Comments Add Comment

विश्वकपको जात्रा, जर्सीको व्यापार

'सर्ट पाइन्ट आउने पैसामा एउटा गन्जी !'  

२७ जेठ, काठमाडौं । ‘सर्ट पाइन्ट आउने पैसामा यो एउटा गन्जी !’ दुई नातिलाई लिएर चक्रपथमा विश्वकप जर्सी किन्दै गरेका ६१ वर्षीय तुला गौतमले भने ।

जर्सी पाइने पसलमा विश्वकप फुटबलका दाबेदार थुपै टिमका जर्सी झुण्डयाइएका थिए । हरिया, पहेंला, राता, निला । किन्नेहरुको उत्तिकै चाप थियो । नातिहरुले ब्राजिल र पोर्चुगलको जर्सी छाने, मूल्य सुनेपछि तुलाको झण्डै सातो गयो ।

‘अली घटाउन मिल्दैन भन्या ?’ उनले भने ।

‘जर्सीमा कुनै बार्गेनिङ हुँदैन, फिक्स प्राइस । लिइहाल्नुस्, अब धेरै पिस बाँकी छैन,’ पसले भन्दै थिए ।

नातीहरुको रहर । नकिनी सुखै थिएन ।

‘धेरै महंगो रहेछ । के गर्नु बेला अनुसार चल्नैपर्ने । अहिले सबैलाई यहि चाहिएको छ,’ अमीलो मन पारेर पैसा तिर्दैर् तुलाले भने ।

जर्सी पाएपछि नातीहरु फुरुङ्ग भए ।

‘पहिले पहिले दशैंमा मात्र नयाँ लुगा किनिन्थ्यो । हामी त कक्षा चढेपछि स्कूलको डे्रससँग मिल्ने लुगा हाल्थ्यौं,’ तुलाले आफ्नो बालापन स्मरण गर्दै भने, ‘अचेल के जमाना आउयो, खेल्ने कहाँ हो कहाँ, यहाँ न कसैले केही पाउने हुन्, सबैलाई यही लुगा चाहिएको छ ।’

बढ्यो जर्सीको व्यापार

‘मेसीको जर्सी लिएर समर्थक सगरमाथाको उचाइमा’

‘कुन टिमको जर्सी कस्तो ?’

‘नाइजेरीयाको जर्सी सार्वजनिक हुनेवित्तिकै बिक्री’

विश्वकपको माहोलले चोक बजार तातिन थालेसँगै जर्सीलाई लिएर केही दिनयता आएका यस्तै समाचारमा फुटबल प्रेमी भुल्दैछन् । यसैले काठमाडौंमा खेलकुदका सामान पाइनेदेखि फेन्सी पसलसम्म जर्सी बिकिरहेका छन् ।

सामाखुशीमा भेटिएका बिक्रम भुजेलले एकैपटक १४ वटा जर्सी अर्डर गरिरहेका थिए । उनी कुनै फुटबल क्लबका लागि नभई आफ्नो मनपर्ने टिमको समर्थनका लागि साथीहरुलाई बाँड्न ति जर्सी किन्दैथिए ।

भुजेलले पोर्चुगलका १४ वटा जर्सी एकैपटक मागेपछि पसले दंग परे । अर्डर टिपे, एड्भान्स लिए र बेलुकाको समय दिए । उनीहरुबीचको सम्वाद पनि रोचक थियो ।

‘११ सयसम्म हुन्छ । त्योभन्दा कममा त मिल्दैन,’ एकैपटक धेरै किन्ने भन्दै मूल्य घटाइरहेका भुजेललाई पसलेले भने ।

‘त्यो त महंगो भयो नि ।’

‘हिजोसम्म त हजारमा आइरहेको हो । यो नयाँ ल्याएको हो । पहिलेको भन्दा राम्रो छ ।’

‘यो त व्यापारीको कुरा यस्तै हो नि, मेरो साथीले हजारमै लगेको हो ।’

‘आउँदैन भाइ आउँदै आउँदैन । यो ओरिजिनल हो ।’

गएको विश्वकपमा भन्दा अहिले धेरै नै बढेका छन् जर्सी किन्नेहरु । तन्नेरीहरुमा यसको एकदमै क्रेज देखिन्छ

‘ल पछाडि खेलाडीको नाम र नम्बर प्रिन्ट पनि गर्नुपर्छ कति समय लाग्छ ?’

‘प्रिन्ट गरेको थप २५० रुपैयाँ लाग्छ है ।’

उनीहरुको मोलमोलाइ चलिरहँदा पसलेले एक सय रुपैयाँ घटाए कि ग्राहकले प्रिन्ट गरेर अर्को २५० रुपैयाँ थपे, पूरा बुझ्न पाइएन । अचेल हरेक पसलमा यस्तै जोडघटाउ चलिरहेको भेटिन्छ ।

सुन्धारामा पहिले खेलकुदकै सामान बेच्दै आएका आत्मराम सापकोटा अचेल सामाखुशी रेडन पुल नजिकको आफ्नो पसलमा व्यस्त छन् । खेलको माहोल पहिलेभन्दा अहिले बढेको उनलाई लाग्छ । बिक्री पनि बितेका वर्षमा भन्दा धेरै भएको छ ।

‘गएको विश्वकपमा भन्दा अहिले धेरै नै बढेका छन् जर्सी किन्नेहरु । तन्नेरीहरुमा यसको एकदमै क्रेज देखिन्छ । अझ अहिले त बच्चादेखि बूढासम्म नै जर्सी खोज्दै आइरहेका हुन्छन्,’ उनले भने ।

आत्मारामकै पसलमा सात महिनाको छोरा रोजिनलाई उनकी आमा  स्पेनको जर्सी लगाइदिँदै थिइन् । जर्सी शरीरमा पर्नेवित्तिकै रोजिन रुन थाले ।

‘अहो ! कस्तो राम्रो सुहाएको !’ उनकी आमाले फकाउँदै भनिन्, ‘लुगा त रातै राम्रो ।’

आफूलाई पनि खेलकुद मनपर्ने भएकाले काममा रमाइलो हुने अनुभव आत्मरामसँग छ । खेल सामग्री अरु बेलामा पनि राम्ररी बिक्थ्यो, विश्वकपले बजार झन् बढाइदिएको छ ।

‘पसलमा बसेपछि ग्राहकको अगाडि यसकै सपोर्टमा छु भन्ने त देखाउँदिन,’ उनले हाँस्दै भने, ‘पसलमा बसेपछि सबै टिमलाई मन पराएको जस्तो गर्नैपर्छ । मलाई पहिलेदेखि मनपर्ने अर्जेन्टिना नै हो ।’

जर्सी पनि धेरै बिक्ने भनेको ब्राजिल र अर्जेन्टिनाकै हो । त्यसमा पनि ब्राजिलको धेरै नै बिक्छ । त्यसपछि जर्मनी, स्पेन र पोर्चुगलको जर्सी बिकिरहेको छ ।

‘अरु देशहरुको खोज्ने फाट्टफुट्ट आउँछन् । अर्डर गरेपछि पनि हामी ल्याइदिन्छौँ,’ आत्मरामले भने ।

‘ब्राण्डेड जर्सी नेपालमा छैन’

ब्राण्डेड भनेर बेच्ने गरिएको भए पनि ब्राण्डेड जर्सी नेपाली बजारसम्म नआउने ब्यापारीहरु नै बताउँछन् ।

नेपाली बजारसम्म आएकामध्ये उनीहरु ए, बी र सी गरी तीन प्रकारका जर्सी बेचिरहेका छन् र राम्रोदेखि नराम्रोलाई आधार मानेर नाम र मूल्य तोकेका छन् । अहिले नेपालमा चीन, थाइल्याण्ड, भारत र बंगलादेशबाट जर्सी आइरहेका छन् ।

‘यसपालि धेरैजसो जर्सी थाइल्याण्डबाटै ल्याएका छौँ । चीन र बंगलादेशबाट पनि नेपाली बजारमा जर्सीहरु आएका छन् । हाम्रो आफ्नै गार्मेन्ट पनि छ । आज इद परेकाले गार्मेन्ट बन्द छ । ठीकै खालको जर्सी त हामी आफै नै बनाउँछौँ,’ आत्मारामले भने ।

उनले भनेजस्तै सबै व्यापारीले बाहिरबाट आएको भनेर बेचिरहेका धेरै जर्सी नेपालमा नै बन्छन् । त्यसैले कपडाअनुसार जर्सी राम्रो हो कि ठीकै हो भनेर बुझ्न सकिने उनीहरुले बताए ।

कति पर्छ त ?

बजारमा बिक्री हुने जर्सीलाई ए, बी र सी ग्रेड दिएर आफूखुशी मूल्य राखेर बिक्री भइरहेको पाइन्छ । विदेशी बजारमा पाइनेस्तरको कुनै पनि जर्सी नेपाली बजारमा नआउने ब्यापारीहरु नै बताउँछन् ।

‘ए ग्रेड दिइएको जर्सी राम्रो गुणस्तरको भए पनि विदेशी बजारमा चल्नेजस्तो होइन । जे होस् हाम्रोमा आउनेमध्येको राम्रो त्यही नै हो । बी र सी ग्रेडका जर्सी त अहिले नेपालमा नै बन्छन्,’ भोटाहिटीका व्यापारी रमेश श्रेष्ठले भने ।

सी ग्रेडको जर्सी ४ सय रुपैयाँको हाराहारीमा, बी ७५० देखि ८५० सम्म र ए ग्रेडको एक हजार ५० देखि १२ सय रुपैयाँसम्म पर्छ । यो मूल्य धेरै पसलमा पाइएको साझा मूल्य भए पनि योभन्दा धेरैमा बैच्ने पसलहरु पनि छन् ।

२५ वर्षभन्दा पुरानो भद्रकालीमा रहेको खेलकुदको सामान पाइने पसलमा जर्सी बेच्ने चटारोमा रहेका एक व्यापारीले १२ सय ५०, १३ सय ७५ र ९ सय रुपैयाँमा बेचिरहेको बताए ।

‘दिनमा चार/पाँच सय जर्सी बिक्छ । हाम्रोमा सधैं राम्रै बिक्री भइरहेको हुन्छ, अहिले विश्वकप भएर चहलपहल झनै बढेको छ’, उनले भने ।

व्यापारीलाई बोल्ने फुर्सद छैन

फेन्सी पसलमा जर्सी बेचिरहेका पसले केही फुर्सदमा भए पनि खेलकुदका सामान पाइने पसल र जर्सीकै लागि चलाइएका पसलमा भने व्यापारीलाई बोल्ने फुर्सदसम्म छैन ।

खेल सामग्री पाइने पसलमा फुटबलकै अन्य सामान पनि छन् तर बिक्छन् जर्सी मात्रै । यसैले फेन्सी पसलेले पनि अरु सामान घटाएर जर्सी नै थपेका छन् ।

‘मैले त धेरै राखेको होइन । बिक्ने रहेछ भन्ने थाहा भएर अलिअलि जर्सी राखेको हो । यो त मेरो फेन्सी पसल हो । सिजन भएकाले अहिले जे चल्छ त्यही नै राखेको,’ भोटाहिटीमा फेन्सी पसल गरीरहेकी निर्मला श्रेष्ठले भनिन् ।

भोटाहिटीकै साझा भवनभित्र रहेको खेलकुदको सामान पाइने ‘कोसेली हाउस’ का पसलेलाई त बोल्ने फुर्सदसम्म पनि छैन ।

‘ग्राहक आइरहेका बेला अरुसँग बोल्ने फुर्सद नै हुँदैन । अहँ अहिले केही कुरा गर्नै मिल्दैन । व्यापारको टाइम छ,’ नाम पनि भन्न नभ्याएका साहुजीले भने ।

उनलाई मात्र होइन, राम्ररी चलिहरेका जर्सी पसलका अरु साहुजीहरु पनि किन्ने र बेच्नेबाहेकका अरु कुरा गर्न अहिले रुचाउँदैनन् ।

एक त ग्राहकअनुसार मूल्य भन्ने उनीहरुको बानीले पनि कतिमा बेचेको ? कति पर्छ ? कहाँबाट ल्याएको ? जस्ता प्रश्नको जवाफ दिन सक्दैनन् । अर्को, उनीहरु साच्चै फुर्सदमा हुँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment