Comments Add Comment

छापामा आजः संसदलाई दाताको दानैदान, प्रतिबन्धित गाडी गुडाउन मन्त्रीकै चलखेल

२५ जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा एकै विषयहरु नपरेर फरक–फरक मुद्दाहरु परेका छन् । केहीले समसामयिक राजनीतिक विषयलाई उठाएका छन् भने कुनैमा सार्वजनिक सरोकारका विषय समेटिएका छन् ।

कान्तिपुर दैनिकले आज ‘संसदमा दाताको दानैदान’ शीर्षक दिएर मुलुकका जनप्रतिनिधिबीच छलफल हुने थलोमा दाताले गरेको सहयोगबारे खोजविन गरेको छ । समाचार अनुसार सांसद् बोक्ने बसदेखि पर्दासम्मका सामान दाताको सहयोगमा खरिद गरिएको छ ।

कान्तिपुरकै पहिलाे पृष्ठमा जनप्रतिनिधिलाई विदेश लर्को लाग्न रोक लगाइएको समाचारले ठाउँ पाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कर्मचारीको विदेश भ्रमणमा रोक लगाएको हो ।

यार्चा किन्न हेलिकप्टर प्रयोग गरिएको खबर पनि कान्तिपुरमा पढ्न सकिन्छ ।

नागरिकले मेलम्चीमा कानून लत्याउँदै भुक्तानी गरिएको, भ्रष्टाचार आरोपित नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएकोलगायत समाचार छापेकाे छ भने अन्नपूर्णले ३ सय उपसचिव फुर्सदिला भएको लेखेकाे छ ।

नयाँ पत्रिकाले विकास निर्माणका नाममा हुने सम्भाव्यता अध्ययनको विकृत पाटो आज केलाएको छ । नेपाल विदेशी औषधिको प्रयोगशाला बन्दै गएको विषय बिहीबार उठाएको नयाँ पत्रिकाले आज पनि यो विषयमा केन्द्रित भएर थप सामग्री पस्केको छ ।

सर्वत्र सम्भाव्यता अध्ययन तर कार्यान्वयन नगण्य

नयाँ पत्रिका दैनिकले सम्भाव्यता अध्ययनको विकृत पाटो केलाएको छ । थरिथरिका पूर्वाधार निर्माणका थरीथरी अध्ययन भए पनि कार्यान्वयन भने नगण्य मात्रै हुने गरेका छन् ।

सामान्यतया कुनै पनि आयडिया सम्भाव्य छ वा छैन भनेर निर्धारण गर्न गरिने अध्ययन नै सम्भाव्यता अध्ययन हो । यस्तो अध्ययनले आयोजना कानूनी र प्राविधिक रुपमा सम्भाव्य र वित्तीय रुपमा उपयुक्त छ वा छैन भनेर आश्वस्त गराउँछ । तर यस्ता अध्ययनहरु अध्ययनमै सीमित छन् ।

प्रतिबन्धित गाडी गुडाउन मन्त्रीकै चलखेल

फाइल फोटो

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० वर्ष नाघेका प्रतिबन्धित दसार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्न लागेका छन् । २० वर्ष नाघेका प्रतिबन्धित सवारी साधनलाई फेरि सञ्चालनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी मन्त्री महासेठले गरेको नागरिक दैनिकमा खबर छ ।

विभागले गत चैत १ गतेदेखि २० गतेसम्म पुराना सार्वजनिक सवारीलाई देशभर गुडाउन प्रतिबन्ध लगाएको थियो । ०७२ चैत १ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले २० वर्षभन्दा पुराना सम्पूर्ण सार्वजनिक सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको थियो ।

नागरिकका अनुसार यातायात व्यवसायीको दबावमा मन्त्री महासेठले यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णय उल्टाउन लागेका छन् ।

काठमाडौं उपत्यकाबाट ०७३ फागुन १८ देखि २० वर्ष नाघेका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो । देशभर भने यो निर्णय गत चैत १ देखि कार्यान्वयनमा ल्याइएको थियो ।

गुठीको जग्गामा महानगरपालिकाको वक्रदृष्टि

निजी गुठीको रुपमा दर्ता भएको जग्गा कुनै निकयाले प्रयोग गर्न नहुनेमा गुठी सञ्चालकहरुले जोड दिएका छन् ।

स्वयम्भू भुइँखेलस्थित सम्यक निजी गुठीको जग्गा काठमाडौं महानगरपालिकाले पार्कका रुपमा व्यवस्थित गर्न थालेपछि गुठियारहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेवारी राजाको पालामा प्रत्येक १२ वर्षमा बुद्ध भगवानको पूजा गर्न परम्परादेखि चल्दै आएको सम्यक निजी गुठीको सो जग्गा करिब १५ रोपनी क्षेत्रफलमा रहेको छ । सो जग्गा गुठी संस्थानले आफ्नो नाममा ल्याउन खोज्दा मुद्दा परेको समाचारपत्रमा खबर छ ।

मेलम्चीमा कानून लत्याउँदै भुक्तानी

नागरिक दैनिकले मेलम्ची खानेपानी आयोजनाले ठेकेदारको दाबीकै आधारमा मोटो रकम भुक्तानी गर्ने तयारी गरेको खबर छापेको छ ।

ठेकेदारले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ । आयोजनाले कुनै कानूनी उपचार नखोजी चेकमार्फत भुक्तानी गर्न लागेको दाबी स्रोतको हावाला दिँदै नागरिकले गरेको छ ।

ठेकेदार कम्पनी इटालियन कमोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी)ले भूकम्प, नाकाबन्दीलगायत कारणले काम गर्न नपाऐका भन्दै क्षतिपूर्ति दाबी गरेको थियो । आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिको निर्णयअनुसार सरकारले ठेकेदारलाई क्षतिपूर्तिबापतको रकम भुक्तानी गर्न लागेको स्रोतले बतायो ।

सरकारसँग रिसायो लोकसेवा आयोग

लोकसेवा आयोगले निजामती कर्मचारीहरुको अवकाश उमेर ५८ वर्ष कायमै राख्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय प्रति असन्तुष्टि जनाएको छ।

नागरिक दैनिकका अनुसार, संघीय मामिला मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐन ०७५ को मस्यौदामा कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायमै राखिएको छ। हाल मन्त्रालयले सो ऐनको मस्यौदामा सहमतिका लागि कानुन मन्त्रालयमा पठाएको छ। कानुन मन्त्रलायले सहमति दिएमा सहमतिका लागि लोकसेवा आयोगमा पनि पठाउने तयारी भएको संघीय मामिला मन्त्रालयले जनाएको छ।

लोकसेवा आयोगले भने यसअघिकै कर्मचारीको अवकाश उमेर ६० वर्ष राख्न सरकारलाई सुझाव दिँदै आएको छ। दुई वर्षअघि पनि आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा कर्मचारी अवकाश उमेर ६० राख्न सुझाव दिएको थियो।

र, याे पनि– सय रुपैयाँ नतिर्दा हत्या !

अहिलेको समयमा एक सय रुपैयाँले ठूलो गर्जो टर्दैन । तर सय रुपैयाँकै लेनदेन विवादमा कलैया उपमहानगरपालिका १२ विश्वम्भरपुरका एक वृद्धले ज्यान गुमाउनुपरेको छ ।

कान्तिपुर दैनिकका अनुसार, स्थानीय मैनेजरप्रसाद साहले अर्का स्थानीय मख्खन साहरको पम्पिङ सेटबाट आफ्नो खेतमा सिँचाइ गरेका थिए । त्यसवापत उनले मख्खनलाई सय रुपैयाँ तिर्न बाँकी थियो ।

मख्खनले बुधबार साँझ मैनेजरसँग पैसा मागेपछि विवाद भएको थियो । मख्खनका २० वर्षीय छोरा दीपकले मैनेजरमाथि चिर्पट प्रहार गरेका थिए । चिर्पटको प्रहारबाट गम्भीर चोट लागेका मैनेजरको काठमाडौंको न्यूरो अस्पतालमा उपचारकै क्रममा बिहीबार निधन भएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment