Comments Add Comment

मकैको मौसमः भुटेको खाने कि पोलेको ?

‘खाए मकै नखाए भोकै’

यो उक्तिले नेपालको पहाडी भेगको त्यो समयअवधिको जीवनलाई दर्शाउँछ, जतिबेला आम पहाडियाहरूलाई ‘भात’ खान चाडपर्व वा तिथि सराद्ध कुर्नुपर्थ्यो वा पाहुना लाग्न जानुपर्थ्यो ।

वर्तमान फेरिएको छ । मकैले गरिबको खानाबाट फड्को मारेको छ । भुटेको मकै पपकर्नको स्वरूपमा फुत्रुक्क मेसिनबाट र्झछ, दामी रेष्टुरेन्टहरूको मेन्युमा आयातीत मकै विभिन्न पहिचान एवं स्वरूपमा आकर्षक प्लेटहरूमा सजिएर ग्राहकको मुखको स्वाद फेर्न तम्सन्छ । मकै अब राजसी खान्कीको कोटिमा पदार्पण गर्दै छ ।

मकैलाई पोलेर, भुटेर, उसिनेर तथा पिँधेर खान सकिन्छ । दूधे मकैको दूध निकालेर खीर बनाएर पनि खाइन्छ । मकैको परिकारलाई फलाहारी मानिन्छ तसर्थ चोखो खाँदा वा उपवास बस्दा समेत यसको प्रयोग हुन्छ । मकैलाई नेपालीहरूले वर्षौंदेखि विभिन्न तरिकाले सेवन गरिरहेका छन् ।

कुरा यति मात्र छैन । नेपाली मकैले सडक एवं सहरका गल्लीहरूमा बटुवाको जिब्रो रसाउन छाडेको छैन । मकै भुटेर तथा पोलेर जीविका चलाउनेहरू सहरको प्रदूषणमा थोरै योगदान दिँदै आफ्नो जीवनको सर्वस्व धानिरहेका छन् । त्यसैले त उनीहरू पोलेको मकै नुनखुर्सानीको स्वादमा डुबाएर चपाउँदै टहल्नुको मजा बटुवालाई दिँदै छन् ।

अहिले नेपाली जिब्रोसँग चिरपरिचित मकै वषर्ातको मौसममा हर्हराएको आँतसँग मितेरी गाँस्न सडक छेउछाउ मगमगाउँदै छ । यसको बास्नाले कतिलाई अतीतसम्म पुर्‍याउला, कतिलाई भोकको सम्झना गराउला अनि कतिलाई समय बिताउने मेलो पनि देला । कुरा जे भए पनि मकै नेपालीहरूको जिब्रोमा बसेको स्वादिष्ट खान्की भने पक्कै हो ।

मकै स्वादिष्ट मात्र होइन, स्वास्थ्यका दृष्टिले समेत लाभदायी छ । पोलेको मकैले मानव स्वास्थ्यमा थुप्रै फाइदा पुर्‍याउँछ । वषर्ाको यो मौसममा लिने होइन त मकैको मजा ?

मकैका फाइदा

-मकै चपाएर खाँदा दाँत बलियो हुन्छ ।

-मकै खाएपछि बाँकी रहने खोयालाई भाँचेर सुँघ्नाले रुघामा राहत मिल्छ ।

-मकैको खोयालाई सुकाउने । सुकेपछि पोलेर खरानी बनाउने । यसको खरानी नियमित मनतातो पानीसँग खाँदा साससम्बन्धी रोगमा लाभ मिल्छ । खोकीमा पनि राहत मिल्छ ।

-आयुर्वेदले मकैलाई तृप्तिदायक, वातकारक, कफ-पित्तनाशक, मधुर एवं रुचि उत्पादक अन्नको श्रेणीमा राखेको छ । मकैको महत्वपूर्ण विशेषता के छ भने पकाएपछि यसको पौष्टिकतामा थप वृद्धि हुन्छ । पोलेको मकैमा पाइने क्यारोटिनाइड भिटामिन ए को राम्रो स्रोत मानिन्छ ।

-मकैका परिकार पकाइसकेपछि त्यसमा हुने एन्टिअक्सिडेन्ट्स ५० प्रतिशतसम्म वृद्धि हुन्छ । यसले उमेर वृद्धिको लक्षण रोक्नुका साथै क्यान्सरसँग लड्नसमेत सहयोग गर्छ । पकाइएको मकैमा फोलिक एसिड हुन्छ जसले क्यान्सजस्ता रोगविरुद्ध लड्न सहयोग गर्छ ।

-मकैमा पर्याप्त मात्रामा खनिज तथा भिटामिन पाइन्छ । मकैलाई कोलेस्ट्रोल फाइटर मानिन्छ, यसकारण यो मुटुरोगीका लागिसमेत राम्रो मानिन्छ ।

-बालबालिकाको विकासका लागि मकै फाइदाजनक मानिन्छ । दूधे मकैका गेडालाई पिसेर सिसीमा भरी घाममा राख्ने । त्यसको दूधजति सुकेर उडेपछि तेल बाँकी रहन्छ जसलाई छोर एउा भाँडामा राख्ने । उक्त तेलले गोडा तथा पाइतालामा मालिस गर्दा गोडा बलियो हुन्छ र शिशु छिटै हिँड्न सुरु गर्छ ।

-मकैको यस्तो तेल पिउँदा शरीर शक्तिशाली हुन्छ । हरेक दिन एक चम्चा मकैको तेल सर्बतसँग मिसाएर पिउँदा बल बढ्छ ।

-ताजा मकैको गेडालाई पानीमा राम्रोसँग उमालेर त्यसलाई छानेर मिस्रीपानीमा मिसाएर पिउँदा पिसाब पोल्ने तथा मिर्गौलासम्बन्धी समस्या हटाउन सहयोग मिल्छ ।

-मकै क्षयरोगीहरूका लागि फाइदाजनक मानिन्छ । टिबीका रोगी तथा टिबी रोग लाग्ने आशंका भएकाहरूले नियमित मकैको रोटी सेवन गर्दा उपचारमा सहयोग पुग्छ ।

-मकैको जुँगा पत्थरीको समस्यामा उपयोगी हुन्छ । मकैको जुँगालाई रातभरि पानीमा भिजाई बिहान छानेर उक्त पानी पिउँदा वा त्यसलाई पानीमा उमालेर काढा बनाएर पिउँदा चमत्कारी फाइदा प्राप्त हुन्छ ।

-मकैको पिठोबाट बनेका परिकार कलेजोका लागि पनि राम्रो मानिन्छ । यसमा पर्याप्त फाइबर हुने भएकाले पेट सफा रहन्छ । कब्जियत, पायल्स एवं पेटको क्यान्सर हुने सम्भावना समाप्त हुन्छ ।

-मकैको पहेँलो गेडामा प्रशस्त मात्रामा म्याग्नेसियम, आइरन, कपर तथा फस्फोरस पाइन्छ जसले हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ । रक्तअल्पता हटाउन पनि मकैले सहयोग गर्छ किनभने यसमा भिटामिन बी तथा फोलिक एसिड हुन्छ ।

-छाला चिलाउने समस्यामा मकैको चिल्लोले राहत दिन्छ । साथै मकैको पिठो वा चिल्लोले अनुहर सफा गर्दा छाला मुलायम एवं सुन्दर बन्दछ ।

-मकैमा भिटामिन सी, क्यारोटिनाइड एवं बायोफ्रेलेवनाइड पाइने भएकाले मुटु रोगीका लागि फाइदाजनक हुन्छ । यसले कोलेस्ट्रोल घटाउनुका साथै रक्तसञ्चार सुचारु बनाउन सहयोग पुर्‍याउँछ ।

– फोलिक एसिडको राम्रो स्रोत भएकाले गर्भवतीहरूले मकैको परिकार नियमित सेवन गर्नु लाभदायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment