Comments Add Comment

अफगानी मलाला : तालिबानले गोली हान्यो तर, हिम्मत हारिनन्

एउटा खुट्टामा पोलियो, अर्कोमा तालिबानको गोली

२८ जेठ, काठमाडौं । जब ब्रेस्ना मुसाजाई कालो टोपी र गाउन लगाएर वार्किङ फ्रेममा बसेर दाजुको सहाराले मञ्चमा चढिन्, दर्शकदीर्घामा रहेका सबैले खुशीले ताली बजाए ।

अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तानबाट स्नातक सकेर दीक्षित हुँदै गरेका १२८ विद्यार्थीमध्ये निर्विवाद सबैको आकर्षणको केन्द्र थिइन् २८ वर्षीया मुसाजाई ।

सानैमा पोलियोको कारण पक्षघात भएर उनको एउटा खुट्टा नचल्ने भएको थियो भने अर्को खुट्टामा तालिबान लडाकुहरुले गोली हानेका थिए र उनी भाग्यले बाँचेकी थिइन् । ‘जब मैले मञ्चबाट अगाडि हेरेँ, सबैजना मेरो लागि उठ्नुभएको थियो’ उनले एक अन्तर्वार्तामा भनिन्, ‘त्यो मेरो लागि ठूलो गौरवको कुरा थियो ।’

शारीरिक अपाङ्गता नभएका अफगानी महिलाहरुले पनि विभिन्न कठिनाइका कारण उच्च शिक्षा प्राप्त गरेका छैनन् तर, उनको दृढता अचम्मको छ ।

तालिबानको नियन्त्रणमा रहेका क्षेत्रमा रहेका धेरै छात्रा विद्यालयहरु बन्द छन् । अघिल्लो सातामात्रै इस्लामिक स्टेटको विद्यालयमा आक्रमण गर्ने धम्कीपछि पूर्वी नानगाहर प्रान्तका करिब ८० भन्दा धेरै विद्यालयहरु बन्द भएको मिडिया रिपोर्टहरुले जनाएका छन् ।

७ देखि १७ वर्ष उमेरका अफगान बच्चाहरुमा करिब आधा जति विद्यालय बाहिर छन् । युनिसेफको रिपोर्टअनुसार बाहिर रहेकामध्ये पनि ६० प्रतिशत भन्दा धेरै छात्रा छन् ।

सरकार नियन्त्रित क्षेत्रमा पनि विद्यालयस्तरको पढाइ सकेपछि कलेज पढ्न थोरै मात्रै छात्राहरु जाने गर्छन् । धेरै रुढीवादी परिवारले आफ्नो छोरीलाई जवान भएपछि विद्यालय पठाउँदैनन्, बरु विवाह गरिदिन्छन् ।

दीक्षान्त समारोहपछि मुसाजाइका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भए । हजारौं मानिसहरुले उनको तस्वीर फेसबुक र टि्वटरमा सेयर गरे । धेरैले उनलाई पाकिस्तानकी मलाला युसुफजाइसँग तुलना गरे ।

सन् २०१२ मा तालिबान लडाकूको गोली प्रहारबाट घाइते भएकी मलालाले पछि नोबेल पुरस्कार पाएकी थिइन् । ‘ब्रेस्ना सबैको लागि साहस र प्रेरणाको स्रोत हुन्’ काबुलकी महिलाअधिकारकर्मी सहर फेतरातले टि्वट गर्दै भनिन्, ‘उनी साँच्चै नै अफगानिस्तानकी मलाला हुन् र उनलाई थप शक्ति मिलोस् ।’

मुसाजाइले आफूबारे गरिएको टि्वट र पोस्टहरुलाई प्रशंसा गर्दै त्यसले भविष्यमा अझै राम्रो गर्ने हौसला दिएको बताएकी छिन् ।

मध्यमवर्गीय परिवारकी मुसाजाइको परिवारले सँधै उनको पढाइमा सहयोग गरेको थियो । ‘धेरै पढाएर उनलाई भविष्यमा आत्मनिर्भर बनाउने हाम्रो चाहना थियो’ उनका पिता तथा पूर्व सांसद सलेह मोहम्मद मलाङले भने ।

उनको जन्म हुनु अगाडि नै परिवार पाकिस्तान सरेको थियो । विद्यालय र कलेज शिक्षा उनले त्यहिँ लिएकी थिइन् । उनले कम्प्युटर सिकेकी छिन् र अंग्रेजी पनि पढेकी छन् ।

परिवारसँगै २०११ मा अफगानिस्तान फर्किएपछि उनले अमेरिकीहरुले खोलेको आधुनिक अमेरिकन युनिभर्सिटीमा कानून विषय लिएर स्नातक पढ्न थालिन् ।

तर, २०१६ को अगस्ट १४ मा उनी क्याम्पसको मस्जिदमा बेलुकीको नमाजको लागि जाँदै गर्दा तालिबान लडाकुहरुले क्याम्पस हाताभित्र आक्रमण गरे । अरु विद्यार्थीहरु भाग्न सफल भए तर उनी हिँड्न नसक्ने भएकाले घिस्रन थालिन् ।

उनी घिस्रँदै भवनको प्यासेजमा पुग्दा अगाडि प्रहरीको बर्दी लगाएको एक लडाकु आयो र उनको सद्दे खुट्टामा गोली प्रहार गर्‍यो । जिँउदो भएको थाहा पाएमा मार्छन् भन्ने डर उनलाई लाग्यो र पीडाको बाबजुद उनी घन्टौंसम्म चट्पटाइनन् ।

मध्यराततिर एक प्रहरी अधिकारी भवनमा छिरे र अँध्यारोमा अन्धाधुन्ध गोली प्रहार गर्न थाले । उनी सुतेको ठाउँमा उनको नजिकैबाट गोलीहरु जान थाले । उनले त्यो घटना सम्झँदै भनिन्, ‘म पक्कै पनि मर्छु भन्ने लाग्यो ।’

त्यसपछि एक प्रहरीले उनलाई बोकेर एम्बुलेन्समा हाले । एक खुट्टा भाँच्चिएको थियो र उनको पैतालामा पनि गोली हानिएको थियो ।

डाल्लासस्थित एक हस्पिटलका सर्जन जोन अलेक्जान्डर र विश्वविद्यालयको अमेरिकन ट्रस्टीले उनको मेडिकल उपचारमा सहयोग गरे । ६ महिनाको उपचारपछि उनी अफगानिस्तान फर्किइन् ।

उनी उपचारको लागि अमेरिका जाँदा उनको विवाह तय भएका युवक पनि सँगै गएका थिए तर, पछि उनी त्यँहिबाट क्यानाडा गए । उनले मुसाजाईलाई पनि सँगै जान आग्रह गरे तर, उनले अस्विकार गरिन् । ‘मैले उनलाई यस्तो गर्नु राम्रो नहुने बताएँ’ उनले भनिन् ।

महिलाहरुमा सबैभन्दा कम सारक्षरता रहेको देशहरुमा अफगानिस्तान पनि पर्छ । तर, आजकाल त्यहाँ सुरक्षा चुनौती र सामाजिक प्रतिबन्धको बाबजुद पनि मुसाजाइजस्ता महिलाहरुको सङ्ख्या बढिरहेको छ ।

मार्चमा अफगानिस्तानकै तीन बच्चाको आमा २५ वर्षीया जहानतव अहमती पनि सञ्चारमाध्यममा छाएकी थिइन् । आफ्नो सानो बच्चालाई सँगै राखेर हेरचाह गर्दै विश्वविद्यालयको प्रवेश परिक्षा दिँदै गरेको उनको तस्वीर भाइरल भएको थियो ।

सामाजिक सञ्जालमा तस्वीर भाइरल भएपछि उनका समर्थकहरुले उनको शिक्षामा सहयोग गर्न अनलाइनमा एकाउन्ट खोलेर पैसा उठाएका थिए ।

अझै पनि मुसाजाइको पैतालाको सर्जरी गर्न बाँकी छ । तर, उनले अझै धेरै पढ्ने दृढता व्यक्त गरेकी छिन् । सर्जरी गरेर हिँड्न सक्ने भएपछि कानून वा मानवअधिकारमा स्नातकोत्तर गर्ने सोच बनाएको उनले बताइन् ।

साउथ चाइना मर्निङ पोस्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment