Comments Add Comment

ट्रम्प- किम वार्ताबारे अन्तर्राष्ट्रिय मिडियाको विश्लेषण

बीबीसीदेखि न्युयोर्क टाइम्ससम्म कसले के भने ?

२९ जेठ, काठमाडौं । सिंगापुरमा सम्पन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनवीचको भेटवार्तासम्बन्धी समाचार मंगलबार संसारभरिका मिडियामा ‘हटकेक’ बन्यो ।

यो ऐतिहासिक भेटवार्ताबारे संसारका चर्चित मिडियाले सूचना र समाचारमात्रै सम्प्रेषण गरेनन्, विश्व राजनीतिमा यसको ऐतिहासिक महत्व र प्रभावका विषयमा विश्लेषणहरु समेत पस्कने काम गरे ।

ट्रम्प र किमवीचको भेटवार्ताबारे विश्वका चर्चित मिडियामा आएका केही विश्लेषणहरुको सारांश हामीले यहाँ प्रस्तुत गरेका छौं ।

न्युयोर्क टाइम्समा डेभिड ई. स्याङ्गर र चोई साङ हुनले संयुक्तरुपमा समाचार विश्लेषण गर्दै यस्तो लेखेका छन्ः

राष्ट्रपति ट्रम्पले १९८० को मध्य दशकदेखि उच्चस्तरीय आणविक वार्ताको केन्द्रमा आफू रहेको कल्पना गरेका थिए, उनले असफल भए पनि रेगन प्रशासनलाई यसका लागि न्युयोर्कको रियलस्टेट डिलरले सोभियत संघसँग हतियार नियन्त्रण वार्ताको नेतृत्व गर्न खोज्नु परेको बुझाउन खोजेका थिए ।

तर, अहिले ट्रम्प आफैले एक आणविक वार्ता सफल गरेका छन् । रुसीसँग होइन तर, आफूभन्दा आधा उमेरका अस्थिर र तानाशाह नेता उत्तर कोरियाली नेता किमजोङ उनसँग ।

अहिले ट्रम्पका लागि उब्जने प्रश्न किम आणविक हतियार भन्दा पनि आर्थिक विकास चाहन्छन् भन्ने किमको दाबी सही छ कि छैन भन्ने हो । सिंगापुर वार्ताको नतिजा जे आए पनि किमले अहिले नै धेरै कुरा जितिसकेका छन् । उनी अमेरिकी राष्ट्रपतिसँग वार्ता गर्ने पहिलो उत्तर कोरियाली नेता बनेका छन् । किमले आफ्ना जनतालाई उनी एक अमेरिकीहरुले मान्नुपर्ने एक शक्ति भएको देखाएका छन् । अहिलेका लागि यो पनि धेरै नै हुन सक्छ ।

त्यस्तै बीबीसीमा सिंगापुर संवाददाता लाउरा बिक्करको विश्लेषण यस्तो छः

दुई देशका झण्डाहरु सँगसँगै राखिएका थिए । हृयान्डसेक सावधानीपूर्ण गरिएको थियो । जसरी यो कुनै अरु देशसँग भएको होस् । तर, उत्तर कोरिया कुनै अर्को देश होइन । यो अझै पनि रहस्यमयी रहेको छ र यसका हतियारहरु लुकाइएका छन् । यसका निर्वाचनविना छानिएका नेतामाथि आफ्ना जनतालाई अत्याचार गरेको आरोप लागिरहन्छ ।

दक्षिण कोरियालीहरुका लागि डोनाल्ड ट्रम्प र किम जोङ उनले हात मिलाएको देख्न पाउनु धेरै आश्चर्यजनक क्षण थियो । उनीहरुले दशकौंदेखिको तनाव र विभाजन खपेका थिए र यी दुवै नेता गत वर्ष युद्धको नजिकै पुगेका थिए ।

किमले अझै पनि परमाणु कार्यक्रम त्याग्ने प्रतिवद्धता गर्न बाँकी नै छ । उनले आफूले चाहेको कुरा पाएका छन् । उनले आणविक हतियार बनाएका थिए, त्यसैले उनले अमेरिकी राष्ट्रपतिसँग वार्ता गर्न पाए । यसले उनको सत्तालाई वैधानिकता दिनेछ । यो धेरै नै बलियो सुरुवात हो । तर, अझै धेरै चुनौतीहरु बाँकी नै छन् ।

यसैगरी दी वाशिंङटन पोस्टमा फिलिप्स रकर र एन्नी गेरनको विश्लेषणको सार यस्तो छः

पाँच महिना अगाडि ट्रम्पले उनको सबैभन्दा ठूलो घरेलु मञ्चमा स्टेट अफ युनियनको वाषिर्क सम्बोधनमा किमको मानवअधिकार विरोधी कार्यको विरोध गरेका थिए । समारोहमा अध्ययन भ्रमणका क्रममा उत्तर कोरियामा पक्राउ परेका युनिभर्सिटी अफ भर्जिनियाका विद्यार्थी ओट्टो वार्मबियरका आमाबुबालाई अतिथिको रुपमा निम्त्याइएको थियो ।

ओट्टोलाई उत्तर कोरिया विरुद्ध अपराध गरेको आरोपमा श्रमशिविरमा राखिएको थियो । उनी सख्त घाइते भएका थिए र अमेरिका फर्केको केही दिनमै उनको मृत्यु भएको थियो ।

गत वर्ष किमविरुद्ध आगो ओकल्दै आक्रमणको चुनौती दिने ट्रम्प किमप्रति केही महिना यता नरम बनेका छन् र उनको प्रशंसा गर्दै आएका छन् । उनले किमलाई अमेरिका भ्रमणका लागि पनि निमन्त्रणा गर्ने सम्भावना रहेको छ ।

ट्रम्पले सिंगापुरबाट विश्व मञ्चमा आफ्नो छवि प्रदर्शनका लागि संकल्प गरेका थिए । निशस्त्रीकरणको सम्झौताका लागि अतिरिक्त थप वार्ताहरु र अन्य कुराकानी आवश्यक हुन सक्ने भए पनि ट्रम्पले किमसँग वार्ताका लागि यहाँ आउने उत्साह व्यक्त गरे, जसलाई उनले ‘अज्ञात क्षेत्र’ भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment