Comments Add Comment

छापामा आजः राजपाको वैधानिकता संकटमा, दलाई लामालाई पूर्वराष्ट्रपति यादवसँग भेटाउने तयारी 


२३ जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् । समसामयिक राजनीतिक विषयभन्दा पनि आज पुँजीबजारमा देखिएको असन्तुष्टि, ठेकेदारको लापरबाही, वैदेशिक रोजगारीका क्रममा नेपालीले भोगेका पीडालगायत विषयले बढी ठाउँ पाएका छन् ।

करको विरोधमा सेयर कारोबार ठप्प भएकोलाई आजका सबैजसो दैनिक पत्रिकाले लेखेका छन् । सरकारले कर गणनामा विधि परिवर्तन गरेको विरोधमा लगानीकर्ताले इतिहासमै पहिलोपटक सेयर कारोबार ठप्प पारेका हुन् । नयाँ पत्रिका दैनिकले यसलाई सेयरबजार र वाम सरकारबीचको अविश्वास भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच सिंगापुरमा हुने शिखरवार्ताको सुरक्षा गोर्खा सैनिकले दिने खबर प्रकाशमा आएको छ । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले कभरेज गरेका छन् ।

आइएनजीओको बजेटमा सांसदलाई तालिम दिने तयारी गरिएको खुलासा आजका केही पत्रिकाले गरेका छन् । समाचार अनुसार संसद सचिवायलयले सरकारी बजेट थन्क्याएर दाताको बजेटमा संसदका ३ सय ३४ संसदीय प्रक्रियाबारे दुई दिने तालिम दिन लागेका हुन् ।

चीनसित ऊर्जाबारे छाता सम्झौता हुने खबर अन्नपूर्णले छापेको छ भने नेपाल ट्रस्टको घोटाला अख्तियारमा पुगेकोलाई नागरिकले मुख्य समाचार बनाएर पहिलो पृष्ठमा छापेको छ ।

यसबाहेक भित्री पृष्ठमा भने ८ हजार कर्मचारीले समायोजन रोजेको, नेकपा प्रत्यक्ष निर्वाचित कार्यकारीतिर लागेको, आफ्नै पार्टीको नेत्रीलाई प्रधानमन्त्रीले हप्काएकोलगायत समाचार छन् ।

नेपाल ट्रस्ट घोटाला अख्तियारमा

राज्यलाई पाँच अर्ब रुपैयाँ घाटा हुने गरी नेपाल ट्रस्टको कार्यालयले निजी कम्पनीलाई जग्गा भाडामा दिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

नागरिक दैनिकका अनुसार ट्रस्टको आर्थिक मूल्यांकन समितिको निर्णयविपरीत कम मूल्यमा जग्गा लिजमा लिएको कम्पनीले दरबारमार्गस्थित जग्गामा भवन निर्माणलगायत काम भने रोकेको छैन ।

कार्यालयका कर्मचारीको मिलेमतोमा राज्यलाई ठूलो घाटा भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीउपर छानबिन भइरहेको हो । ट्रस्ट कार्यालयबाट सबै फाइल अख्तियारले लगेको छ ।

नेत्रीलाई हप्काए प्रधानमन्त्रीले

प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका महिला नेत्रीलाई अनावश्यक माग उछालेको भन्दै हप्काएका छन् । अन्नपूर्णका अनुसार उनले अनावश्यक मागमा उचालिएर नहिँड्न समेत चेतावनी दिएका छन् ।

पार्टीको आन्तरिक संगठनात्मक संरचनादेखि सरकारको सहभागितासम्ममा पार्टी नेतृत्वले महिलालाई उपेक्षा गरेको भन्दै मंगलबार ज्ञापनपत्र बुझाउन पुगेका महिला नेत्रीलाई प्रधानमन्त्री ओलीले त्यस्तो चेतावनी दिएको अन्नपूर्णको समाचारमा उल्लेख छ ।

समाचार अनुसार ओलीले समावेशी, समानुपातिकका एजेन्डामा घुमिरहनेभन्दा पहिले पार्टीको विषयमा सोच्न आग्रह गर्दै महिला नेत्रीमाथि आक्रोस पोखेका थिए ।

एउटै कोठामा पाँच कक्षाको पढाइ, छोरी पढाउन साइकल बाँड्दै राउत

प्रदेश २ सरकारले ‘बेटी बचाऊँ, बेटी पढाऊँ’ अभियानअन्तर्गत आठ जिल्लामा सात सय साइकल वितरण गर्ने भएको छ ।

मुख्यमन्त्रीको पहिलो प्राथमिकतामा यो अभियान रहेकाले यसलाई सफल पार्न साइकल खरिद गरी वितरण गर्ने तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्न लागिएको छ । ५० देखि १ सय थानसम्म पर्ने गरी साइकल आठै जिल्लामा बाँड्ने तयारी गरिएको मुख्यमन्त्रीका स्वकीय सचिवाले बताएको भन्दै अन्नपूर्णले समाचार लेखेको छ ।

अन्नपूर्णमै सप्तरीको हनुमाननगर कंकालिनी ६ कदमाहास्थित राष्ट्रिय प्राविमा कक्षा ५ सम्मका विद्यार्थी एउटै कोठामा बसेर पढ्ने गरेको समाचार छ ।

विद्यालयमा ६ वटा कोठा छन् तर दुइटा जोमिखपूर्ण रहेको जनाइएको छ । अन्य कोठामा पुराना फर्निचर राखिएको छ । कक्षा १ मा २४, २ मा २२, ३ मा १२, ४ मा १८ र ५ मा १० गरी ८६ विद्यार्थी अध्ययनरत छन् ।

दलाई लामालाई पूर्वराष्ट्रपति यादवसँग भेटाउने तयारी 

पूर्वराष्ट्रपति रामवरण यादवलाई अमेरिकाको सिकागोमा आयोजना हुने विश्व हिन्दूसभामा बोलाउन केही हिन्दूवादी संगठनका नेताहरुले प्रयास गरिरहेका छन् । गणतन्त्र हिन्दू राष्ट्रका राष्ट्रप्रमुखका हैसियतमा डा. यादवले प्रदर्शन गरेको भूमिकालाई कदर गर्नुपर्ने अवधारणासहित उनीहरुले आयोजकसमक्ष लविङ गरिरहेको स्रोतलाई उद्धृत गर्दै कारोबार दैनिकले खबर लेखेको छ ।

हरेक ४ वर्षमा आयोजना हुने विश्व हिन्दू सभा यो वर्ष सवा सय वर्षअघि साधु ुस्वामी विवेकानन्दले विश्व धर्म संसदलाई गरेको ऐतिहासिक सम्बोधनको स्मृतिमा सिकागोमा आयोजना गर्न लागिएको हो ।

कारोबारका अनुसार यो सभामा तिब्बती धर्मगुरु दलाई लामा, राष्ट्रिय स्वयसेवक संघका प्रमुख मोहन भागवत, भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, हलिउड स्टार रिचार्ड गेरेलगायतलाई निम्तो गरिएको र निम्तो गरिएकाहरुको तर्फबाट सहभागिताको सुनिश्चितता खोजिएको छ ।

आईएनजीओको बजेटमा सांसदलाई दुईदिने तालिम

संसद् सचिवालयले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को अनुदानमा सांसदलाई दुईदिने तालिम दिने भएको छ । बुधबार र बिहीबार संसद सचिवालयले संसद् भवन नयाँबानेश्वरको ल्होत्से हलमा प्रशिक्षण आयोजना गरेको हो ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको प्रभावमा संसद् सचिवालयले विगतदेखि नै सांसदहरुलाई तालिम र भ्रमणको नाममा मुलुकभित्र र बाहिर लैजाने गरेको छ । नयाँ पत्रिका लेख्छ– मुलुकको नीति निर्माण गर्ने सर्वोच्च निकायमा समेत एनजीओ, आईएनजीओको प्रभाव बढेको भन्दै आलोचना भइरहेका बेला संसद् सचिवालयले दातृ निकायको प्रभाव रोकेको छैन ।

मेयरको निर्देशनमा पीएसओले कुटे सेवाग्राही

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोका अंगरक्षक (पीएसओ) ले कार्यालय आएका एक सेवाग्राहीलाई मंगलबार निर्घात कुटपट गरेका छन् ।

नयाँ पत्रिकाका अनुसार इलाका प्रहरी कार्यालय उर्लाबारीमा दरबन्दी भई विगत एक वर्षदेखि मेयर फागोको सुरक्षामा खटिएकाप्रहरी हवल्दार सम्पत राजवंशी र उनका सहयोगीले उर्लाबारी न्यायिक समितिमा छलफल गर्न आएका सेवाग्राहीलाई मंगलबार दिउँसो निर्घात कुटपिट गरेका हुन् ।

मेयरकै निर्देशनमा बहिनी–ज्वाइँको विवाद मिलाउन उर्लाबारी नगरपालिकामा आएका सेवाग्राही सुनसरी इटहरीका मनीष भण्डारी, उनका दाजुहरु सुमन र रलोकबहादुर भण्डारीमाथि कुटपिट भएको हो ।

राजपाको वैधानिकता संकटमा


आफैंले तोकेको म्यादभित्र महाधिवेशन गर्न नसकी दलको वैधानिकतामाथि नै प्रश्न उठ्ने परिस्थिति उत्पन्न भएपछि राष्ट्रिय जनता पार्टीले समस्याको समाधान खेज्न गृहकार्य शुरु गरेको छ ।
मधेसकेन्द्रित ६ दल एकीकृत भई बनेको राजपाले निर्वाचन आयोगमा दल दर्ता गर्दा आगामी असार मसान्तभित्र महाधिवेशन गरिसक्ने प्रतिबद्धता जनाएको थियो ।

कान्तिपुरका अनुसार, दलको वैधानिकता जोगाउने उपाय खोज्न राजपा अध्यक्ष मण्डलको बैठक मंगलबार बसेको थियो ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment