२६ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा रु ६३ लाख ८१ हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ । बिहीबार प्रदेशसभामा प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले खर्च भएको कूल बजेटमा प्रदेश सरकारको रु ४९ लाख ४१ हजार र नेपाल पर्यटन बोर्डबाट रु १४ लाख ४० हजार खर्च भएको जानकारी दिए ।
विषयगत समितिमा पठाउन तीन विधेयक पारित
प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सभामा पेश गरे । मन्त्री भण्डारीले उक्त पेश गरिएको विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाउन सभामा प्रस्ताव गरेसँगै सो विधेयक सर्वसम्मत पारित भएको छ ।
त्यस्तै स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पनि सर्वसम्मत पारित भएर सम्बन्धित विषयगत समितिमा निर्णयार्थ पेश भएको छ ।
त्यसैगरी सामाजिक विकासमन्त्री दल रावलले पेश गर्नु भएको सामाजिक संघ संस्था सञ्चालन तथा व्यवस्थापन विधेयक, २०७५ सामाजिक विकास समितिमा पठाउन गरिएको प्रस्ताव सर्वसम्मत पारित भएको छ ।