Comments Add Comment

अर्जेन्टिनाद्वारा इजरायलसँगको विश्वकप अभ्यास खेल रद्द

२३ जेठ, काठमाडौं । अर्जेन्टिनाले इजरायलसँगको एक मैत्रीपूर्ण खेल रद्द गरेको छ । अर्जेन्टिना र इजरायलबीच विश्वकप अन्तर्गत अभ्यास खेल आगामी शनिबार जेरुसेलममा तय भएको थियो ।

तर, अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो ह्युगेनले ईएसपीएन स्पोर्टस् च्यानलसँग मंगलबार कुरा गर्दै इजरायलसँगको खेल स्थगित गरिएको जानकारी दिएको बीबीसीले लेखेको छ ।

उनका अनुसार गाजामा जारी हिंसाका कारण खेल रद्द गरिएको हो । गाजामा रहेका प्यालेस्टाइनीमाथि इजरायलको व्यवहार गलत भएको भन्दै इजरायलमाथि राजनीतिक दबाव छ ।

ह्युगेनले खेल रद्द भएर राम्रो भएको बताएका छन् । अर्जेन्टिनाका सञ्चारमाध्यमले पनि खेल रद्द भएको समाचार प्रसारण गरिरहेका छन् । इजरायली फुटबल एसोसिएसनले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन ।

मेस्सीको विरोध

वेष्ट ब्यांकको रमल्लाहमा प्यालेस्टाइन फुटबल एशोसियसनले लियोनल मेस्सीसहित अर्जेन्टिनी फुटबल टोलीको तस्वीरसहित पोस्टर टाँगेर खेल रद्द गर्न भनेको थियो ।

गत सोमबार एशोसियसनका अध्यक्ष जिबरिल रजोबले अर्जेन्टिना, दक्षिण अमेरिका फुटबल संघ र फिफालाई चिठी लेखेर मैत्रीपूर्ण खेलको विरोध जनाएका थिए । उनले लेखेका छन्, ‘यस खेललाई राजनीतिक रुपमा प्रयोग गरिँदै छ । इजरायल सरकार जेरुसेलममा यो खेल आयोजना गरेर राजनीतिक सन्देश दिन चाहान्छ ।’

उनले अरब र मुस्लिम देशका करोडौं प्रशंसकहरुलाई मेसीको नाम लेखिएको टिशर्ट जलाउनसमेत अपिल गरेका थिए । यसैगरी ७० जना बालबालिकाहरुको एक समूहले मेस्सीलाई पत्र लेखेर इजरायलसँग फुटबल नखेल्न अपिल गरेको थियो ।

अर्जेन्टिनी सन्चार माध्यमहरुका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्जेन्टिनाका राष्ट्रपति माउरिसिओ माक्रीलाई फोन गरेर खेल स्थगित गर्न भनेका थिए । पछिल्लो खबरअनुसार गाजामा इजरायली सेनाले १२० जना प्यालेस्टाइनीको हत्या गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment