Comments Add Comment

बैंकले दिने कर्जाको ब्याजदर १६ प्रतिशत कट्छ, महंगी बढ्छ 

३० जेठ, काठमाडौं । बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याजदर १६ प्रतिशत कट्ने भएको छ । नेपाल बैंकर्स संघले मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने निर्णय फिर्ता लिएसँगै कर्जाको ब्याज बढ्ने भएको हो ।

लगानीयोग्य रकम (तरलता) अभाव भएपछि गत पुसमा बैंकहरुबीच उच्च ब्याजदरमा निक्षेप संकलन गर्ने होडबाजी चलेको थियो । त्यसलाई रोक्न नेपाल बैंकर्स संघले मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने निर्णय गर्‍यो । तर, यसको पाँच महिनापछि संघले आइतबार यो निर्णय फिर्ता लिएको छ । यो निर्णयले बैंकहरुलाई मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज दिने बाटो खुला भएको छ ।

ब्याजदरमा उच्च प्रतिस्पर्धा नरहेकाले निर्णय फिर्ता लिएको संघको दाबी छ । तर, वास्तविकता भने अर्कै छ ।

गत पुसमा एनआईसी एसियाले ११ प्रतिशत बढी ब्याज दिएको भन्दै बैंकर्स संघले सम्पूर्ण बैंकलाई एनआईसीसँग अन्तरबैंक कारोबार नगर्न निर्देशन दिएको थियो ।

सुरुमा कडा देखिएको बैंकर्स संघ क्रमशः कमजोर बन्यो । संघको निर्णय लत्याउँदै विभिन्न बैंकले ११ प्रतिशतभन्दा बढी ब्याजमा निक्षेप उठाउन थाले । आफ्नो निर्णय उल्लंघन हुँदा पनि कारबाही गर्न सक्ने अवस्था नआएपछि अन्ततः बैंकर्स संघले निर्णय फिर्ता लिएको एक बैंकर्सले अनलाइनखबरलाई बताए ।

अब बजारले निर्धारण गर्नेछ ब्याजदर

बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना बजारमा तरलता सहज हुन लागेपछि निर्णय फिर्ता लिएको दाबी गर्छन् । ‘अहिले पहिलेको जस्तो अवस्था छैन, तरलता केही सहज भएको छ,’ उनले भने, अब बजारले नै ब्यादर निर्धारण गर्नेछ ।’

ब्याजदरमा उच्च प्रतिस्पर्धा कायमै रहे फेरि ब्याजदरको सीमा तोक्न सकिने उनको दाबी छ ।

तर, एकपटक ब्याजदर नियन्त्रण गर्न असफल भएको संघले अर्को निर्णय गर्ने सम्भावना कम छ ।

निर्णय फिर्ता भएको भोलिपल्टै एनआईसी एसियाले ‘धनवर्षा मुद्दती निक्षेप योजना’ नामक निक्षेप योजनामा १२ प्रतिशत व्याज दिने सूचना निकालेको छ । सिभिल बैंकले पनि १२.२२ प्रतिशत ब्याज दिने गरी २ सय २२ दिने मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

सार्वजनिक गरिएको ब्याजदरमा दुई प्रतिशत  बढाउन सक्ने अधिकार बैंकहरुसँग छ, जसका कारण एक वर्षे मुद्दती निक्षेपको ब्याजदर १४ प्रतिशत माथि पुग्नसक्छ ।

अझै बढ्ने भयो कर्जाको ब्याजदर

झट्ट हेर्दा उच्च ब्याजदरमा निक्षेप संकलन गर्न बैंकहरुबीच प्रतिस्पर्धा हुनु राम्रो लाग्न सक्छ । किनकी बैंकहरुले निक्षेपमा जति धेरै ब्याज दियो, त्यति धेरै फाइदा भन्ने लाग्छ ।

तर, त्यसो होइन । बैंकमा रकम राखेर त्यसको ब्याज खानेहरु कति होलान् ? अनुमान गर्नुस् त ? अथवा तपाईंको बैंक खातामा कति बचत छ र कति ब्याज खाइरहनु भएको छ ?

अनि हिसाब गर्नुस्, बैंकहरुबाट कर्जा लिएर व्यापार व्यवसाय लगायत गर्ने कति होलान् ?

हो, बैंकहरुमा बचत गर्नेमा व्यक्तिभन्दा केही संस्था हावी छन् । त्यसमा पनि सरकारी बढी छन् । सञ्चयकोष, नागरिक लगानी कोषदेखि सुरक्षा निकायका कल्याणकारी कोष लगायतका संस्थागत निक्षेपकर्ताको अर्बौं रकम बैंकमा छ । उनीहरु जुन बैंकले धेरै ब्याज दिन्छ, त्यसमा नै बचत गर्छन् ।

निक्षेपको बचतमा ११ प्रतिशतभन्दा ब्याज दिँदा यस्ता संस्थागत निक्षेपकर्तालाई धेरै फाइदा हुन्छ । तर, घाटा आम मानिसलाई हुन्छ । किनभने बैंकहरु निक्षेप संकलनमा जति ब्याज दिन्छन्, त्यसमा ३ देखि ४ प्रतिशतसम्म जोडेर कर्जा प्रवाहको ब्याज निर्धारण गर्छन् ।

अर्थात बैंकहरुले दिने ऋणको ब्याज उनीहरुले निक्षेपमा दिने ब्याजभन्दा ३-४ प्रतिशत बढी हुन्छ ।

निक्षेपमा दिने ब्याज ११ प्रतिशतभन्दा बढी नहुँदा त १५ प्रतिशतसम्म पुगेको थियो भने अब निक्षेपको ब्याजदर ११ बाट बढाउन पाउने भएपछि कर्जाको ब्याज त्योभन्दा झन् बढ्नेछ । अर्थात बैंकहरुले दिने ऋणको ब्याज १६ प्रतिशत कट्नेछ ।

बैंकहरुले निक्षेपमा दिने ब्याज बढाउँदा कर्जाको ब्याज पनि बढ्ने सानिमा बैंकका सीईओ भुवनकुमार दाहालले बताए ।

महंगी पनि बढ्नेछ

जब बैंकहरुले दिने कर्जाको ब्याज बढ्छ, यसले बजार मूल्यलाई समेत सोझै असर गर्छ । निक्षेप संकलनमा अस्वस्थ प्रतिस्पर्धा बढ्दा कर्जाको ब्याज बढाउने र न्युन आय भएका ब्यक्तिहरु महँगीको मारमा पर्ने दाहाल बताउँछन् ।

कर्जाको ब्याज बढेसँगै बिदेशबाट आयात भएका बस्तुहरुको पनि मूल्य बढ्नेछ । आन्तरिक रुपमा उत्पादन हुने बस्तुको पनि लागत बढ्नेछ र यसले समग्र उपभोक्तालाई असर गर्नेछ । कर्जाको ब्याज बढेसँगै उद्योगको लागत बढ्नेछ । लागत बढेसँगै उत्पादित बस्तुको मूल्य बढ्नेछ र यसले उपभोक्तालाई असर पर्नेछ । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा भने अस्थिर ब्याजदरका कारण बाहृय लगानीमा समेत प्रभाव पर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment