Comments Add Comment

केपी ओलीले गुमाएको एउटा मौका !

दक्षिण एशियाको नेता बन्ने कि 'राष्ट्रिय नेता' मै खुम्चिने ?

२३ जेठ, काठमाडौं । दशैंताका तत्कालीन माओवादीका एकजना मध्यमस्तरका नेता केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेेछन् । त्यहाँ ओलीले गफ दिँदै भनेछन्- विश्वराजनीतिकै कुरा गर्ने हो भने नेपालमा जस्तो सिनियर लिडर समकालीन विश्वमै छैनन् । म जेल परेका बेला डोनाल्ड ट्रम्प केटीहरुसँग रमाएर हिँडिरहेका थिए । नरेन्द्र मोदी पनि मभन्दा जुनियरै हुन् । सी जिनपिङ पनि मभन्दा कान्छै नेता हुन् !

प्रधानमन्त्री ओली बहुमतप्राप्त सरकारको नेतृत्व गरेर राष्ट्रिय नेता बनिसकेका छन् । यसवीचमा उनलाई दक्षिण एशियाकै नेता बन्ने अवसर पनि आएको हो, तर यसलाई उनले पक्डिन सकेनन् र गुमाए । प्रधानमन्त्री ओलीले कसरी यो मौका गुमाए ? आउनोस्, यसबारे समीक्षा गरौं-

सार्कप्रति अरुची, पाकिस्तान रिसायो

फागुनको तेस्रो साता पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपाल भ्रमणमा आएका थिए । उनी प्रधानमन्त्री केपी ओलीलाई बधाइ पनि दिने र दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनर्जागि्रत गराउने योजनाका साथ काठमाडौं आएका थिए ।

राष्ट्रवादको नारामा चुनाव जितेका ओली प्रधानमन्त्री भएपछि भारत भ्रमणमा नजाँदै पाकिस्तानका प्रधानमन्त्री नेपाल आएका हुन् । यसले भारतलाई झस्कायो । ओलीको पहिलो भ्रमण चीनमा भइदिएको भए भारत थप झस्कने थियो । भारत जति झस्कन्थ्यो, त्यति नै नेपालले आफ्नो अन्तरराष्ट्रिय व्यक्तित्व उच्च बनाउने अवसर पाउने थियो ।

तर, दुर्भाग्य के भैदियो भने अब्बासीको नेपाल भ्रमणलाई प्रधानमन्त्री ओलीले ‘कार्ड’ का रुपमा प्रयोग गर्न सकेनन् । वा गर्न चाहेनन् । बरु त्यसअघि नै ओलीले उपचारको बाहनामा बैंकक पुगी भारतीय नेता राम माधव र अजित डोभलसँग गोप्य भेट गरिसकेका थिए ।

अन्ततः ओलीसँग आश गरेर बसेको पाकिस्तान बुमर्‍याङमा पर्‍यो । र, अहिले पाकिस्तानीहरु ओली सरकारसँग रिसाएको अवस्था छ ।

नेपालले गुमाएको ऐतिहासिक मौका

केपी ओलीको नेतृत्वको सरकार गठन भएयता दक्षिण एशियाको राजनीतिमा केही महत्वपूर्ण परिघटना सतहमा आएका छन् । जस्तो कि- मोदीले चीन भ्रमण गरेर सी जिनपिङसँग आश्चार्यजनक रुपमा सम्बन्ध सुधार गरेका छन् । दुई देशवीचको यो न्यानोपनले नेपाललाई पनि केही सन्देश त दिएको छ नै, तर भारतलाई पनि पाकिस्तानसँगको शत्रुता घटाउन दबाव दिएको छ ।

किनभने, चीनले भारतसँग मित्रता बढाउनु भनेको पाकिस्तानसँगको दुरी बढाउनु होइन । चीनको चाहना यो छ कि एशियाली राष्ट्रहरु मित्रवत ढंगले अघि बढ्नुपर्छ र यहाँ शान्ति, एकता अनि समृद्धि हासिल गर्दै एशियाले अब विश्वको नेतृत्व गर्नुपर्छ । यसका लागि भारत र पाकिस्तानवीचको शत्रुता अन्त्य हुन जरुरी छ । चीनको यो चाहना भारतले विस्तारै बुझ्दैछ । त्यसैले अहिले भारत र पाकिस्तानवीच सम्बन्ध सुधार हुनुपर्ने बहस सुरु भएको छ ।

दृष्टान्तका लागि अघिल्लो सातामात्रै भारत र पाकिस्तानका दुई गुप्तचर अधिकारीहरुको संयुक्त किताब बजारमा आयो, जसले दुबै देशमा तरंग सिर्जना गरिदियो । अब भारत र पाकिस्तानवीच सम्बन्ध सुधार हुनुपर्ने आवाज जबरजस्तरुपमा उठ्न थालेको दुबै देशका मिडियाहरु पढ्दा संकेत पाइन्छ । चीनको ईच्छा पनि यही हो कि पाकिस्तान र भारतवीचको दुरी घटोस् र सम्बन्ध सुधार होस् ।

चीनको प्रयास दक्षिण एशियाका दुई आणविक शक्तियुक्त देशलाई नजिक्याउने दिशामा केन्द्रित भएको र सार्कको फोरममा नेपालको भूमिका अहम रहेको अवस्थामा नेपाललाई मध्यस्थकर्ता एवं क्षेत्रीय नेता बन्ने अवसर ढोकैमा आएको थियो, जुन अवसर केपी ओलीले गुमाए

तथापि भारत र पाकिस्तानवीच सम्बन्ध सुधार गर्न यी दुई देशको प्रयासले मात्रै सम्भव छैन, तेस्रो पक्षले यी दुई देशवीच सहजीकरण गरिदिनुपर्ने हुन्छ । यसका लागि सार्क एउटा महत्वपूर्ण फोरम हो, जसको अध्यक्षता अहिले नेपालले गरिरहेको छ ।

यस्तो बेलामा भारत-पाक तनावका कारण स्थगित भएको सार्कको बैठक बसाउन नेपालले भगिरथ प्रयास गर्नुपर्ने थियो । तर, केपी ओली यसमा पूर्णरुपमा चुके । भारत भ्रमणमा ओलीले यो विषयमा मोदीलाई मनाउन सकेनन्, या मनाउनै चाहेनन् । मोदी नेपाल आएका बेलामा पनि सार्कको विषय उठेन ।

चीनको प्रयास दक्षिण एशियाका दुई आणविक शक्तियुक्त देशलाई नजिक्याउने दिशामा केन्दि्रत भएको र सार्कको फोरममा नेपालको भूमिका अहम रहेको अवस्थामा नेपाललाई मध्यस्थकर्ता एवं क्षेत्रीय नेता बन्ने अवसर ढोकैमा आएको थियो, जुन अवसर केपी ओलीले गुमाए । यो मौकाको प्रयोग गर्न नेपाल चुक्यो ।

किन आवश्यक छ भारत-पाक मित्रता ?

दक्षिण एशियाको शान्ति र समृद्धिका लागि चीन र भारतको मित्रता जति अपरिहार्य छ, पाकिस्तान र भारतको मित्रता पनि त्यति नै महत्वपूर्ण छ । दक्षिण एशियाका यी बलिया देशहरु आपसमा नमिल्दा पश्चिमाहरुले चलखेल गर्दै आएका छन् । तर, अहिले पाकिस्तानले अमेरिकी ध्रुव छाडेर चीनसँग सम्बन्ध सुधार गरेको छ, यसलाई भारतले पनि सकारात्मकरुपमा लिनुपर्ने चिनियाँहरुको आग्रह छ ।

दुई देशवीच सम्बन्ध बिगि्रँदा त्यसको अवसर छोपेर हतियारका व्यापारी एवं आतंककारीहरुले फस्टाउने मौका पाएका छन् । यसबाट जोगिनका लागि पनि यी दुई देशको मित्रता जरुरी छ । काश्मिर लगायतका आपसी मुद्दाहरु विस्तारै टुंगिएलान्, तर सार्कलगायतका फोरममा भारत र पाकिस्तान एकै ठाउँ बस्ने वातावरण बनाउन जरुरी देखिन्छ, जसको पहल नेपालले गर्नुपर्थ्यो ।

दुबै देशमा चुनावी परीक्षा

आगामी साउनमा पाकिस्तानमा आम चुनाव हुँदैछ । यो चुनावमा नेपालमा जस्तै भारतविरोधी राष्ट्रवाद कति जाग्छ, हेर्न बाँकी छ । तर, अहिलेसम्मको स्थिति हेर्दा भारतको विरोध जसले बढी गर्छ उसले भोट पाउँछ भन्नेखालको एजेण्डा बनाउने संकेत देखिएको छैन इस्लामावादमा । बरु यहीबेला भारतसँगको शत्रुतामाथि प्रश्न उठ्न थालेका छन् र सम्बन्ध सुधारका लागि झिनो आवाज उठ्न थालेको छ ।

साउनको चुनावबाट पाकिस्तानले दुरदर्शी नेतृत्व पायो भने यसले दक्षिण एशियाको शान्ति एवं भारतसँगको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्ने अनुमान लगाउन सकिन्छ ।

आफूलाई संसारकै सबैभन्दा बरिष्ठ नेता ठान्ने प्रधानमन्त्री ओलीले जाबो एउटा सानो सार्क नामको क्षेत्रीय फोरमलाई जगाउन किन नसकेका होलान् ? कि ओली सरकारको परराष्ट्र नीति नै भारत नरिसाओस् भन्ने मात्र हो ?

त्यसैगरी भारतमा पनि आउँदो वर्ष लोकसभाको चुनाव हुँदैछ । त्यो चुनावमा पाकिस्तानविरोधी राष्ट्रवाद कत्तिको जाग्छ, त्यो पनि हेर्न लायक विषय हो ।
मोदी सरकारले आफ्नो ४ वर्षे कार्यकालको सफलतामा ‘सर्जिकल एट्याक’लाई पनि समावेश गरेको छ । हुन त भारतमा पाकिस्तानप्रति नरम कुरा गरेर कुनै पनि दललाई चुनाव जित्न गाह्रो पर्न सक्छ । तर, चुनावी खपतको काम सकिएपछि नयाँ भारतीय नेतृत्वले फराकिलो छाति बनाउँछ या परम्परागत रुढ नीति नै अंगाल्छ, त्यसमा दक्षिण एशियाको राजनीति निर्भर रहनेछ ।

प्रश्नः ओली सरकारको परराष्ट्र नीति के हो ?

दक्षिण एशियाली राष्ट्रहरुले आपसी वैमनस्यता त्याग्नुपर्ने समयको माग हो । यसका लागि नेपालले अन्तरराष्ट्रिय नेताको भूमिका खेल्न सक्ने मौका आएकै हो । तर प्रधानमन्त्री ओलीले कुनै भूमिका नखेलिकन भारतलाई मात्रै खुशी पार्ने अभियानमा लाग्दा नेपालको अन्तरराष्ट्रिय कद उच्च हुन पाएन ।

जतिबेला विश्वमा शीतयुद्ध चलिरहेको थियो, त्यतिखेर तत्कालीन राजा महेन्द्रले असंलग्न आन्दोलनको नेतृत्व गरे । साना देशहरुको हितमा नेपालले ठूलो भूमिका खेल्यो र नेपालको छवि उच्च रह्यो । अहिलेको परिस्थिति त्यो भन्दा सहज भए पनि नेपालले अन्तरराष्ट्रिय फोरममा आफ्नो पहिचान देखाउन सकिरहेको छैन । कहिले भारतको विरोध गर्ने त कहिले चीनतिर ढल्केको गफ गर्ने काममै नेताहरु अल्मलिइरहेको अवस्था छ ।

फेरि पनि प्रश्न यहीँनेर गएर ठोकिन्छः ओली सरकारको परराष्ट्र नीति के हो ? भारतलाई मात्रै रिझाउने हो या सार्कको फोरमलाई जगाएर दक्षिण एशियाली देशहरुको एकतामा जोड दिने हो ?

प्रधानमन्त्री ओली भारत भ्रमणपछि अब चीन भ्रमणमा जाँदैछन् । यस्ता भ्रमणहरुमा गएर मात्रै नेपालको अन्तरराष्ट्रिय व्यक्तित्व चुलिने होइन, अन्तरराष्ट्रिय फोरमहरुमा नेताले कत्तिको प्रभावकारी भूमिका खेल्न सक्छन् भन्ने कुरामा राष्ट्रिय स्वाभिमान निर्भर हुन्छ ।

सार्कको फोरमलाई जगाउन भारतले मानेन भने नेपालले चीनलाई समेत भन्न सक्छ कि भारतलाई यसमा मनाउने प्रयास गरिदेऊ । किनभने, भारत र पाकिस्तानको पहिलो सम्बन्ध सेतु भनेकै यही सार्क हो । यो कुरा ओलीले बेइजिङमा राख्न सक्लान् ? सकेनन् भने ओलीको कद ‘राष्ट्रिय नेता’ मै सीमित रहने छ, उनी अन्तरराष्ट्रिय वा क्षेत्रीय नेता बन्न सक्ने छैनन् । सि जिनपिङ वा मोदीभन्दा पहिले जन्मिँदैमा वा धेरै वर्ष जेल बस्दैमा ठूलो नेता भइन्न ।

आफूलाई संसारकै सबैभन्दा बरिष्ठ नेता ठान्ने प्रधानमन्त्री ओलीले जाबो एउटा सानो सार्क नामको क्षेत्रीय फोरमलाई जगाउन किन नसकेका होलान् ? कि ओली सरकारको परराष्ट्र नीति नै भारत नरिसाओस् भन्ने मात्र हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment