शनिबार, ९ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

लेखी कहिल्यै नसकिने राष्ट्रकविको काव्यगाथा

Suzuki
दीपेन्द्र अधिकारी

(राष्ट्रकवि माधव घिमिरे आगामी आसोज ७ गते एक सय वर्षमा प्रवेश गर्दैछन् । नेपाली साहित्यमा करिब ९० वर्षदेखि क्रियाशिल छन् उनी । यो संसारकै दुर्लभ घटना हो । यही परिप्रेक्षमा अनलाइनखबरले साहित्यका पितामह माधव घिमिरेका विषयमा यो लेख प्रस्तुत गरेको छ । लेखक दिपेन्द्र अघिकारीले माधव घिमिरेमाथि लामो शोध गरेका थिए भने केही अघि उनकै जीवनीलाई समेटेर ‘खण्डकाव्य’ समेत प्रकाशन गरेका थिए ।

यो श्रृंखला असोजसम्म जारी राख्ने योजना छ । तपाईंसँग पनि राष्ट्रकविका साहित्यका विविध पाटा छन् भने पठाउन सक्नुहुनेछ । उत्कृष्ट र विषय नजुधेका सामग्री क्रमशः प्रकाशन गर्दै जानेछौं ।)

कसैको बारेमा केही लेखूँ भनेर कलम समात्यो भने लेखनी बग्दै बग्दैन । कसैको बारेमा भने कलम समात्यो कि रोक्न गाह्रो हुँदोरहेछ । मलाई राष्ट्रकविको बारेमा लेख्न थाल्यो कि कहाँसम्म बगिरहने हो डर लाग्छ ! सयपत्री फूलको थुँगालाई हातमा लिएर पत्रपत्र हेर्न थाल्यो भने सबै उस्तै र उही लाग्छ । परैबाट हेर्यो भने मन आहाल्लादित हुन्छ । सुन्दर देखिन्छ । बस् ! त्यतिमै सकिन्छ ! आनन्दको रसपान ! तर जब केस्राकेस्रा पल्ट्याउँदा कतै केस्रा चुँडिन्छ कि कतै च्यातिन्छ कि भन्ने डर भैरहन्छ । हो राष्ट्रकविका बारेमा लेख्ता पनि त्यस्तै त्यस्तै हुन्छ मलाई ।

आउँदो असोज ७ गते शताब्दी वर्ष चुम्न लागेका राष्ट्रकवि माधव घिमिरेको सम्वत् १९८० को दशकबाट बामे सरेर ९० को दशकमा सार्वजनिक भएको काव्यलोकले आज ९ दशक पार गरिसकेको छ । ‘बैराग्य शतक’ कविता लेखेर नेपाली साहित्यमा प्रवेश गरेका घिमिरे आज उमेरका हिसाबले पनि शतकको द्वारमा छन् । सार्वजनिक रूपले वि. सं. १९९२ सालमा ‘ज्ञानपुष्प’ नामक कविता गोरखापत्रमा प्रकाशित भएपछि सार्वजनिक भएको कविवर माधव घिमिरेको काव्ययात्रा निरन्तर गतिशील रहँदै सम्वत् २०७५ सम्म ‘ऋतम्भरा’ महाकाव्यको दीर्घ साधनामा साधनारत रहँदा करिब ८५ वर्षको लामो यात्रामा चलिरहेको देखिन्छ ।

जीवनमा आलस्य उन्माद र उच्छृङ्खलतालाई प्रवेश दिनुहुन्न भन्ने जीवनवादी सकारात्मक र आशावादी सोच नै उनका रचनाको केन्द्रीय भाव हो ।

यो विशाल विराट् र विस्मयकारी कवितायात्राको अध्ययन–अनुसन्धान गर्नु चमत्कारी काम हो । आजको नेपाली साहित्यका सर्वश्रेष्ठ, सर्वज्येष्ठ र सर्वप्रिय कविवरको साहित्ययात्राको भौतिक जीवित साक्षी आज कोही पनि छैन, तर पनि समग्र नेपाली साहित्यप्रेमी र पारखी एकसे एक उत्तराधिकारी बनेर जुर्मुराएका छन्, माधवी मधुवनका मधुवन्त बनेर ।

उनको कवित्व र व्यक्तित्वको अध्ययन गर्दा प्रत्येक वास्तविक साहित्य पारखी आल्हादित हुन्छ त्यो मधुवनमा । कुतकुत रोमाञ्चित हुन्छ । त्यसैले निर्मम बनेर प्राविधिक अध्ययन गर्नु सम्भव छैन, उनको काव्य लोकको । त्यो भावकीय र मानवीय अध्ययन नै हुन्छ । बगैँचाको सुन्दरतामा रमाउने मान्छे माली हुन सक्छ तर अराजक ध्वंसकारी उद्यान फडानीकर्ता कदापि हुन सक्दैन ।

त्यसैले कविवर माधव घिमिरे एक कविमात्र नभएर विराट् कविताको मुहान रसाउनसक्ने र प्रेरणा, आशा, जीवन र रसको सञ्चार गराउनसक्ने साहित्य मनीषी पनि हुन् । जस्तो उनका कविता–गीतमा सत्यम् शिवम् सुन्दरमको त्रिकोण र त्रिकालदर्शी समन्वय छ त्यस्तै उनको जीवन, जगत् र उनले सिर्जेको काव्य जगतको पनि त्रिपक्षीय सुन्दर समन्वय छ । उनको यस्तो अनौठो विशेषता उनका कुनै एउटा फुट्कर रचनामात्रमा चुर्लुम्म डुबेर पढ्ने वा उनीसँग प्रत्यक्ष साक्षात्कार गर्ने जो कोही व्यक्ति सहजै थाहा पाउँछन् । चाहे त्यो बालक होस् वा युवक होस् वा वृद्ध नै किन नहोस् । करिब पन्ध्र वर्षदेखि मैले यही प्रत्यक्ष अनुभव गरेको छु । आफ्नो मनको आँखामा कालोपट्टी बाँधेर वादका किरमिरे चस्मा लगाएर हिँड्ने एकाधबाहेक कविवर माधव घिमिरेको कवित्व र व्यक्तित्वबाट प्रभावित नभएको व्यक्ति सायदै होलान् नेपाली साहित्यमा ।

यसरी हेर्दा उनको बारेमा केही लेख्न बस्दा कताबाट सुरु गरेर कताबाट अन्त्य गर्ने होला भन्ने द्विविधा पैदा हुन्छ तर जहाँबाट जसरी प्रवेश गरे पनि उनको माधवी मधुवनको सुगन्धले लठ्याइदिन्छ । यो उनले सिर्जेको दुर्लभ र विष्मयकारी काव्यरूपी सुगन्धी छटा हो । उनका विषयमा पाँच–छ जनाले विद्यावारिधि पूरा गरेर डा. उपाधिले विभूषित भइसकेका छन् । लगभग १०० जनाले शोधपत्र तयार गरेर स्नातकोत्तर उपाधि प्राप्त गरिसकेका छन् र थुप्रै यो बाटोमा छन् र रहिरहने पनि छन् । यसर्थ उनको कुनै एक पक्षलाई यसो गहिरिएर नियाल्न खोज्यो भने निकै ठूलो र गहिरो अध्ययन÷अनुसन्धान सुरु भैहाल्छ । त्यसैले म उनका रचना पढेर भरसक रस सौन्दर्य मात्र पिउने गर्छु ।

थुप्रै विद्वान् समीक्षकहरूले उनको कवित्व र व्यक्तित्वका विभिन्न पाटालाई विभिन्न चरण र प्रवृत्तिमा ढालेर आफ्नो अध्ययन अगाडि बढाएका छन् ।

वि.सं. १९९२ देखि सार्वजनिक भएको उनको लेखनयात्रा १९९४ को ‘नवमञ्जरी’ कविता संग्रह, १९९५ को ‘स्वदेशी गीत लोकलयात्मक गीत’ र २००४ सालको ‘राष्ट्रिय झण्डा’ले उनमा विकसित हुँदै गरेको स्वच्छन्दतावादी, राष्ट्रवादी र लोकसंस्कृति प्रेमी भावपुञ्जको काव्यप्रकाशन गरेको पाइन्छ । २००७ देखि २०१५ सम्मको अवधिमा रचित ‘कलमवीर’, ‘विश्ववन्धु’, ‘स्वदेशको सँगालो’, ‘कालीगण्डकी’, ‘बैशाख’, ‘नवयुवक’, ‘हाइड्रोजन बम’, ‘यात्री गाउँछ गीत नेपाली’, ‘लाग्दछ मलाई रमाइलो’ र ‘घामपानी’ फुटकर कविता र गीति कविताहरूले उनको कवित्वको पूर्ण र स्वच्छ रूपमा पूर्ण परिपाकका साथ सम्प्रसार गरेको पाइन्छ । एक किसिमले भन्ने हो भने फुटकर कविता गीति कवितामा घिमिरेले यस चरणमा नै उच्च शिखर चुमिसकेका देखिन्छन् ।

खण्डकाव्यगत रूपले ‘पापिनी आमा’ (२०१३) ‘गौरी’ (२०१५) र ‘राजेश्वरी’ (२०१७) मा कविवर माधव घिमिरेको खण्डकाव्यकारिताको उच्च उपलब्धी यस चरणमा निकै सबल रूपले सल्बलाएको पाइन्छ ।

आँसुलाई आशामा बदल्ने शक्ति गौरी खण्डकाव्यले दियो भने आमाका नाममा सन्तान जन्माउने र त्यसको निर्मम प्राण हरण गर्नसमेत पछि नपर्ने कुमाता प्रवृत्तिको सशक्त र चोटिलो व्यंग्य गर्ने पापिनी आमा र सामाजिक कुरीति र कुप्रथाको जगमा रूमलिएको अमानवीय क्रूर पर्खाललाई भत्काउने र नवनिर्माणको कामना समेत गर्ने राजेश्वरी खण्डकाव्य उनका विशिष्ट र मौलिक खण्डकाव्यमा दरिन पुगे । त्यसैगरी फुट्कर गीत र कविताहरू रचिदै अगाडि बढेको यस चरणमा २०२३ सालमा ‘राष्ट्रनिर्माता’ खण्डकाव्य र ‘धर्तीमाता खण्डकाव्य’ २०३० सशक्त रूपले देखा पर्छ र राष्ट्र र धर्तीलाई चिनाउने र जोगाउने प्रेरणा दिलाउने यी खण्डकाव्यहरूले आफ्नो छुट्टै मौलिक काव्यलोकको निर्माण गर्न सफल भए । बाल कवितासंग्रह ‘बालालहरी’ २०२६ गीति संग्रह, ‘किन्नरकिन्नरी’ २०३३ उनमा रहेको बालसुलभ साहित्य र गीति कविताको भावचेतनालाई अत्यन्तै सुललित र सुगन्धित रूपमा पाठक र भावकको मन जित्ने काम गर्यो । यस चरणको अर्को प्राप्ति भनेको प्रकृतिलाई मानवीकरण गरी तादात्म्य सम्बन्धसमेत स्थापित गरिएको फुट्कर कविता ‘दुलही कान्चञ्जंघा’ २०३३ हो । प्रकृतिको स्रोतलाई मानवीकरण गरी रहस्य र सौन्दर्यमा महकिएको उनका विशिष्ट कविताहरू कालीगण्डकी र दुलही कान्चञ्जंघा नेपाली साहित्यमा मात्र नभएर विश्वसाहित्यमै पनि उच्च कोटीका मान्न सकिन्छ ।

त्यसैगरी २०३८ देखि २०५० सम्मको चरणमा घिमिरेको कवि गीतकार व्यक्तित्व गीति नाटककारका रूपमा व्यक्तिन थाल्यो । गीति नाटकहरू ‘शकुन्तला’ २०३८ ‘मालती मङ्गले’ २०३८ र ‘विषकन्या’ २०५० लेखिए । पौराणिक विषयवस्तुमा आधारित शकुन्तला र सामाजिक विभेदका अन्त्यका कामना गरिएको मालतीमङ्गले नाटकको मञ्चन र प्रदर्शनको अपार सफलताले कविवर माधव घिमिरेको कवि व्यक्तित्वलाई छन्दोबद्ध गीतिनाटककारको रूपमा सर्वोच्च स्थानमा पुर्याइदियो । पद, प्रतिष्ठा, पुरस्कार प्रभाव र योगदानका दृष्टिले पनि यो चरण उनका निम्ति अत्यन्तै महत्वपूर्ण र उपलब्धीमूलक रह्यो । नेपाल एकेडेमीको स्थापना कालदेखिका सदस्य घिमिरेले उपकुलपति हुँदै कुलपति समेत बनेर कुशल नेतृत्वदायी भूमिका निर्वाह गरे र यो कार्यकाल नेपाली भाषा साहित्य कला र विमर्शका हिसाबले पनि निकै महत्वपूर्ण रह्यो ।

२०५३ देखि २०७० सम्मको चरण पनि कविवर माधव घिमिरेका लागि सार्थक र सम्मानजनक रह्यो । त्यसैगरी ‘सुनपंखी चरी’ बालगीत संग्रह २०५३, ‘अश्वत्थामा’ गीतिनाटक २०५४, ‘इन्द्रकुमारी खण्डकाव्य’ (परिमार्जित २०५७) ‘चैत बैशाख’ कविता संग्रह २०६० प्रकाशित भए ।

जीवनको उत्तरार्ध चरणमा हाल उनको लेखनीको पाको प्रतिबिम्ब महाकाव्यको रचनातर्फ तल्लीन छ । २००२ सालतिरै ‘गोविन्द’ महाकाव्यको रचनामा जुटेका र आंशिक रचित र प्रकाशितसमेत भएको उनको महाकाव्यकारिता सात दशकपछि फेरि जुर्मुराएको छ, ‘ऋतम्भरा’ महाकाव्यको रचनाले अन्तिम चरणमा प्रवेश गरेको छ । अन्तिम सर्ग सकेर केही कसर÷मसर मिलाउन बाँकी छ । तर उनी पटक्कै आत्तिदैनन्, कुनै पनि कामका निम्ति । आँखीझ्यालका बुट्टा कुद्दै हिमालको पहिलो किरण त्यसमै भित्राउन तल्लीन हुन्छन् ।

तर यसपटक बिमारले निकै थलिएपछि भने हाल उपचारत भारतको मेदान्त अस्पतालबाटै महाकाव्य छिट्टै सक्ने हुटहुटी व्यक्त गरिरहेका छन् । पक्कै पनि ९९ वर्षको कवि जोशले नेपाली पाठकलाई त्यो उपहार दिने नै छ । यसरी शताब्दीको उमेरमा लेखिएको यो महाकाव्य संसारकै लागि विरलै महत्वको कीर्ति हुनेछ । कवि स्वयं आफ्ना दुई कृतिहरू ‘अश्वत्थामा’ र रचनारत ‘ऋतम्भरा’ले विश्वमा बढिरहेको अणुको सन्त्रास, मानवमूल्यको ह्रास र कृत्रिमताको जालोलाई तोड्न चाहेका छन् । पौरष्त्य मिथकको प्रयोग गरी रचिएको गीतिनाटक ‘अश्वत्थामा’को मुख्य कथ्य युद्ध सन्त्रासको विरोध र शान्तिको आह्वान हो । रचनारत महाकाव्य ऋतम्भरा भने गायत्री मन्त्रद्वारा आह्वान गरिएको उज्यालोतिर डोर्याउ भनेर सूर्यरूपी चेतना र त्यसको अभिसञ्चरणबाट मानवहृदयमा पर्ने सकारात्मक सौन्दर्यचेतको अत्यन्तै सूक्ष्म अभिव्यक्तिको साङ्गीतिक अभिव्यक्ति हो । नेपाली साहित्यानुरागी यसको रसपान गर्न आतुर छन् ।
सम्वत् २०६० मा उनलाई राष्ट्रले राष्ट्रकविको उपाधिले विभूषित गर्यो, विभिन्न ठाउँमा रथयात्रासमेत भयो । नेपाली साहित्यको इतिहासमा पहिलो र विश्वसाहित्यको इतिहासमासमेत बिरलै पाइने यस्ता सम्मान र विभूषण पाउने कविवर माधव घिमिरे नेपाली मन, मुटु र माटोका साँच्चिकै राष्ट्रकवि बने । नेपाली भूगोल, सभ्यता, कला, संस्कृति र चिन्तनको लगभग एक शतकको साधनाको उनलाई हार्दिक सम्मान प्राप्त भयो । यसरी उनको सुदीर्घ काव्ययात्राको अत्यन्तै संक्षिप्त र सरल गोरेटो कोर्ने चेष्टा गरिएको छ ।

अब उनका कवित्वका विशेषताको संक्षिप्त चर्चा:
क) जीवनवादी
ख) रसवादी
ग) रहस्यवादी
घ) सौन्दर्यवादी
ङ) प्रकृतिप्रेमी–राष्ट्रवादी
च) नारी चेतनस्वरका धनी

जीवनवादी

राष्ट्रकवि माधव घिमिरेका प्रत्येक फुट्करदेखि स्थूल रचनालाई निचोर्दै जाँदा स्वतः निस्कने रस भनेको जीवनवादी रस नै हो । उनका रचनामा जीवनका आशा, उमङ्ग र उत्साह नै प्रमुख रूपमा अभिव्यक्त भएका हुन्छन् । जीवनमा आलस्य उन्माद र उच्छृङ्खलतालाई प्रवेश दिनुहुन्न भन्ने जीवनवादी सकारात्मक र आशावादी सोच नै उनका रचनाको केन्द्रीय भाव हो । जीवन जिएर मानवताका निम्ति काम गर्नुपर्छ भन्दै उदार मानवतावादका पक्षमा उनको कलम अडिग र अविचलित रूपमा बगेको देखिन्छ । बाल्यकालमा अढाइ वर्षमै आमा गुमाउन पुगेका घिमिरेले विवाहपछि पत्नीको साथमा ती दुःख बिर्सिएका थिए तर त्यो सुन्दर समन्वय पनि धेरै टिक्न सकेन । पत्नीको निधनमा विक्षिप्त बनेर आँसुले लेखेको गौरी खण्डकाव्यमा पनि निराशा, विछोड र मृत्युलाई जितेर जीवनकै पक्षमा जीवनलाई डोर्याएका छन् । यही जीवन हो अनन्त कवितामा उनी यस्तै लेख्छन्:

‘पला पला छन् यदि प्राणवन्त
भने यही जीवन हो अनन्त ।’

रसवादी

राष्ट्रकवि माधव घिमिरेले प्राच्यवाङ्मयमा वर्णित नवरसलाई प्रायशः सबैजसो काव्यमा उतार्ने प्रयत्न गरेका छन् । ती नवरस मध्ये करुण, शान्त र वीर रसमा विशेष सिद्धिसमेत प्राप्त गरेका छन् । त्यसका अतिरिक्त उनका कुनै पनि रचनामा निराशा नीरसता छैनन् । सबैमा आआफ्नै अनुकूलताका काव्यरस छन्, जीवनरस छन् । कुनैमा जीवनका दया, माया, करुणा, भ्रातृत्व र विश्वबन्धुत्वका सार्वभौम मानवीय रस छन् भने कुनैमा अनुभव अनुभूतिजन्य आविर्भूत रस छन् ।

त्यसैगरी हाम्रो हिमकला, हिमगिरि सभ्यता र आर्ष सभ्यताका बीचबाट जन्मिएका उपनिषदका जीवनवादी रस छन् । उनी कालीगण्डकी कवितामा यही कुरालाई यसरी लेख्छन्:

‘आफ्नै छाती मनि स्वरसको मूल भेट्तैन जल्ले
तिर्खा कैल्यै पनि हृदयको हेर मेट्तैन तेल्ले’

रहस्यवादी

राष्ट्रकवि माधव घिमिरे यो विश्व ब्रह्माण्डलाई रहस्यै रहस्यको रहस्यरश्मी मान्दछन् । यो जीवन पनि त्यस्तै रहस्यको सौन्दर्य हो भने काव्यलोक त झन् रहस्यको सुन्दर र निश्छल अभिव्यक्ति हो भन्ने उनको निर्क्यौल छ । उनका प्रत्येक रचनाले जीवन र जगतको रहस्यलाई अत्यन्तै सुललित र प्राञ्जल रूपमा अभिव्यक्त गर्छन् । रहस्य खोलेर रहस्य बाँकी कवितामा रहस्यलाई रहस्यात्मक रूपले यसरी लेख्छन्:

‘अहो शरद् सुन्दर दिव्य झाँकी
रहस्य खोलेर रहस्य बाँकी ।’

सौन्दर्यवादी

राष्ट्रकवि माधव घिमिरेको महत्वपूर्ण काव्यात्मक अभिव्यक्ति भनेको सुन्दरताको आत्मप्रकाशन हो । उनी बाह्य र आन्तरिक दुवै रूपमा सुन्दरताको उपासनामा तल्लीन रहन्छन् । सुन्दरताको काव्यात्मक अभिव्यक्ति दिनमा उनलाई विशेष अभिरुचि पनि छ । उनका प्रत्येक रचनामा साजसज्जा र सौन्दर्यको परिपाक बिछट्टै सुन्दर रूपले अभिव्यक्त भएको पाइन्छ । यही सौन्दर्यको अभिव्यक्तिलाई घामपानी कवितामा यसरी अभिव्यक्त गर्छन्:

राष्ट्रकविको विश्वबोधलाई ख्याल गरेर ‘अश्वत्थामा’ गीति नाटक अनुवाद गरिएको छ र नेपालको तर्फबाट नोबेल पुरस्कारका निम्ति सिफारिस गरिएको छ

‘सारा आकृति बिम्ब भो र रस भो पग्लेर बिम्बै पनि
यो सौन्दर्य सुधा पिऊँ कि अथवा हेरूँ अचम्मै बनी’

प्रकृतिप्रेमी–राष्ट्रवादी

प्रकृति प्रेम र राष्ट्रप्रेम राष्ट्रकवि घिमिरेको विशिष्टतम काव्यात्मक अभिव्यक्तिको श्रेष्ठतम प्राप्ति हो । स्वराष्ट्रका प्राकृतिक सौन्दर्य छटा र हिमालयको अकिञ्चन दृश्य सौन्दर्य राशि उनका रचनाका शाश्वत र सारभूत मानसबिम्ब हुन् । यी र यस्ता भूगोल, कला, सभ्यता र संस्कृतिलाई अक्षुण राष्ट्रको सौन्दर्यमा मुछेर अझ त्यसलाई उजिल्याएर अभिव्यक्त गर्नु उनको विशेष सफलता पनि हो । पहिलो झुल्का कवितामा यही कुरालाई उनी यसरी लेख्छन्ः

‘प्रभात हिमशैलमा प्रथम घामकी स्पर्श हे
द्वितीय गिरि शृङ्गमा नसरि सुन्दरी पर्ख हे’

त्यसैगरी राष्ट्रियझण्डा कवितामा उनी लेख्छन्ः

‘नेपाली नाम हाम्रो त्रिभुवन भरका छौँ बडा वीर जाति
छाती निर्धक्क हाम्रो गति अति छरितो चड्दछौँ माथि माथि’

नारी चेतनस्वरका धनी

राष्ट्रकवि माधव घिमिरेका प्रायशः सबै खण्डकाव्यात्मक कृतिहरूमा नारीस्वर विशेष रूपले मुखरित भएको पाइन्छ । उनको रसिलो, हँसिलो र कसिलो जीवन सौन्दर्यमा नारी विहीनताको मार्मिक पीडाको घाउ मेट्न पनि शायद त्यस्तो संयोग पर्न गएको हुनसक्छ । सृष्टि र सौन्दर्यको सुन्दर रूप नै नारी हो भन्ने शाश्वत अभिव्यक्ति उनका रचनामा छचल्केका पाइन्छन् । करूणा दयादेखि लिएर उग्र कट्कटाउँदो रूपमा समेत नारीपात्रलाई उनले प्रमुख स्थान दिएर अभिव्यक्त गराएका छन् । गौरी, राजेश्वरी, पापिनी आमा, धर्तीमाता, इन्द्रकुमारी, गौँथली, मालतीमङ्गले, शकुन्तला, विषकन्या आदि कृतिको नामकरण नै नारीपात्रबाट हुनुले यस कुरालाई अझ पुष्टि गर्दछ ।

उनका यस्ता रचनाहरूलाई अनुवाद गरेर विश्व साहित्यमा पुर्याउन सके नेपाली साहित्यले निकै अग्लो गरिमा चुम्थ्यो । यही रचनाको गरिमा र विश्वबोधलाई नै ख्याल गरेर ‘अश्वत्थामा’ गीति नाटक अनुवाद गरेर नेपालको तर्फबाट नोबेल पुरस्कारका निम्ति सिफारिस गरिएको र केही चरणमासमेत प्रवेश गरेको देखिन्छ । फुट्कर कवितामा ‘कालीगण्डकी’ र गीतमा ‘गाउँछ गीत नेपाली’ विश्वस्तरकै उत्कृष्ट रचना हुन् भने नारी मनोविज्ञानलाई केन्द्रमा राखेर लेखिएको ‘इन्द्रकुमारी’ र ‘राजेश्वरी’ खण्डकाव्य विश्वनारी साहित्यका उत्कृष्ट रचना हुन् भन्दा कुनै दुई मत हुँदैन । त्यस्तै ‘चारूचर्चा’ र ‘आफ्नो बाँसुरी आफ्नै गीत’ पनि उनका समालोचकीय चेत, जीवन दर्शन, अनुभव र अनुभूतिका ललित निबन्धात्मक कृति हुन् ।

यसरी उल्लेख गरिए जस्तै घिमिरे काव्यात्मक प्रवृत्तिलाई निकै लामो गरी विश्लेषण गर्न एकसे एक शीर्षक, उपशीर्षक तयार हुन्छन् तर यसो गर्नु यो सानो लेखमा सम्भव छैन । बाँकी अरू शृङ्खलामा गरौँला । माधव घिमिरेको बारेमा एउटा फुट्कर कविता लेख्न बस्दा सिङ्गो राष्ट्रकवि खण्डकाव्य नै जन्मिएको अनुभव मसँग ताजै छ । त्यसैले नेपाली साहित्यका महासमालोचक प्रा. डा. वासुदेव त्रिपाठीको समालोचकीय यो हरफ उद्धरण गर्दै आफ्नो भनाइलाई यही टुङ्ग्याउँछुः

‘नेपाली प्रकृति संस्कृति र राष्ट्रियताको विषयवस्तुका साथै कृति र शोक तथा वीरताका मुख्य भाग त्रिवेणीको रसात्मक परिणति एवं खासगरी वर्णमात्रिक संस्कृत छन्द र वार्णिक लोक छन्दको परिष्कृत रम्यता अनि शैलीको प्राञ्जलता र संरचनाको मितव्ययीतापूर्ण सौष्ठव नै उनको कवित्वको प्राप्ति सौन्दर्य हो ।’

यसरी राष्ट्रिय रूपमा शायद नेपाली साहित्यका कुनै पनि कविले जीवितै रहँदा नपाएको न्यानो माया, सम्मान पुरस्कार र प्रायः दैनिकजसो पाएको प्रमुख आतिथ्यको निम्तोले पनि उनको गरिमा र लोकप्रियतालाई पुष्टि गर्दै दीर्घजीवनको रहस्य सम्बोधन गरेको छ । कविको शीघ्र स्वास्थलाभको कामना ! त्यो हँसिलो शताब्दी जवानी मुस्कुराइरहोस् !

२०७५ जेठ २६ गते ९:४० मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • rohini prasad lohani लेख्नुहुन्छ    |   २०७५ जेठ २६ गते १०:१४

    कसैको बारेमा केही लेखूँ भनेर कलम समात्यो भने लेखनी बग्दै बग्दैन । कसैको बारेमा भने कलम समात्यो कि रोक्न गाह्रो हुँदोरहेछ । मलाई राष्ट्रकविको बारेमा लेख्न थाल्यो कि कहाँसम्म बगिरहने हो डर लाग्छ ! सयपत्री फूलको थुँगालाई हातमा लिएर पत्रपत्र हेर्न थाल्यो भने सबै उस्तै र उही लाग्छ । परैबाट हेर्यो भने मन आहाल्लादित हुन्छ । सुन्दर देखिन्छ । बस् ! त्यतिमै सकिन्छ ! आनन्दको रसपान ! तर जब केस्राकेस्रा पल्ट्याउँदा कतै केस्रा चुँडिन्छ कि कतै च्यातिन्छ कि भन्ने डर भैरहन्छ । हो राष्ट्रकविका बारेमा लेख्ता पनि त्यस्तै त्यस्तै हुन्छ मलाई

    2
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this