Comments Add Comment

छापामा आजः ‘भुँडे सैनिक’लाई बढुवा निषेध, शिक्षक जोगाउन आलुखेती


२८ जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् । केहीले राजनीतिक विषयलाई बढी जोड दिएका छन् भने कुनैले आर्थिक, सामाजिक, जनजीवनका मुद्दा समेटेका छन् ।

खासगरी संयुक्त राष्ट्र संघको नेपालस्थित राजनीतिक मामिलासम्बन्धी कार्यालय बन्द गर्ने सरकारको निर्णयलाई आजका केही पत्रपत्रिकाहरुले महत्त्वका साथ लेखेका छन् । सरकारको अनुमतिविना सञ्चालन भइरहेको उक्त कार्यालयको उपादेयता नरहेको भन्दै बन्द गर्ने निर्णय गरिएको हो ।

प्रदेश ४ को संसदमा कांग्रेसले अवरोध गरेपछि मार्सल लगाएर विधेयक पास गरिएको छ । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले विविध शीर्षकमा कभरेज गरेका छन् ।

यसका अतिरिक्त नेकपामा भातृ संस्था मिलाउन सकस परेको, भुँडे सैनिकलाई शान्ति मिसन र बढुवामा निषेध गरिएको, १६ सय जनप्रतिनिधि कारबाहीमा परेको, चीनले २ नाकामा पुल बनाइदिने भएको लगायत समाचारले पनि आजका पत्रपत्रिकाको पहिलो पृष्ठमा स्थान पाएका छन् ।

पार्टी मिल्यो, भातृ संस्था मिलाउन सकस

नयाँ पत्रिका दैनिकले नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कमम्युनिस्ट पार्टी बने पनि यसका भातृ संस्था मिलाउन सकस परेको समाचार छापेको छ ।

समाचार अनुसार २२ भातृ संस्थाहरु मिलाउन नेकपाले २२ वटा कार्यदल बनाएको छ । कार्यदललाई एकीकृत संगठनको विधान मस्यौदा गर्ने र महाधिवेशन आयोजक कमिटी गठन गर्न पदाधिकारी र सदस्यहरुको नामावली प्रस्ताव गर्न कार्यादेश दिइएको छ । कमिटी बनाउँदा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउनुपर्ने म्यान्डेट कार्यदललाई छ ।

‘भुँडे सैनिक’लाई बढुवा निषेध

सैनिकहरुको भुँडी लाग्यो भने के हुन्छ ? अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, नेपाली सेनामा कार्यरत सैनिक अधिकारीहरु हुन् भने अब बढुवा रोकिन्छ अनि शान्ति मिसनबाट पनि नाम हटाइन्छ ।

मोटोपना र दुब्लोपना अत्यधिक भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा रोकिने मात्रै होइन, शान्ति सेनालगायत स्वदेश तथा विदेशमा हुने तालिमबाट समेत उनीहरु वञ्चित हुनेछन् । सैनिक मुख्यालयले आफ्ना सैनिकको स्वास्थ्य स्थितिलाई दृष्टिगत गर्दै ल्याएको स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधिमा तोकिएको मापदण्डविपरीत तौल भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा नहुने र शान्ति सेनामा जानबाट समेत वञ्चित हुने उल्लेख छ ।

कार्यविधिले आफ्नो स्वास्थ्य ख्याल नराख्ने, जथाभावी खाने , आवश्यक व्यायम नगर्ने सैनिक अधिकारीहरुलाई नियमन गर्नेछ । केही उच्च सैनिक अधिकारीहरु कार्यविधि कार्यान्वयनमा आएपछि तौल घटाउन क्लब नै जान थालेका छन् । बढुवालगायत शान्ति सेनाबाट समेत वञ्चित हुने भएपछि शारीरिक रुपले मोटोपना भएका, पुटुस्स भुँडी लागेका र धेरै दुब्लोपना भएका सै्रनिक अधिकारीहरु अहिले नियमित व्यायम गर्न थालेको सैनिक स्रोतले बताएको छ ।

रेल किन्न खोजिँदै ऋण


सरकारले आगामी आर्थिक वर्ष रेल किन्ने भएको छ । जनकपुर–जयनगर रुटमा कुटाउन किन्न थालिएको रेलको लागत ५० करोड रुपैयाँ अनुमान गरिएको छ ।

अन्नपूर्णका अनुसार, यसका लागि ४६ करोड २५ लाख सरकारले व्यवस्था गर्नेछ भने बाँकी ऋण खोजिनेछ ।

रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले रेल किन्न विभागले एक मुष्ठ ५० करोड पाउन लागेको बताएको अन्नपूर्णमा उल्लेख छ ।

रेल विभागलाई सरकारले साढे चार अर्ब रुपैयाँ बजेट दिएको छ । यसमा आन्तरिक स्रोतबाट एक अर्ब ५० करोड दिइनेछ भने अरु वैदेशिक ऋण लिइनेछ ।

शिक्षक टिकाउन आलुखेती

निजी स्रोतमा राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन जिल्लाको एक सामुदायिक विद्यालयले तरकारीखेती गर्दै आएको छ । पातारासी गाउँपालिका–७, पटमारास्थित महारुद्र आधारभूत विद्यालयमा दरबन्दीभन्दा निजी स्रोतका शिक्षक दोब्बर भएपछि तलबभत्ताको जोहो गर्न विद्यालयले आलुखेती गरेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

पाँच रोपनीमा आलखेती गरिएपछि निजी स्रोतमा राखिएका शिक्षक टिकाउन सहज भएको विद्यालयले जनाएको छ ।

सरकारले दरबन्दीका शिक्षकलाई मात्र तलब उपलब्ध गराउँछ । निजी स्रोतका शिक्षकलाई तलब दिन विद्यालयको अन्य आम्दानीले नपुगेपछि तरकारीखेती गरेर रकम जुटाउनुपरेको विद्यालयले जनाएको छ ।

१६ सय जनप्रतिनिधि कारबाहीमा

तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका एक हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र ५ हजार रुपैयाँ जरिवानासहित सम्पत्ति विवरण पेश गर्न पत्र काटेको छ ।

नागरिक दैनिकका अनुसार, सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका जनप्रतिनिधिलाई १ महिनाभित्र पाँच हजार नगद र सम्पत्ति विवरण दाखिला गर्न पत्र काटिएको अख्तियारले जनाएको छ ।

राजपा नेपाललाई सरकारमा ल्याउन पहल

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको प्रतिवद्धतासहित राष्ट्रिय जनता पार्टी नेपाललाई समेत सरकारमा सहभागी गराउने पहल थालेको छ ।

त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल सुरु भएको छ । संसदमा विश्वासको मत दिएलगत्तै संघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सुरु भएको थियो ।

संविधान संशोधनमा कुरा नमिल्दा फोरम र राजपा झन्डै तीन महिना सरकारमा सहभागी नभई बसेका थिए । गत साता फोरम सरकारमा सहभागी भएपछि राजपासमेत सरकारमा जान सक्ने गरी छलफलमा जुटेको कान्तिपुरमा खबर छ ।

कुवेतमा समातिए ६ नेपाली

कुवेत प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गरेको आरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ ।

साद अल अब्दुल्ला क्षेत्रमा बिक्री गर्न तयारी अवस्थाको २५० ब्यारेल तथा ९८० बोतल मदिरासहित उनीहरुलाई नियन्त्रणमा लिएको कुवेत प्रहरीलाई उद्धृत गर्दै कान्तिपुरले समाचार लेखेको छ ।

कुवेतमा गैरकानुनी रुपमा मदिरा उत्पादन, सेवन र बिक्री गर्न नेपालीसहितका विदेशी कामदार संलग्न हुँदै आएका छन् ।

हेर्नुहाेस् पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment