Comments Add Comment

शुभचिन्तकको घेरामा मौन डा. देवकोटा

अस्पतालमा भीआईपीदेखि सर्वसाधारणसम्मको भीड

२८ जेठ, काठमाडौं । एक दशकयता बाँसबारीस्थित न्युरो अस्पताल कहिल्यै खाली भएन । जहिल्यै बिरामीको भीड हुने यो अस्पताल मूल सडकबाट ओरालोमा पर्छ । सडकबाटै त्यहाँको भीडभाड देख्न सकिन्छ ।

आजकाल पनि भीड उस्तै नै छ । फरक के भने पहिले आफ्नो रोगको उपचार गर्न आउने बिरामीको चाप हुन्थ्यो भने अहिले तिनै बिरामी आफूलाई जीवनदान दिने चिकित्सक डा. उपेन्द्र देवकोटाको जीवनमा कुनै दैवी चमत्कार हुन्छ कि भन्ने आशाले प्रर्थना गर्न आइरहेका छन् ।

यस्ता शुभचिन्तकहरुमा देशका पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, न्यायाधीश, उच्च सरकारी कर्मचारी, उच्च सेना तथा प्रहरी अधिकृत, विशिष्ट चिकित्सकहरुदेखि सर्वसाधारणसम्म छन् । ईश्वरीय शक्तिमा विश्वास नगर्ने र ‘कम्युनिस्ट’ आदर्श बोकेका मानिसहरु पनि अस्पताल परिसरमा राखिएको पुस्तिकामा ‘डा. देवकोटामा चमत्कारिक परिवर्तन हुने विश्वास’ व्यक्त गरिरहेका छन् । न्युरो अस्पताल पुग्दा यस्तो लाग्छ, डा.देवकोटाले जीवनमा शुभचिन्तकबाहेक केही कमाएनन् ।

आइतबार साँझ न्युरो अस्पतालमा एकातिर भासिएको फित्ते चप्पल लगाएकी सुनसरीकी रञ्जु चौधरी डा. देवकोटाको स्वास्थलाभको कामना गर्दै रोइरहेकी थिइन् । आफूलाई उपचार गर्ने डाक्टर आफै विरामी भएको खबर सुनेपछि उनी फलोअपमा बोलाइएकोभन्दा दुई महिनाअगावै बाबुलाई लिएर बाँसबारी आएकी थिइन् । जब आफ्नो टाउकोको अप्रेसन गरिदिने डाक्टर फलोअप हेर्न नसक्ने अवस्थामा पुगेको सुनिन्, उनी पार्किङस्थलमै रुन थालिन् ।

उनी दुई वर्षअघि रुखबाट लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो । सबैले माया मारिसकेकी रञ्जुलाई डा. देवकोटाले नै ‘माइन्ाुट्ली अप्रेसन’ गरेर बचाएका थिए । देवकोटाले उपचारको डेढ लाख मध्ये १ लाख ३ हजार मात्रै लिएर बाँकी रकम मिनाहा गर्न अस्पताल प्रशासन अनुरोध गरेका कारण पनि चौधरी परिवार उनीप्रति अनुगृहित देखिन्थ्यो ।

न्युरो अस्पतालको दोस्रो तल्लाको सुविधा सम्पन्न कोठामा डा. देवकोटालाई राखिएको छ । एकजना डाक्टर, दुईजना नर्स हरबखत उनको सेवामा तल्लिन छन् । अहिले उनलाई हेर्न आउने विशिष्ट पाहुनालाई पनि रोकिएको छ ।

चौधरी यहाँ आउने बिरामीको एउटा नमूना मात्र हुन् । न्युरो अस्पताल पुग्दा कैलाली, झापा, सप्तरी र डडेल्धुराबाट आएका बिरामीको ठूलै समूह देख्न सकिन्छ, जो डा. देवकोटाले एकपटक मात्रै भए पनि आफूलाई हेरिदिउन् भन्ने चाहन्छन् । उनीहरु अझै डा. देवकोटा ठीक हुने आशामा छन् । सञ्चारमाध्यममा फैलिरहेको विभिन्न हल्लाबाट पनि यिनीहरु बेखबर रहेछन् । डा. देवकोटालाई के भएको हो भन्नेसमेत उनीहरुलाई जानकारी छैन । गम्भीर रोग लागे पनि औषधि खाएर र अप्रेसन गरेर निको हुने विश्वास देखिन्छ उनीहरुमा ।

‘गाउँ-गाउँबाट बिरामी आउन थाल्नुभएको छ । फलोअप गर्नुपर्ने समयअघि नै डाक्टर देवकोटालाई भेट्न सकिन्छ कि भनेर आउनु भएको छ’ न्युरो अस्पतालका प्रशासन प्रमुख विद्याधर अधिकारी भन्छन्, ‘एक सातायता गाउँ-गाउँबाट उहाँका बिरामी आउने क्रम जारी छ । हामी उहाँको अवस्था बुझाएर पठाउछौं ।’

डा. देवकोटा करिब ३५ वर्षदेखि चिकित्सा पेसामा थिए । २५ वर्ष वीर अस्पतालमा र १० वर्ष आफूले स्थापना गरेको बाँसबारीस्थित न्युरो अस्पतालमा बिताएका उनले करिब १० लाख विरामीलाई प्रत्यक्ष हेरेको अनुमान गरिएको छ । त्यसमध्ये करिब १८ हजार व्यक्तिलाई उनले आफै वा उनको निर्देशनमा अप्रेसन गरिएको थियो ।

‘उसको ९९.९९ प्रतिशत केस सफल हुन्छ, यदि केस ठीक छ भने । उ जेन्युन डाक्टर हो । म आफै डाक्टर हुँ, तर उजस्तो डाक्टर नेपालीले पाउन गाह्रो छ,’ डा. दिनेशनाथ गंगोल भन्छन्, ‘उसको हातमा अनौठो कला छ । सार्प हात, सार्प दिमाग ।’

न्युरो अस्पतालको दोस्रो तल्लाको सुविधा सम्पन्न कोठामा डा. देवकोटालाई राखिएको छ । एकजना डाक्टर, दुईजना नर्स हरबखत उनको सेवामा तल्लिन छन् । बाँकी समय यिनै पाका चिकित्सक डा. गंगोल र श्रीमती मधु दीक्षित उनको नजिकमा हुन्छन् । यी दुबैसँग आँखाको इशारामा डा. देवकोटा कुरा गर्छन् । बाँकी समय उनी मौन छन् ।

अहिले उनलाई हेर्न आउने विशिष्ट पाहुनालाई पनि रोकिएको छ । यद्यपि डा. देवकोटाले इच्छा गरेमा उनलाई भेट्न आएका व्यक्तिहरुको नाम देखाइन्छ । कहिलेकाहीँ उनले भेट्न आएका पाहुनामध्ये कसैसँग भेट्ने इच्छा राखे भने माथि बोलाइन्छ । यही कारण एकपल्ट हेर्न पाउने आशामा धेरै विशिष्ट व्यक्ति घन्टौं अस्पताल परिसरमा टहलिरहन्छन् । उनीहरुलाई डा. देवकोटाकी पत्नी मधुले बि्रफिङ गर्छिन् ।

‘रातदिन खटेका कारण मधु म्याडम पनि विरामी पर्नुहोला जस्तो भैसक्यो । यही कारण आजभोलि उहाँलाई पनि धेरै व्यक्तिसँग भेटघाट नगर्न चिकित्सकहरुले सल्लाह दिएका छन्,’ प्रशासन प्रमुख विद्याकर भन्छन्, ‘आवश्यक पर्दा चिकित्सकहरुले नै प्रेस बि्रफिङ गरिरहेका छन् ।’

डा. देवकोटालाई भेट्न पूर्वमन्त्री प्रदीप नेपाल, अमरराज कैनी, तारानाथ रानाभाट बेला बेलामा आउने गरेका छन् । यी तीनजना नेताको संगीन उपचार यिनै डाक्टरले गरेका थिए । यी तीनवटै राजनीतिक परिवारका कोही न कोही डा. देवकोटासँग भेट्ने आशाले आइरहेका हुन्छन् । आइतबार अस्पताल परिसरमा भेटिएकी पूर्व उद्योगमन्त्री अमरराज कैनीकी जीवन संगीनी तथा लेखिका प्रभा कैनी भन्दै थिइन्, ‘उहाँ नहुनु भएको भए आज अमरजीको अवस्था के हुन्थ्यो भन्न सक्तिन । रोगी देख्ने बित्तिकै उसलाई के भएको भन्ने पत्ता लगाउने अनौठो क्षमता उहाँमा छ । मेरो श्रीमानलाई हेर्ने बित्तिकै उहाँलाई जापानिज इन्सेफ्लाइटिस भएको उहाँले नै पत्ता लगाउनु भएको हो । जबकी यो उहाँको विषय थिएन ।’

डा. देवकोटालाई भेटेर शुभेच्छाको शब्द लेख्ने व्यक्तिहरुको भीड अस्पताल परिसरमा उस्तै छ । यस्ता पुस्तिकामा लेखिएका शब्दहरुलाई अस्पतालले बेला बेलामा सार्वजनिक पनि गरिरहेको छ । आइतबार गम्भीर भएर पुस्तिकामा शुभेच्छा लेखिरहेका भेटिए, पूर्व एआइजी केशबहादुर शाही । केशबहादुर तिनै व्यक्ति हुन्, जो २०६७ सालमा डीआइजी भएका बखत माओवादी सेना समायोजना सचिवालयका सुरक्षा प्रमुख  थिए ।

सफलतापूर्वक सेना समायोजना भएपछि एआईजीमा बढुवा भएका शाही २०६९ साल मंसिर ३ गते अचानक बेहोस भए । उनलाई मुटुको समस्या भएको अनुमान गरेर गंगालाल हृदयरोग केन्द्र लगिएको थियो तर ब्रेन ट्युमर भएको पत्ता लाग्यो । सरकारले विदेशमा लगेर उपचार गर्ने प्रस्ताव गर्दा डा. देवकोटाले नै उनलाई विदेश जानु नपर्ने विश्वास दिलाएका थिए ।

‘मैले उपचारका लागि सरकारी खर्चमा विदेश नजाने निर्णय लिएपछि डा. देवकोटा निकै खुशी हुनु भयो र मेरा लागि निकै मेहेनत गर्नुभयो । आज उहाँकै विश्वास र उपचारका कारण जिवित छु,’ शाही भन्छन्, ‘उहाँ विश्वले मानेको डाक्टर भए पनि कतिपय विदेश जान खोज्थे । त्यसमा उहाँ चिन्तित हुनुहुन्थ्यो । मैले गम्भीर रोगको उपचार पनि स्वदेशमै गर्ने इच्छा देखाएपछि उहाँसँग मेरो गहिरो मित्रता भएको थियो ।’

साँझ पर्दै गएपछि डा. देवकोटालाई ह्वील चेयरमा राखेर चिसो हावामा बाहिर घुमाइयो । यो बेला  उनलाई परैबाट हेर्न तछाडमाछाड चल्यो । यो क्रम राति अबेरसम्म जारी थियो । जब उनलाई सुत्ने व्यवस्था मिलाइयो, अस्पताल परिसर क्रमशः खाली हुँदै गयो ।

‘यो क्रम भोलि पनि जारी रहन्छ । किनभने डा. देवकोटा आफैले आफूलाई उपचार हुन नसक्ने रोग लागेको बताउनुभएका कारण सबैलाई अनिष्टको डर लागिरहेको छ ।’ आफ्नो नाम उल्लेख नगरिदिने सर्तमा एकजना न्युरो सर्जनले भने, ‘तर उहाँले आफ्नो सीप र ज्ञान मात्रै होइन, राष्ट्रिय सोच पनि हामीलाई हस्तान्तरण गरिसक्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment