Comments Add Comment

विश्वकप समूह एचः सबै टिम उस्तै

विश्वकप फुटबलको समूह ‘एच’ मा युरोपको पोल्याण्ड, दक्षिणी अमेरिकाको कोलम्बिया, अफ्रिकाको सेनेगल र एसियाको जापान रहेका छन् । यो समूहबाट अघिल्लो चरणमा जाने टोलीको अनुमान गर्न कठीन छ ।

पोल्याण्ड

फिफा वरियतामा १० औँ स्थानमा रहेको पोल्याण्डले यसअघि सात वटा विश्वकप खेलिसकेको छ ।

सन् १९३८ मा पहिलोपटक विश्वकप खेलेको पोल्याण्ड १९७४ र १९८२ मा तेस्रो भएको थियो । सन् १९८६ मा अन्तिम १६ मा पुगेको पोल्याण्ड तीन पटक समूह चरणबाटै बाहिरिएको थियो ।

पोल्याण्डले पछिल्लो पटक २००२ र २००६ मा विश्वकप खेलेको थियो । दुवै समय समूह चरणबाटै बाहिरिएको पोल्याण्ड १२ वर्षपछि नयाँ लयमा देखिएको छ ।

२०१६ को युरो कपमा क्वाटरफाइनलसम्म पुगेको पोल्याण्डमा रोबर्ट लेवान्डोस्की जस्ता स्टार खेलाडी सँगै नयाँ खेलाडीहरु पनि टोलीमा परेका छन् । युरो क्वाटरफाइनलमा पोर्चुगलसँग टाइब्रेकरमा पराजित भएको पोल्याण्ड टोली बलियो देखिन्छ । विश्वकप छनोटको खेलमा डिफेन्स लाइनमा देखिएको कमजोरी पोल्याण्डले सुधारिसकेको छ ।

प्रमुख खेलाडी – रोबर्ट लेवान्डोस्की

पोल्याण्डका सर्वाधिक गोलकर्ता उनले विश्वकप छनोटमा युरोपबाट सबैभन्दा धेरै १६ गोल गरे । २००८ बाट पोल्याण्डको राष्ट्रिय टिममा रहेका उनले ९३ खेलमा ५२ गोल गरीसकेका छन् ।

२०१० मा पेाल्याण्डकै क्लबबाट जर्मन क्लब बोरुसिया डर्टमुण्ड गएका उनले त्यसपछि अन्तर्राष्ट्रिय फुटबलमा प्रभाव पार्न थाले । सन् २०१४ देखि जर्मन क्लब बायर्न म्युुनिखमा रहेका उनले बायर्नबाट खेलेका १२६ खेलमा १०६ गोल गरेका छन् ।

कप्तान लेवान्डोस्की पोल्याण्डका लागि सम्हालिएर खेल्न सक्ने अनुभवी खेलाडी हुन् । पोल्याण्ड अघिल्लो चरणमा जान उनको खेल महत्वपूर्ण रहेको छ ।

प्रशिक्षक – एडम नवल्का

पोल्याण्डका उनी पूर्व फुटबलरसमेत हुन् । मिडफिल्डबाट खेल्ने उनले सन् १९७८ को विश्वकपमा राष्ट्रिय टिमबाट खेलेका थिए । उनी सन् २०१३ बाट पोल्याण्ड टिमको प्रशिक्षक हुन् । उनले काउन्टर अट्याकमा जाने शैली अपनाइरहेको पोल्याण्डको टिमलाई खेल होल्ड गर्दै बलमा नियन्त्रण गर्ने र क्रमिक आक्रमणमा बढ्ने शैलीमा लगेका छन् ।

कोलम्बिया

कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । यसपटक पनि त्यो सामाथ्र्य र लयमा कोलम्बियन टिम देखिन्छ ।

रोड्रिगेज, फाल्काओ जस्ता खेलाडी हुँदा हुँदै पनि कोलम्बियन टिम यस्तो टिम हो, जसलाई विश्वकपमा धेरैले मन पराउँदैनन् । २०१४ को विश्वकपमा ब्राजिलका नेमारविरुद्धको खराब ट्याकल, २०१७ को मैत्रीपूर्ण खेलमा दक्षिण कोरिया खेलाडीलाई मैदानमै जिस्काएर पाँच खेलको प्रतिबन्ध भोग्नु जस्ता घटनाले पनि कोलम्बियन टिम चर्चामा आइरहन्छ ।

मन पराउने र घृणा गर्नेहरुको बीचमा कोलम्बियन टिम जितको आधार भने खडा गर्छ । यसैले समूह ‘एच’ बाट अघिल्लो चरणमा जाने कोलम्बियाको सम्भावना बलियो छ ।

१९६२ मा पहिलोपटक विश्वकपमा सहभागी भएको कोलम्बियाको यो छैठौँ विश्वकप हो । कोलम्बियाले त्यसपछि १९९०, १९९४, १९९८ र २०१४ को विश्वकप खेलेको छ ।
गएको विश्वकपको क्वाटरफाइनलमा ब्राजिलसँग २-१ ले हारेको कोलम्बिया यो विश्वकपमा आˆनो प्रभाव बढाउन सक्षम छ ।

प्रमुख खेलाडी – हेमेस रोड्रिगेज

२०११ देखि राष्ट्रिय टिममा रहेका रोड्रिगेजले ६२ खेलमा २१ गोल गरेका छन् । क्लब फुटबलमा पोर्टो, मोनाको हुँदै रियल मडि्रडबाट लोनमा बायर्न म्युनिख गएका उनी २०१४ को ब्राजिल विश्वकपका सफल खेलाडी हुन् ।

त्यसबेला रोड्रिगेजकै उत्कृष्ट खेल शैलीको मद्धतमा कोलम्बिया क्वाटरफाइनलसम्म पुगेको थियो । ६ गोल गरेर ब्राजिल विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका उनको लय अहिलेसम्म पनि उस्तै देखिन्छ ।

प्रशिक्षक – जोस पेकरम्यान

२०१२ देखि कोलम्बियाको टिम सम्हालिरहेका अर्जेन्टिनाका जोस पेकरम्यान २०१४ मा कोलम्बियालाई विश्वकपमा छनोट गराएर क्वाटरफाइनलसम्म पुर्‍याएका कारण चर्चामा आएका थिए । यसपटक पनि उनले कोलम्बियन टिमसँग उत्कृष्ट तालमेल मिलाएका छन् ।

२००६ को विश्वकपमा अर्जेन्टिनाको राष्ट्रिय टिम सम्हालेका पेकरम्यान अनुभवी प्रशिक्षक हुन् । उनी १९८१ देखि फुटबल प्रशिक्षणमा छन् । उनले अर्जेन्टिनाको यू-२० टिमलाई तीन पटक यू-२० विश्वकपको उपाधि पनि जिताएका थिए ।

सेनेगल

फिफा वरियतामा २८ औँ स्थानमा रहेको सेनेगल आफ्नो दोस्रो विश्वकपमा सहभागी हुँदै छ । १२ पटक विश्वकप छनोटमा सहभागी भएको सेनेगलले यसअघि २००२ को विश्वकप खेलेको थियो ।

२००२ मा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई हराएर सनसनी मच्चाएको सेनेगलले समूह चरणमा डेनमार्क र उरुग्वेसँग बराबरी खेलेको थियो । अन्तिम १६ को खेलमा स्वीडेनलाई २-१ ले हराएको सेनेगल क्वाटरफाइनलमा टर्कीसँग १-० ले पराजित भएको थियो ।

विश्वकपको पहिलो सहभागितामै क्वाटरफाइनलसम्म पुगेको सेनेगेल यसपटक पनि त्यही लय फर्काउन सक्षम देखिन्छ ।

प्रमुख खेलाडी – सडियो माने

अफ्रिकन फुटबल इतिहासकै सबैभन्दा महंगा खेलाडीको कीर्तिमान बनाउँदै २०१६ मा ३४ मिलियन पाउण्डमा इंग्लिस क्लब साउथहृयाम्टनबाट लिभरपुल गएका मानेे आˆनो खेलशैलीका लागि चर्चित छन् । लिभरपुलमा जस्तै सेनेगलको राष्ट्रिय टिममा पनि तीब्रता, पास र बल बढाउने कौशलका कारण माने प्रमुख खेलाडी बनेका छन् । २०१२ देखि सेनेगलको राष्ट्रिय टिममा रहेका उनले ४९ खेलमा १४ गोल गरेका छन् ।

प्रशिक्षक – अलियु सिसे

२००२ को विश्वकपमा खेलाडीको रुपमा सहभागी भएका सेनेगलका अलियु सिसे यसपटक सन् २०१८ को विश्वकपमा प्रशिक्षकका रुपमा सहभागी हुँदै छन् । सेनेगलको राष्ट्रिय टिमबाट ३५ खेल खेलेका उनले २०१५ देखि राष्ट्रिय टिम सम्हालिरहेका छन् । त्यसअघि उनी २०१३ देखि ०१५ सम्म सेनेगल यु-२३ टोलीका प्रशिक्षक थिए । १६ वर्षपछि सेनेगललाई विश्वकपमा फर्काएका सिसेले टोलीसँगको तालमेलमा राम्रो प्रशिक्षण गरिरहेका छन् ।

जापान

जापानले १९९८ मा पहिलोपटक विश्वकप खेलेपछि लगातार सहभागिता जनाइरहेको छ । त्यसबेला समूह चरणबाटै बाहिरिएको जापान त्यसपछि २००२ मा अन्तिम १६ सम्म पुग्यो ।

२००६ मा समूह चरणबाटै बाहिरिएको जापान २०१० मा अन्तिम १६ मा पुगेको थियो । गएको ब्राजिल विश्वकप २०१४ मा पनि जापान समूह चरणबाटै बाहिरियो । समग्रमा जापानको विश्वकप सहभागिता सहभागितामात्रै बनिरहेको छ ।

जापानले विश्वकपमा खेलेका १७ खेलमा चार खेल जितेको छ । तीन खेल बराबरी गरेको छ । १० खेलमा पराजित भएको छ ।

यसपटक युरोपमा फुटबल खेल्ने केही अनुभवि खेलाडी रहेको जापान टिमले सम्झनलायक खेल प्रदर्शन गर्दै अघिल्लो चरणसम्म पुग्ने अनुमान गरिएको छ ।

प्रमुख खेलाडी – माया योसिदा

सभ्य र स्टाइलिस सेन्टर ब्याक खेलाडी हुन् माया योसिदा । उनको खेल मैदानमा प्रत्यक्ष गएर हेर्ने हुन् या टेलिभिजनको पर्दामा, विपक्षी नै भए पनि मोहित बनाइदिन्छन् । सन् २०१० देखि जापानको राष्ट्रिय टिममा रहेका योसिदा भरपर्दा खेलाडी हुन् । उनी २०१२ देखि इंग्लिस क्लब साउथहृयाम्टनमा व्यावसायिक फुटबलमा आबद्ध छन् ।

त्यसअघि उनी २००७ देखि २००९ सम्म जापानमा र २०१० देखि २०१२ सम्म नेदरल्याण्ड्समा क्लब फुटबल खेल्थे । राष्ट्रिय टिमबाट खेलेका ८० खेलमा उनले १० गोल पनि गरेका छन् ।

प्रशिक्षक – अकिरा निसिनो

अकिरा विश्वकपकै मुखमा २०१८ अपि्रलमा जापानी टिमको प्रशिक्षक नियुक्त भएका हुन् । जापानी राष्ट्रिय टिमका पूर्व मिडफिल्डरसमेत रहेका अकिराले आफूलाई जापानी टिममा विश्वास रहेको र रसियामा राम्रो खेल प्रदर्शन गर्ने बताएका थिए । निकै कम समय मात्र विश्वकप टोलीसँग रहेकाले उनलाई सहज भने छैन । उनले सन् १९७७ मा एक वर्ष जापानी टिमबाट १२ खेल खेलेका छन् । त्यसपछि १९९१ म्ा एक वर्ष जापानी यु-२० टोली र १९९४ देखि ०९६ सम्म यु-२३ टोलीमा मुख्य प्रशिक्षकको रुपमा काम गरेको अनुभव उनीसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment