Comments Add Comment

मेस्सी समर्थकको चिया पसल

काठमाडौं । विश्वभर छरिएर रहेका अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीका ठूला समर्थक मध्ये एक हुन्, शिव शंकर पत्रा । विश्वकप फुटबलको माहोल तातेसँगै उनले आफू मेसीको कस्तो समर्थक हो भन्ने देखाएका छन् ।

भारत कोलकाताका ५३ वर्षीय पत्राले चिया पसलको थोरै कमाइबाट केही रकम बचाएर आफ्नो पूरै घर अर्जेन्टिनाको जर्सीमा देखिने निलो र सेतो रंगले रंग्याएका छन् । त्यसका लागि उनले एक एक रुपैयाँ बचाएर ६० हजार भारू राखेका थिए ।

त्यो रकम उनले रसियामा विश्वकप हेर्नका लागि जोगाएको भए पनि ६० हजारमा सम्भव नहुँदा घर नै रंग्याएर आफ्नो शोख पूरा गरेका हुन् ।

उनले विश्वकप हेर्न रसिया जानका लागि कोलकाताको एक ट्राभल एजेन्टसँग कुरा पनि गरेका थिए ।

त्यसको लागि डेढ लाख भारतीय रुपैयाँ लाग्ने सुनेपछि उनले त्यो आँट्न सकेनन् । ‘मलाई धुमपान र रक्सीको लत त छैन तर मलाई अर्कै लत छ । त्यो हो लियोनेल मेस्सी र अर्जेन्टिना’ कोलकाताको नवाजगञ्जस्थित यी चियापसले पत्राले भने, ‘म धेरै रकम त कमाउँदिन तर, कमाइको केही रकम विश्वकपको लागि राखेको थिएँ ।’

इच्छापुर रेल्वे स्टेशनबाट पत्राको घरमा जान कसैलाई पनि जिपिएस ट्र्याकरको आवश्यकता पर्दैन । कुनै बालक, युवा वा बुढाहरुलाई ‘अर्जेन्टिना चिया पसल’को बारेमा सोधेमा सबैले खुसी हुँदै बाटो देखाइदिन्छन् ।

अर्जेन्टिनाको हल्का निलो र सेतो रंगले रंगाइएको उनको तीनतल्ले घरको छतमा अर्जेन्टिनाको ठूलो झण्डा पनि फहराइरहेको छ ।

घरको पहिलो तलामा चिया र खाजा पसल गर्ने पत्राको घरबाहिर मात्रै होइन, पूजा कोठासहित हरेक कोठामा अर्जेन्टिनाको निलो र सेतो रंग लगाइएको छ । मेस्सीका ठूल्ठूला तस्वीर राखिएको छ ।

परिवार नै मेस्सीको प्रेममा

कुनै लत संक्रामक हुन्छ । त्यसले मानिसलाई दुःखी बनाउँछ । तर, कसैलाई पत्राको झैँ ‘मेस्सी मेनिया’ छ भने त्यसले खुसी बनाउँछ । मेसी भन्नेबित्तकै उनकी पत्नी सपना, २० वर्षकी छोरी नेहा र १० वर्षका छोरा शुभम सबैजना उनी जस्तै पागल हुन्छन् ।

आँखामा खुसी झल्काउँदै पत्राले भने, ‘मेरा बच्चाहरुलाई मेसीको बारेमा सबै थाहा छ । उनलाई मनपर्ने खाना, उनले चढ्ने कार सबैथोक ।’

‘उनीहरु मेसीको कुनै पनि खेल छुटाउँदैनन । यदि उनीहरुको परीक्षाको बेला खेल छ भने पनि हेर्न छोड्दैनन्’ पत्नी सपनाले भनिन् ।

कोलकाता र अर्जेन्टिनाको सम्बन्ध

कोलकातामा अर्जेन्टिनी फुटबल फ्यानहरु सबैलाई जोड्ने एउटा धागो छ, र त्यो हो, सन् १९८६ को विश्वकप ।

दुरदर्शनले पहिलोपटक उक्त विश्वकपको प्रत्यक्ष प्रशारण गरेको थियो र कोलकाताका प्राय सबैलाई म्याराडोनाको भक्त बनाएको थियो । कोलकाताका धेरैले अहिले मेस्सीलाई म्याराडोनाको अर्को रुप मान्छन् ।

पत्रा भन्छन, ‘साल्टलेक स्टेडियममा अर्जेन्टिनाको मैत्रीपूर्ण खेल मैले प्रत्यक्ष हेरेको थिएँ । त्यो दिन मैले आˆनो सपना पूरा भएको महशुस गरेको थिएँ ।’

केक काटेर मेस्सीको जन्मदिन, सित्तैमा चिया समोसा

यसपटक मात्रै होइन, सन् २०१४ को विश्वकपमा पनि पत्राले आफ्नो घर अर्जेन्टिनाको रंगले रंगाएका थिए । त्यति मात्रै होइन, उनले सन् २०१२ देखि हरेक वर्ष केक काटेर मेस्सीको जन्मदिन मनाउने गरेका छन् ।

अर्जेन्टिनाका अरु समर्थकलाई समेत बोलाएर रक्तदान कार्यक्रम गर्दै उनले मेस्सीको जन्मदिन मनाउने गर्छन् । त्यस्तै अर्जेन्टिनाको हरेक खेलको दिनमा उनले आफ्नो पसलमा आउने सबैलाई चिया र समोसा सित्तैमा बाँड्छन् ।

यो वर्ष विश्वकप चलिरहँदा मेसीको जन्मदिन पर्ने भएकाले यसपाली उनले रक्तदान कार्यक्रमको सट्टामा ३० पाउण्डको ठूलो केक काट्ने र स्थानीय बच्चाहरुलाई मेसीको फोटोअङ्कित एक सय वटा जर्सी बाँड्ने योजना उनले बनाएका छन् ।

उक्त कार्यक्रममा स्थानीय विधायक र भारतीय यू-१७ विश्वकप खेलाडी रहिम अलिलाई निमन्त्रणा दिएका छन् ।

यस्तै सबै आफ्नै खर्चमा गर्ने गरेको र यसको लागि कसैसँग पनि सहयोग नलिने पत्रा बताउँछन् । पत्रा भन्छन्, ‘मैले यसको लागि कसैसँग पनि सापट वा उधारो लिन परेको छैन । केही गर्न पर्‍यो भने पैसा आँफै पो जुट्छ ।’

उत्साहित हुँदै पत्रा भन्छन् ‘यहाँ आउने सबै खुसी हुन्छन् । हामीले यहाँ मिनि अर्जेन्टिना बनाएका छौं ।’

उनले मेसीको हरेक खेल अगाडि स्थानीय हनुमान मन्दिरमा प्रार्थना पनि गर्छन् ।

 इन्डियन एक्सप्रेसबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment