्माण सक्नुपर्ने पुल अझै बनिसकेको छैन ।

पुलसँगै सडकको अवस्था पनि त्यस्तै छ । कम्पनीले पर्साको सिर्सिया सुख्खा बन्दरगाह-परवानीपुर सडकसहित दुई वटा खण्ड निर्माणको ठेक्का पनि लिएको छ । हुलाकी राजमार्गको एउटा खण्डमा डेढ अर्बको ठेक्का पनि पप्पुकै जिम्मामा छ ।

पप्पु कन्स्ट्रक्सनसँग अहिले १० अर्ब बढीको ठेक्का छ । तर, कुनै पनि काम न समयमा भएको छ, न प्रगति सन्तोषजनक छ । बरु कामको गुणस्तरीयतामाथि पटक-पटक प्रश्न उठेको छ ।

सबैभन्दा धेरै लापरवाही पुलमा

उदघाटन नहुँदै भत्किएको बर्दियाको जब्दीघाट पुल

सडक विभागको तथ्यांकअनुसार पप्पुले सबैभन्दा धेरै लापर्वाही पुलमै गरेको देखिन्छ । गत असारमा बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल उदघाटन नहुँदै भत्कियो । यो पुल पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढी लागतमा बनाएको थियो । यसको निर्माणमै गुणस्तरहीन सामाग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । तर त्यसलाई रोक्न कसैले सकेन ।

‘कोही आफूविरुद्ध बोल्यो भने पप्पुले मुख थुन्न साम, दाम, दण्ड, भेद सबै लगाउँछ,’ एक अधिकारीले भने, ‘जतिसुकै दबाव बनाउँदा पनि यो कम्पनीले समयमै काम गर्दैन । एउटा न एउटा समस्या देखाएर काम अल्झाउँछ । गरेको काम पनि टिकाउ हुँदैन ।’

तर, पप्पुले समयमा काम गर्दैन र उसको कामको गुणस्तरमाथि पनि प्रश्न उठेको छ भन्ने जान्दाजान्दै पनि लो बिडका कारण एकपछि अर्को ठेक्का ‘अवार्ड’ जसरी पड्काइरहेको छ । ‘काम हुँदैन भन्ने जान्दा जान्दै पनि कम रकम कबोल गरेकै कारण उसलाई ठेक्का नदिई सुखै छैन,’ विभागको एक अधिकारीले भने ।

विभागका प्रवक्ता मुक्ति गौतम लापर्वाही गरेरै समयमै काम नगर्नेहरुको ठेक्का तोड्न अभियान चलाउने बताउँछन् । ‘अब संस्थागत रुपमा नै एउटा मापदण्ड बनाएर ठेक्का तोड्छौं,’ उनले भने, ‘कुनै एउटा कम्पनी विशेषविरुद्ध भन्दा पनि यो अभियान वातावरण सहज हुँदा-हुँदै पनि काम नगर्नेविरुद्ध हुनेछ ।’

पप्पुलाई पहिलो पटक दण्ड ?

नेपालगञ्जको राँझादेखि जमुनाहसम्म साढे १० किलोमिटर सडकमा ठूला-ठूला खाल्डा परेपछि पप्पु कन्स्ट्रक्सनलाई ४ करोड बढी जरिवाना तिराएको उनले बताए । उक्त सडक तोकिएभन्दा दुई वर्ष ढिलो निर्माण भएको थियो । कालिका कन्स्ट्रक्सनले जिम्मा लिएको कोहलपुर-राँझा सडक तोकिएको म्यादभन्दा आठ महिनाअघि नै हस्तान्तरण हुँदा पप्पुलाई भने दुई वर्ष समय थप्नुपरेको थियो ।

सडकको काम गुणस्तरीय नभएपछि पप्पुले इतिहासमै पहिलोपटक काम नराम्रो भएको स्वीकार गरी जरिवाना तिरेको थियो । पप्पुले नै जिम्मा लिएको बर्दिया गुलरियाको बैदीचोकदेखि मगरागाडी जोड्ने सडकको काम पनि विवादित बनेको थियो ।

पप्पुले रौतहटको लालबकैया नदीमा बनाएको पुल ०७४ सालमा दोस्रो पटक भासियो । पूर्वी पिलर भासिएको एक वर्षपछि पश्चिमतर्फको पिलर पनि भासियो । पप्पुले बनाएको बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल पनि निर्माण सकेर हस्तान्तरण नहुँदै पुल भाँचिएको थियो । त्यसमा कम्पनीको जिम्मेवारी नहुने बताउँदै सर्वोच्चमा दायर गरेको रिटमा पप्पुकै पक्षमा फैसला आयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment