Comments Add Comment

दोश्रो विश्वयुद्ध लडेका कलाकार भिमबहादुर थापाको अन्तिम बिदाई…


बरिष्ठ कलाकार भिमबहादुर थापाको पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ । उनको गएराती २ बजे आफ्नै निवास मैतिदेवीमा ९२ बर्षको उमेरमा निधन भएको थियो ।

भिमबहादुरले अभिनय गरेको पछिल्लो चलचित्र ‘छक्का पन्जा २’ थियो । थापालाई श्रद्धाञ्जली दिनका लागि चलचित्र र टेलिभिजन क्षेत्रका कलाकर्मीको उपस्थिती थियो ।

पशुपति आर्यघाटमा नै उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, वरिष्ठ कलाकार निर शाह, कलाकारहरु बसुन्धरा भुषाल, चैत्यदेवी, रविन्द्र खड्का लगायतका कलाकारले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

उनका २ छोरी र १ छोरा छन् । छोरा अमेरिकामा भएकाले उनलाई जेठी छोरीले दागवत्ती दिएकी थिइन् । थापा निर्देशक दिपाश्री निरौलाका ‘धर्म पिता’ समेत हुन् । दिपाश्री आफ्ना ‘धर्म पिता’को निधनमा भावूक देखिइन् । उनी, चलचित्र ‘छक्का पन्जा ३’को पोखराको छायांकन स्थगित गरेर आज बिहान काठमाण्डौ आएकी थिइन् ।

सेनानी थापाको जन्म वि.सं १९८३ साल असार १३ गते खोटाङ जिल्लाको रावा, लामिडाँडामा भएको थियो । थापा सन् १९४२ मा वृटिश आर्मीमा भर्ना भइ सन् १९४५ को दोश्रो विश्वयुद्धमा समेत लडेका थिए । उनी दोश्रो विश्वयुद्धको समाप्तीपछि विरताको कदरस्वरुप प्रदान गरिएको डिफेन्स मेडल, जनरल सर्भिस, ब्रह्मास्टार जस्ता तक्मा छातीमा लगाएर त्यसबेलाको २-३ हजार भारु बोकेर गाउँ फर्किएका थिए ।

नेपाल आर्मीको मेजर सम्मको पदमा पुगेका थापाले उमेर हकका कारण वि.सं २०३९ सालमा जागिरबाट अवकाश पाएका थिए । उनको निधनमा नेपाली सेनाले सलामी दिदै सम्मान प्रकट गरेको थियो ।

थापाले वृटिश र नेपाल आर्मीको गरि १४ वटा मान पदक, गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट जस्ता सम्मान प्राप्त गरेका छन् । उनले वि.सं २०४१ सालमा निर्माण भएको चलचित्र ‘के घर के डेरा’बाट नेपाली चलचित्रमा अभिनय थालेका थिए । उनले ६ दर्जन चलचित्र, डेढ सय टेलिफिल्म र ५० भन्दा बढी विज्ञापनमा काम गरेका छन् भने आधा दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment