बिहीबार, ३१ साउन, २०७५
OnlineKhabar.com
Suzuki

एक निर्दयी पुरुष-जसले श्रीमती र नाबालक छोरालाई २ लाख भारुमा बेचे !

Suzuki
अनलाइनखबर

पतिबाट बेचिएकी दैलेखकी किशोरी

२९ जेठ, काठमाडौं । तीन वर्षअघि बुवा, आमा र दाइलाई झुक्याएर प्रेमीसँग भाग्दा दैलेखकी निता अधिकारी (नाम परिवर्तन)सँग अनगिन्ति सपनाका पोका थिए । तर तीनै प्रेमीले बेहुली बनाएर छोरो पनि जन्माएपछि झुक्याएर बैंगलोरका व्यापारीलाई पशुसरी बेचिदिए ।

आफ्नै पतिबाट नाबालक छोरासहित बैंगलोरमा २ लाख २० हजारमा बेचिएकी सीता अनेक जुक्ति लगाएर भाग्न सफल भइन् र उनलाई उद्दारपछि शक्ति समूहको कार्यालय काठमाडौंमा ल्याइएको छ । तर अबला पत्नी र नाबालक छोरालाई बेचेको अभियोग लागेका टेकराज पुरी भने फरार छन् ।

दैलेखको भैरवी गाउँपालिकाका टेकराज पुरी र निताले तीन वर्षअघि भागी बिहे गरेका थिए । बिहे गर्दा नीता १६ वर्षकी र टेकराज १९ वर्षका थिए । भारततिर लाहुर आउने जाने गरेका टेकराजले भागौं भनेपछि गाउँकै विद्यालयमा १० कक्षामा पढ्दापढ्दै उनी बिहे गर्न राजी भएकी थिइन् ।

बिहेपछि छोरा जन्मियो । घरमा बुवाआमासँग कुरा मिलेन भन्दै एक वर्षअघि टेकराजले स्थानीय चुनावलगत्तै नितालाई हिमाचलतिर जाउँ भने । उतै काम गर्ने र जीवन बिताउने भनेर हिँडेको जोडी हिमाचलको सिमलामा ६ महिना पनि टिक्न सकेन ।

टेकराजले बैंगलोरमा गए राम्रो काम पाइन्छ भन्दै उतै जाउँ भने । जन्मदिने आमा बाबुभन्दा बढी विश्वास गरेको मान्छेबाट घात हुन्छ भन्ने उनले सोच्ने कुरा पनि भएन । तर नसोचेको भइदियो, बैंगलोरमा उनी आफ्नै पतिबाट बेचिइन् त्यो पनि नाबालक छोरासहित ।

आफ्नै पतिबाट बेचिएकी निताको कथा उनकै शब्दमा प्रस्तुत गर्नुअघि यति प्रष्ट पारौं कि, यो मानव बेचबिखनको शैली फरक देखिएको छ । प्रायः भारतमा नेपाली चेलीलाई कोठीमा बेचिन्छ तर सीतालाई भने प्लास्टिक कम्पनीका ठेकेदारलाई बेचियो ।

उनलाई यौन शोषणभन्दा पनि बँधुवा मजदुरका रुपमा श्रम शोषण गर्ने अखडामा बेचिएको थियो । निकै चलाखीपूर्ण तरिका अपनाएर निता आफूलाई बन्धक बनाइएको ठाउँबाट लखनउ हुँदै नेपालगन्ज आइपुगिन् ।

श्रीमानबाट प्लास्टिक उद्योगमा बेचिएकी नितालाई सरकारी च्यानलबाट उद्दार गर्न समय लाग्ने र उनले आफन्तसँग कुरा गरेको कम्पनी मालिकले थाहा पाइसकेकाले उनको ज्यानमाथि खतरा हुने देखेर अनौपचारिक बाटोमा उद्दार गरिएको हो ।

निताका आफन्तसमेत पर्ने भारतीय प्रहरीले व्यक्तिगत जोखिम मोलेर उनको उद्दार गरी ल्याइदिएका सामाजिक सेवा केन्द्र सोसेक दैलेखले जनाएको छ । अब उनलाई मनोसामाजिक परामर्शपछि उनको इच्छाअनुसार बेचबिखन गर्ने कथित पतिविरुद्ध उजुरी दर्ता गराइने शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले बताएकी छन् ।

नीताको कथा व्यथाः उनकै शब्दमा

शक्ति समूहकी सुनिता दनुवारसँग कुरा गर्दै पीडित किशोरी (वायाँ)

बिहे गरेको एक वर्ष नपुग्दै छोरा जन्मियो । १० कक्षा पढ्दापढ्दै बिहे भएपछि पढाई पनि रोकियो । घरमा उनको आमाबुवासँग खटपट भइरहन्थ्यो । पोहोरसाल उनैले घरमा आमाबुवासँग मिल्न सकिएन बरु जाउँ भारततिर काम गरौं भने । मैले पनि श्रीमानसँगै जान पाउने भएपछि हुन्छ भनेँ ।

दैलेखबाट सिमला पुगियो । त्यहाँ स्याउ बगानमा काम थियो । दुवैजनाले काम गरेकै हो । तर ६ महिनापछि उनले यहाँ होइन, अब बैंगलोर जानुपर्छ भने । उनी पहिले पनि भारतमा पटकपटक काम गर्न आउने गरेकाले उनलाई कामको बारेमा जानकारी होला भन्ने लाग्यो ।

आधार कार्ड बनाउने बहानामा बेचिदियो

बिरानो ठाउँमा श्रीमानले जता भन्छन् उतै जानुको विकल्प अरु थिएन । बैंगलोर पुगेपछि आइकन भन्ने कम्पनीमा काम पाइयो । म दिउँसो काम गर्थें, उनी राति काम गर्थे । तीन महिनाअघि अघि उनले एक दिन आज आधार कार्ड बनाउन जानुपर्छ भने । आधार कार्ड भएपछि भारतीय नागरिक सरहको सुबिधा पाइन्छ ।

शुरुमा उनले सँगै जाउँ भनेका थिए तर पछि हामीसँगै काम गर्ने आसामकी एकजना दिदीले मलाई कोठामा जाऊ, हामी आधार कार्ड बनाएर आउँछौं भनिन् । श्रीमानले पनि छोरा लिएर कोठामा जाउ भनेपछि मैले हुन्छ भनेँ ।

उनीहरु हिँडेपछि म अटोमा चढें । तर अटोवालाले केही अगाडि बढ्नासाथ मेरो अटो खराब भयो तिमी जाऊ भन्यो । उसको व्यवहार अस्वाभाविक थियो । सायद यो सबै प्लानिङमा भइरहेको थियो ।

अटोबाट निस्कदै थिएँ, एउटा गाडीमा आएका तीन-चारजना मान्छेले मलाई रोके । उनीहरुले मुखमा मास्क पनि लगाएका थिए । तेरो श्रीमान खोइ ? भन्दै सोधे । मैले आउँदै हुनुहुन्छ भन्दा उनीहरुले, ऊ आधार कार्ड बनाउन गएको हो । हामी पनि उसकै मान्छे हौं भन्दै गाडीमा बसाउन लागे ।

२ लाख २० हजारमा बेचिएछु

मैले नचिनेको मान्छेसँग जान्नँ भनेपछि गलफत्ती भयो । गाडीमा बस्ने कि नबस्ने भनेर धम्की दिन थाले । उनीहरु अन्तिममा तँलाई हामीले २ लाख २० हजारमा किनेको हो । तेरो श्रीमानले पैसा बुझेको फोटो पनि छ भन्दै देखाए । उनीहरुको हातबाट पैसा बुझेको फोटो रहेछ । मैले आफ्नै श्रीमानबाट बेचिएको थाहा पाएँ र भाग्न खोजेँ ।

तर उनीहरुले मलाई के हो कुन्नि सुँघाए, त्यसपछि मलाई केही थाहा भएन । तीन घण्टापछि म एउटा मेडिकलमा थिएँ । मैले मेरो छोरो खोजेँ । म कहाँ छु भनेर सोधेँ ? त्यहाँ दुई-तीनजना केटी थिए । उनीहरुले तिमीलाई कम्पनीको साहुले किनेर ल्याएको हो, अब हामीसँगै बस्नुपर्छ भने ।

मैले मेरो श्रीमान भेटाइदेऊ भनेँ । तर उनीहरुले अब तिम्रो श्रीमान भेटिँदैन भन्दै आफ्नो कोठामा लगे । केही दिनसम्म खाना खाइनँ । कम्पनीको मान्छे आएर खाना नखाने भए जंगलमा लगेर काटेर फालिदिन्छौं भनेर धम्की दिए । ज्यानको माया भए खाना खाएर खुरुखुरु काम गर भने ।

बँधुवा मजदुर बनाए

दुई हप्तापछि म बाध्य भएर प्लास्टिकको काम गर्न थालेँ । प्लास्टिक काट्ने र मेसिनमा राख्ने जोखिमपूर्ण काम थियो । म जस्तै त्यहाँ काम गर्ने अधिकांश महिला र पुरुष बेचिएरै आएका रहेछन् । हामीलाई त्यो कम्पनीको गेटबाट बाहिर निस्कने अनुमति थिएन । बँधुवा मजदुरका रुपमा काम लगाउँथे ।

त्यहाँ काम गर्नेमध्ये नेपाली ममात्रै थिएँ । मेरो बच्चा हेर्ने एकजना दिदी थिइन् । उमेर पाको भइसकेकी ती दिदीले भनेअनुसार उनलाई पनि सानैमा यहाँ बेचिएको थियो । त्यसपछि उनी बाहिर जान पाइनन् । यहाँ तीन वर्षभन्दा बढीका बच्चालाई राख्दैनन्, अन्तै लगेर बेच्छन् भन्ने कुरा पनि आयो ।

मेरो छोरा दुई वर्षको मात्र छ । अब तीन वर्षपछि यहाँबाट लैजान्छन् भनेपछि मेरो मनमा कसरी भाग्ने र छोरो जोगाउने भन्ने चिन्तामात्र बढ्यो । यसअघि अरुका बच्चा पनि यसैगरी लगेर कहिल्यै फिर्ता ल्याएनन् भन्ने सुनेँ । अब तेरो छोरासँग बस्ने एक वर्षमात्र हो भनेर मलाई सुनाउन थाले ।

फेसबुक खोलेर दाइसँग सम्पर्क

मैले एकदिन अर्को साथीको मोबाइलबाट लुकेर फेसबुक खोलेँ । त्यहाँबाट दाइको नम्बर मागेँ । मैले दाइलाई फोन गरेर सबै कुरा बताएँ । यसबीचमा मोबाइल पनि चलाएँ । तर यो कुरा थाहा पाएपछि मलाई यातना दिए । कसैले भनेछन्-यसले फोनबाट घरमा कुरा गरेको हुनुपर्छ ।

मलाई त्यसपछि झनै कडाइ गर्न थाले । यसैगरी २ महिनाभन्दा बढी बित्यो । उनीहरुले बँधुवा मजदुरको रुपमा काम लगाउने बाहेक अरु कुनै यौनशोषण चाहिँ गरेनन् । केही दिनअघि मैले मामा नाता पर्ने लखनउ पुलिसमा काम गर्ने आफन्तको नम्बर भेटेँ । उहाँलाई फोन गरेर सबै जानकारी गराएँ ।

उहाँका जेठान र जेठीसासु बैंगलोर आएका रहेछन् । उनीहरुलाई मेरोबारेमा जानकारी गराएपछि उनीहरुसँग सम्पर्क भयो फोनमा । म त्यो घरबाट बाहिर निस्कन पाउने अवस्था थिएन । उनीहरुले सबै ठेगाना पाएपछि घरबाहिर गाडीमा आउनु हामी लिएर भगाउँछौं भने ।

अनि यसरी भागेँ

सबै योजना बनाएपछि मैले आफू विरामी परेको बहाना बनाएर छोरो खेलाउँदै कम्पाउण्डमा निस्किएँ । गेटपालेहरु भएकै ठाउँबाट छोरो खेलाउँदै बाहिर आएको गाडीमा चढीहालेँ । मलाई उनीहरुले समाउन खोजे । तर गाडी अघि बढ्यो । हाम्रो गाडीलाई अरु दुई वटा गाडीमा १० जनाभन्दा बढी अग्ला मोटा मान्छेले पछ्याइरहेका थिए ।

करीव ५० किलोमिटर टाढा जस्तो एउटा होटलमा लगेर उहाँहरुले मलाई दुई दिन लुकाउनुभयो । त्यसपछि लखनउसम्म ल्याइदिनुभयो । लखनउमा सोशेक संस्थाले मेरो जिम्मा लिएर अहिले काठमाडौं आइपुगेकी छु । अब म कानुनी लडाइँ लड्छु । मलाई त बेच्यो, मजस्ता अरुलाई नबेचोस् भनेर मैले यो कुरा बाहिर ल्याउन चाहेकी हुँ ।

उसले यसबीचमा मलाई भारतमा पटकपटक तँ जस्ता म कति पाउँछु, फर्केर गइहाल भन्थ्यो । तर मैले सामान्य रुपमा लिएकी थिएँ । छोरा पनि मेरो होइन भन्थ्यो । अहिले सोच्दा उसले योजनाबद्ध रुपमै गरेको रहेछ । म आफ्नै पतिबाट बेचिएँ, भाग्यले बाँचेर फर्किएँ । अब उसकैविरुद्ध लडाइ लड्नु छ । मलाई न्याय चाहियो ।

२०७५ जेठ २९ गते १७:१८ मा प्रकाशित (२०७५ जेठ ३० गते ८:५४मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७ प्रतिकृयाहरू प्राप्त
  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७५ जेठ २९ गते १२:२९

    MRITYU-DANDA ko kanoon banau, Nepal Government.

    47
    2
    Share

  • Ganga Paudel लेख्नुहुन्छ    |   २०७५ जेठ २९ गते १३:०४

    Dekhaoti rup ma karbahi nagari kada vanda kada karbahi garnu parcha. xodnu hudai NEPAL SARKAR

    13
    0
    Share

  • BALLAV लेख्नुहुन्छ    |   २०७५ जेठ २९ गते १३:२७

    Indian Government ???????????????????????????????????????????????????

    6
    0
    Share

  • raj लेख्नुहुन्छ    |   २०७५ जेठ २९ गते २२:४६

    टेकराजको दशा शुरु भो धोतिको दुइलाख बीस हजार डुब्यो । हा हा हा

    0
    0
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते ६:४३

    टुडिखेलमा लगेर ढुङगाले हानेर छाति चिरेर नुन र चुक हाल्दिदा पनि त्येा नरपिचासलाइ सजाय कम हुन्छ । यति सम्म पनि गिर्देा रहेछ मुन्छे ।

    0
    0
    Share

  • geeta लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १०:४९

    यस्तालाई त मृत्युदण्ड नै दिनुपर्छ सरकार सोहि बमोजमको कानंन चाहियो सरकार

    0
    0
    Share

  • aakash लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १२:४८

    goli thokera marnu parcha

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this