Comments Add Comment

ओलीलाई मिर्गौला दिने अन्जनाका पिताले पाए राज्यकोषबाट उपचार खर्च

स्वर्गीय खुमबहादुरदेखि शहीद पत्नीसम्मले पाए रकम, महन्थ ठाकुरले लिएनन्

प्रधानमन्त्री केपी शर्मा ओली

३० जेठ, काठमाडौं । उपचार खर्चका नाममा विशिष्ठ र पहुँचवाला व्यक्तिलाई राज्यकोषबाट रकम दिने प्रचलनलाई नेपाल कम्युनिस्ट पार्टीको सरकारले पनि निरन्तरता दिएको छ । सरकारी खर्च कटौति गर्ने राम्रो निर्णयबाट प्रशंसा बटुलेको सरकारले उपचार खर्चका नाममा राज्यकोष दोहन भने रोक्न नसकेको देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेयता उपचार खर्चका नाममा बिगतमा जस्तो धेरै व्यक्तिलाई मनपरी रकम वितरणमा रोक लागे पनि केही विशिष्ठ व्यक्तिलाई मन्त्रिपरिषदबाटै निर्णय गरेर दिइएको पाइएको छ ।

उपचार खर्च पाएकामध्ये कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का तथा नेकपा नेता तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको भने निधन भइसकेको छ । यद्यपि बिगतमा जस्तो निवेदनकै भरमा उपचार खर्च दिने प्रवृत्तिलाई भने सरकारले नियन्त्रण गर्न खोजेको छ ।

कम्युनिष्ट पार्टीको सरकार गठन भइसकेपछि राजपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेेस नेता स्वर्गीय खुमबहादुर खड्का, नेकपा नेता स्वर्गीय जागृत भेटवाल र नेकपाका नेता विश्वेश्वरा दाहाल तथा लव प्रधान मित्रलाई मन्त्रिपरिषदबाट निर्णय गरेर उपचार खर्च दिइएको छ ।

यद्यपि राजपा अध्यक्ष तथा पूर्वमन्त्री ठाकुरले भने राज्यकोषबाट दिने निर्णय भएको उपचार खर्च नलिएको स्रोतले जनाएको छ । दिल्लीको मेदान्त अस्पतालमा उपचार गराएका ठाकुरको हकमा सरकारले गत वैशाख ४ गतेको निर्णयअनुसार बिल बमोजिम भुक्तानी गर्न दिल्लीस्थित दूतावासलाई निर्देशन दिएको थियो ।

सरकारको निर्णयबारे जानकारी गराउन मेदान्त अस्पताल पुगेका कार्यवाहक राजदूत भरत रेग्मीले बिल बमोजिम भुक्तानी गर्ने जानकारी दिएका थिए । तर ठाकुरले उपचार खर्च लिन रुचि नदेखाएको र उनको उपचार खर्च अरु नै व्यक्तिले व्यहोरेको स्रोतले जनाएको छ ।

यद्यपि सरकारको निर्णयअनुसार बिल बमोजिम भुक्तानी गर्ने निर्णय भइसकेकाले ठाकुर परिवारले बिल पेश गरेमा सो रकम भुक्तानी हुनेछ ।

मन्त्रिपरिषदको चैत १४ गतेको बैठकबाटै खुमबहादुर खड्कालाई १५ लाख र जागृत भेटवाललाई पनि १५ लाख रुपैयाँ उपचार खर्च बापत दिने निर्णय भएको थियो ।

त्यस्तै चैत २४ गतेको मन्त्रिपरिषद बैठकले चितवनको भरतपुर-११ का बासिन्दा ध्रुव घिमिरेलाई उपचार खर्च बापत ७ लाख रुपैयाँ दिइएको छ । घिमिरे तीनै व्यक्ति हुन् जसकी छोरी अन्जनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मिर्गौला दिएकी थिइन् । ओलीको मिर्गौलाले काम नगरेपछि अन्जनाको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अन्जना नाताले ओलीकै भाइबुहारी पनि पर्छिन् । उनका पिता ध्रुव घिमिरे तत्कालिन एमालेका कार्यकर्ता हुन् । घिमिरेले आफूलाई ओलीसँग भेट गर्न नदिइएको र गुनासो नसुनेको भनेर पार्टीमा असन्तुष्टि जनाउने गरेका थिए ।

सरकारले नेकपाका पुराना नेता तथा विराटनगरका पूर्वमेयर लव प्रधानलाई ९ लाख रुपैयाँ र नेकपाकै पूर्वसांसद तथा शहीद रामनाथ दाहालकी पत्नी विश्वेश्वरा दाहाललाई उपचार खर्च बापत ७ लाख रुपैयाँ दिइएको छ । उनीहरु दुवैलाई वैशाख ११ को मन्त्रिपरिषद बैठकबाट उपचार खर्च दिने निर्णय भएको थियो ।

सरकारले उपचार खर्च दिएका व्यक्ति पटकपटक सांसद, मन्त्री वा राज्यका बिभिन्न पदमा पुगेका व्यक्ति नै हुने गरेका छन् । ओली नेतृत्वको सरकारले उपचार खर्च लगायत राज्यकोषबाट रकम बाँड्ने प्रचलन बन्द गर्ने भने पनि अझै केही व्यक्ति अपवादमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment