Comments Add Comment

छापामा आजः वचन पूरा नगर्ने मेलम्ची ठेकेदारको म्याद ७ महिना थप


३० जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटवार्ता परेको छ । पत्रपत्रिकाहरुले विविध शीर्षक दिएर यो समाचारलाई पहिलो पृष्ठमा ‘कभरेज’ गरेका छन् ।

कान्तिपुर दैनिकले उत्तरकोरियाली नेता उनले कोरियाली प्रायद्वीपलाई पूर्णरुपमा परमाणु अस्त्रविहीन बनाउन सहमत भएको लेखेको छ भने नागरिकले ‘अमेरिका–उत्तर कोरिया सम्बन्ध नयाँ युगमा’ शीर्षक दिएर मुख्य समाचार छापेको छ । अन्नपूर्णले दुईबीचको भेट र सहमतिलाई विश्व शान्तिमा ऐतिहासिक कदम भनेको छ । नयाँ पत्रिकाकाे विश्लेषण भने सम्बन्धमा नयाँ अध्याय थपिएको भन्ने छ ।

अन्तर्राष्ट्रिय समाचारलाई पहिलो प्राथमिकतामा राखेका पत्रपत्रिकाहरुले राष्ट्रिय समाचारहरुलाई पनि समेटेका छन् । खासगरी प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस भएको, मेलम्ची ठेकेदारको म्याद सात महिना थपिएको, दूधमा युरिया र नुन भेटिएको लगायत खबर महत्त्वका साथ छापिएका छन् ।

मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो

गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौता अनुसार तोकिएको काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्न देशभरबाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ ।

आयोजनाले ठेकेदारको म्याद थप्ने मात्र होइन, उसको दाबीअनुसार क्षतिपूर्ति दिने तयारी पनि गरेको छ ।

नागरिक दैनिकका अनुसार, भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्टिस्टी (सीएमसी) ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो । सोही दाबीअनुसार आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले छलफल थालेको थियो । समाचार अनुसार छलफलपछि समितिले मंगलबार ठेकेदारको म्याद थप र क्षतिपूर्ति भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको उच्च स्रोतको दाबी छ ।

संसदको १५ समिति सभापतिमा नेकपाको नेतृत्व

प्रतिनिधिसभा र राष्ट्रियसभामा गठन हुने १५ वटा समितिका सभापति नेपाल कम्युनिस्ट पार्टीले नै नेतृत्व गर्न पाउने भएको छ ।

सार्वजनिक लेखा समितिबाहेक अन्य सबै समितिमा नेकपाले सभापति पाउने छ । तर प्रत्येक समितिमा नेकपाको बहुमत पुग्ने भएपछि सहमतिको आधारमा कुनै दललाई सभापति दिन सक्ने एमाले नेता भानुभक्त ढकालले नागरिकसँग बताएका छन् ।

सशस्त्र प्रहरी अब ७७ वटै जिल्लामा


अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बलको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ ।

नागरिक दैनिकका अनुसार, गृह मन्त्रालयले सोमबार केन्द्रीय सरकारको प्रतिनिधित्व गर्दै सबै जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति रहने गरी सशस्त्र मुख्यालयलाई व्यवस्थापन गर्न निर्देशन दिएपछि सोहीअनुसार तयारी सुरु गरेको छ ।

चिकित्सा शिक्षामा अब एउटै क्यालेन्डर

चिकित्सा शिक्षामा बेथिती र भ्रष्टाचार बढेपछि सरकारले चिकित्सा कार्यक्रम सञ्चालन गर्ने सबै शैक्षिक संस्थाले एकै क्यालेन्डर सञ्चालन गर्नुपर्ने नियम बनाएको कारोबारमा खबर छ ।

हालसम्म चिकित्सा शिक्षाको प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा, नतिजा र प्रकाशनलगायतका कार्यहरु आफूअनुकुल गर्दै आएका सबै विश्वविद्यालय तथा प्रतिष्ठानले एकै क्यालेन्डरका आधारमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।

कारोबार लेख्छ– प्रवेश तथा अन्तिम परीक्षामा अनियमितता, शुल्कलगायतका विषयमा विवाद आएपछि सबैका लागि एकीकृत क्यालेन्डर लागू गरिएको हो ।

आँखा शल्यक्रिया गर्न जहाज चढेर नेपालमा

अन्नपूर्ण पोस्ट दैनिकले आँखाको शल्यक्रिया गर्न जहाज चढेर विदेशी नेपाल आएको समाचार छापेको छ ।

अन्नपूर्ण लेख्छ– सामान्य रोगको उपचार वा अप्रेसनका लागि पनि विदेश जाने प्रवृत्ति बढिरहेका बेला आँखाको शल्यक्रिया गर्न भने नेपाल विदेशीका लागि पनि सस्तो र भरपर्दो गन्तव्य बनेको छ ।

मोतियाविन्दु होस् वा खस्रे रोग अहिले नेपालमा आँखाको उपचार सुलभ देखेर विदेशबाट आउनेको संख्या बढ्दै गएको छ । गत वर्ष खस्रे रोगको ३० हजार बिरामीको शल्यक्रिया गरिएकोमा २० हजार भारतीय भएको नेपाल नेत्रज्योति संघको भनाइ छ ।

सुनकाण्डमा संलग्न प्रहरी अख्तियारको छानबिनमा


साढे ३३ किलो सुन काण्डमा मुछिएका प्रहरी अधिकृतहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । आयोगले उनीहरुमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन अघि बढाएको नयाँ पत्रिकामा खबर छ ।

पूर्वडीआईजी गोविन्द निरौला, एसएसपीद्वय दिवेश लोहनी र श्याम खत्री, डीएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेलविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन अभियोगमा छानबिन शुरु भएको अख्तियारले बताएको छ । उनीहरुविरुद्ध आयोगमा विभिन्न व्यक्तिबाट उजुरी दर्ता हुनुका साथै सरकारी वकिलको कार्यालय मोरङबाट छानबिन गर्न आग्रह गरेको अख्तियारले जनाएको छ ।

नेकपाले अब महादेशीय प्रशिक्षण गर्ने

नेकपाले नेपालमा एसिया महादेशीय कम्युनिस्ट प्रशिक्षण स्कुल चलाउने भएको छ । नेकपाले मदन भण्डारी एसियन स्कुल अफ माक्सिर्जम नाममा स्कुल सञ्चालन गर्न लागेको अन्नपूर्णमा समाचार छ ।

साम्राज्यवादविरोधी माक्र्सवादी कम्युनिस्ट पार्टीहरुले हरेक महादेशमा यस्तो स्कुल चलाउँदै आएका छन् । युरोपमा स्पेन, अफ्रिकामा ट्युनिसिया र जाम्बियामा यस्तो स्कुल सञ्चालन हुँदै आएको छ । अन्नपूर्णका अनुसार एसियामा भने नेपालले तयारी थालेको हो ।

हेर्नुहाेस् पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment