Comments Add Comment

सभामुख र उपसभामुखको राजीनामाको विषयमा संसदमा जुहारी

कांग्रेस भन्छ-एउटै पार्टीका भए, नेकपा भन्छ-कुनै पार्टीका होइनन्

३० जेठ, काठमाडौं । सभामुख र उपसभामुखमध्ये एकजनाले राजीनामा दिनुपर्ने वा नपर्ने विषय संदमा प्रवेश गरेपछि सत्तापक्ष र प्रतिपक्षबीच दोहोरी चलेको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर एउटै पार्टी बनेकाले सभामुख र उपसमुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान लागु गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

तत्कालीन माओवादीबाट निर्वाचित बनेका सभामुख कृष्णबहादुर महरा र तत्कालिन एमालेबाट निर्वाचित उपसभामुख शिवमाया तुम्बाहम्फेमध्ये एकजनाले राजीनामा दिनुपर्ने माग कांग्रेसले संसदमा राखेको छ । नेकपाले भने सभामुख र उपसभामुखले पार्टीबाट राजीनामा दिइसकेकाले कांग्रेसको माग औचित्यहीन रहेको जवाफ दिएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शुरुमै विशेष समय लिएर बोल्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान र कानुनी व्यवस्था कार्यन्वयन गर्नका लागि सभामुख वा उपसभामुखमध्ये एक अलग पार्टीको हुनुपर्ने बताए । उनले सभामुख र उपसभामुख भइसकेपछि राजीनामा दिए पनि त्यो दलत्याग नमानिने कानुनी व्यवस्थासमेत स्मरण गराए ।

खाँडले भने- सभामुख उपसभामुखको पदीय जिम्मेवारी सम्हाल्ने उद्देश्यका साथ यदि दल परित्याग गरियो भने दल परित्याग गरेको नमानिने राजनीतिक दल सम्बन्धी ऐनमै व्यवस्था छ । सभामुख र उपसभामुख महोदयको भूमिकालाई म उच्च कदर गर्दै कानुनी व्यवस्था कार्यन्वयन गर्न आग्रह गर्दछु ।

खाँडले सभामुख र वा उपसभामुखमध्ये एकले राजीनामा दिनुपर्ने आशयको अभिव्यक्ति दिइरहेकै बेला नेकपाका सांसद खगराज अधिकारीले नियमापत्ति गरेका थिए । खाँडले बोलिसकेपछि सभामुखले अधिकारीलाई समय दिए ।

नेकपा सांसद अधिकारीले सभामुख र उपसभामुख अहिले कुनै पनि दलसँग सम्बन्धित नभएकाले यो कुरा बारम्बार उठाउनुको अर्थ नरहेको बताए । उनले उपसभामुखमा चुनाव हारेकी कांग्रेस सांसद पुष्पा भुसालले समेत राजीनामा मागेको भन्दै पराजित मानसिकता नदेखाउन चुनौती दिए ।

अधिकारीले भने – सभामुख र उपसभामुख अहिले कुनै पनि दलमा आवद्ध हुनुहुन्न । बारम्बार उठाइरहँदा संसदको माखौल उडाउने काम भएको छ । यस्तो कुरा बन्द गरियोस् ।

कांग्रेस सांसद तेजुलाल चौधरीले संवैधानिक प्रश्न उठाउँदा सत्तापक्षले प्रतिवाद गर्नु दुई तिहाईको दम्भ प्रकट भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment