Comments Add Comment

गर्मी बढेपछि पर्साका दुई स्थानीय तहका विद्यालय बन्द

२८ जेठ, वीरगञ्ज । केही दिन यता बढेको गर्मीका कारण पर्सामा धमाधम सामुदायिक विद्यालयहरु बन्द गर्न थालिएको छ ।

वीरगञ्ज महानगरपालिका र पोखरीया नगरपालिकाले एक सातासम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् भने अन्य स्थानीय तहले पनि विद्यालय बन्द गर्ने तयारी गरिरहेका छन् ।

केहिदिन यता बढेको गर्मीलाई मध्यनजर गरेर वीरगञ्ज महानगरपालिका र पोखरीया नगरपालिकाले एक साताका लागी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

गर्मिका कारण विद्यार्थीहरु पढ्नमा रुची नदेखाउने, घर र्फकने समयमा घाम चर्किसक्ने भएकोले स्वास्थ्यमा समस्या आउन सक्ने, कक्षा कोठामा पंखा लगायतको सुविधा नभएको र कतिपय विद्यालयको भवनमा जस्तापाताको छानो भएको लगायतका समस्यालाई मध्यनजर गरेर विद्यालय बन्द गर्ने निर्णय गरिएको स्थानीय तहका प्रतिनिधिहरुले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय अन्र्तगत राखिएको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख लिलबहादुर क्षेत्रीले वीरगञ्ज महानगरपालिकाबाट विद्यालय बन्द गर्ने जानकारी आएको र अर्को एउटा स्थानीय तहले पनि धेरै गर्मी भएका कारण विद्यालय बन्द गरेको भन्ने सुनेको बताए ।

‘विद्यालय बन्द गर्ने वा नगर्ने उहाँहरुकै अधिकार क्षेत्र भित्रको कुरा हो,’ उनले भने, ‘आवश्यक लागेको खण्डमा विद्यालय बन्द गर्न सक्ने स्थानीय तहको अधिकार क्षेत्र भित्रकै कुरा हो । हामीले त्यसमा हस्तक्षेप गर्ने कुरै भएन ।’

महानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयहरु जेठ २९ अर्थात मंगलबारदेखि असार ३ गते सम्मका लागि बन्द गराएको वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखाका अधिकृत मन्जुर अंसारीले बताए । ‘अत्याधिक गर्मी बढेर पठन पाठनको वातावरण नै नबने अवस्था आयो ।

त्यसैले हामीले विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर आईतबार सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘सामुदायिक संगै संस्थागत विद्यालयहरुलाई पनि पत्राचार गरेका छौं ।’ वीरगञ्ज महानगरपालिकामा ९२ वटा सामुदायिक र १ सय भन्दा बढी नीजि विद्यालय छन् ।

पोखरीया नगरपालिकाले जेठ २९ गते मंगलबारदेखि असार ४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपप्रमुख सल्मा खातुनले जानकारी दिइन् । ‘नगर कार्यापालिकाको बोर्ड बैठकले अत्यधिक गर्मी बढेको कुरालाई मध्यनजर गरेर एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको छ,’ उनले भनिन् , ‘अहिले दिईएको विदा वर्षे विदाबाट कटौति हुन्छ ।’

पोखरीया नगरपालिका अन्र्तगत २४ वटा सामुदायिक विद्यालय र केहि संस्थागत विद्यालय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment