Comments Add Comment

हनी हन्टिङः तान्जे गाउँको २०० वर्ष पुरानो परम्परा

केही शिकारीहरू माहुरी भगाउन भिरको फेंदमा आगो बाल्न थाल्छन् । हेर्दाहेर्दै धुवाँको मुस्लो माथि माहुरीको घारसम्म पुग्छ ।

केही शिकारी भिरको माथिपट्ट िडोरी र सिँडी कस्न थाल्छन् ।  त्यसपछि मह काढ्ने शिकारी त्यही डोरी र सिँडी प्रयोग गरेर माहुरीको घार भएको ठाउँसम्म पुग्छन् ।

अब सुरु हुन्छ हनी हन्टिङ अर्थात भिर माहुरीको महको शिकार । १६ जना शिकारीले पूरै १० घण्टा लगाएर हनी हन्टिङ गरिरहेको दृश्य रोमाञ्चक र रसिलो थियो ।

धुवाँको मुस्लोका कारण माहुरी आत्तिँदैछन् र घार छोडेर परपर भाग्दैछन् । यी यस्ता माहुरी हुन्, जुन विश्वकै ठूला मानिन्छन् । यस्ता कम्तीमा दश वटा माहुरीले टोकेमा शिकारी सिकिस्त विरामी हुन सक्छन् । भिरमा तुर्लुङ्ग झुण्डिएर माहुरीको टोकाइबाट बच्दै मह काढ्नु कम्ती जोखिमपूर्ण हुँदैन ।

नेपालमा सदियौंदेखि चलिआएका केही यस्ता लोपोन्मुख परम्परा छन् जुन निकै आश्चर्यजनक र जोखिमपूर्ण छन् । ‘हाई क्लिफ हनी हन्टिंङ’ अर्थात् ‘भिर मौरीको मह शिकार’ यस्तै एउटा परम्परा हो, जुन हिमालको काखमा रहेको लमजुङ जिल्लाको तान्जे गाउँमा प्रचलित छ । यो परम्परा करिब २०० वर्ष अघिदेखि सुरु भएको शिकारीहरु बताउँछन् ।

वरिपरि घनघोर जंगल रहेको तान्जे गाउँ पुग्दा हामीले घले र गुरुङ समुदायका मानिसहरु भेट्यौं । उनीहरू वर्षमा दुई पटक नजिकैका भिरहरूमा मह काढ्न जाँदा रहेछन् । तिनैमध्ये एक शिकारी हुन्, कृष्णबहादुर तामाङ, जसले यो काम गर्न थालेको ४५ वर्ष पुगिसकेछ ।

हनी हन्टिङमा शिकारीहरूलाई प्रोत्साहन गर्न भोज डिल्स कम्पनीले खानेकुराका प्याकेट पठाइदिएको थियो । हामीले ती प्याकेट उनीहरूलाई हस्तान्तरण गर्‍यौं । उनीहरू निकै उत्साहित देखिन्थे । भोज डिल्स काठमाडौंमा यस्तै प्याकेट घरघरमा पुर्‍याउने एउटा कम्पनी हो ।

मह काढिसकेपछि उनीहरुले त्यसलाई प्राकृतिक तवरले छाने । अचेल भिर माहुरीको महको विश्वमा निकै माग छ । औषधीय गुण भएका हिमाली फूलहरुको रस चुसेर माहुरीले जम्मा गर्ने यो मह अमृत समान मानिन्छ ।

(मह शिकारका रोमाञ्चक तस्वीर तथा भिडिलार्इ फोर एएम प्रोडक्सनले उपलब्ध गराएको हो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment