Comments Add Comment

एनसेल नेटवर्कमा ९२ लाख स्मार्टफोन प्रयोगकर्ता, डाटाको आम्दानी बढ्यो


३० जेठ, काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा स्मार्टफोन प्रयोग गर्ने उपभोक्ताको संख्या एक वर्षमा १२ प्रतिशत बिन्दुले बढेको छ ।

एनसेलको मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१८ को पहिलो त्रैमासिकको वित्तीय विवरण अनुसार कम्पनीका ५६ प्रतिशत ग्राहकले स्माटफोन बोक्ने गरेका छन् ।

सन् २०१७ को पहिलो त्रैमासिक सम्ममा एनसेलका ४४ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेका थिए ।

२०७४ को चैतसम्म एनसेलको ग्राहक संख्या एक करोड ६४ लाख पुगेको छ । यस हिसाबले ९२ लाख जना प्रयोगकर्ताले स्मार्टफोन प्रगोग गर्छन् ।

एक वर्षको अवधीमा एनसेलले थ्रीजी इन्टरनेटको विस्तार गरेको र २१ शहरमा फोरजी सेवा सुरुगरेकाले स्मार्टफोनको प्रयोगकर्ता बढेको आजियटाको भनाइ छ ।

एनसेलका अनुसार कम्पनीको थ्रीजी सेवा ५४ प्रतिशत र फोरजी १५ प्रतिशत भन्दा बढी जनसंख्यामाझ पुगेको छ । एनसेलले गतवर्ष जेठ १८ गतेबाट आफ्नो फोरजी सेवाको शुरुवात गरेको थियो । कम्पनीका झण्डै ४६ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन् ।

इन्टरनेट प्रगोगका कारण एनसेलको कुल आयमा डाटाको योगदान पनि ५ प्रतिशत विन्दुले बढेको छ । सन् २०१७ को पहिलो त्रैमासमा कुल आम्दानीमा डाटाको योगदान १७ प्रतिशत थियो भने हाल यो बढेर २२ प्रतिशत पुगेको छ ।

सन् २०१८ को पहिलो त्रैमासमा एनसेलले १४ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरको छ । गत वर्ष सोही अवधिमा उसले १३ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको थियो । दूरसञ्चार क्षेत्रमा डाटाबाट हुने आम्दानी बढ्नु, स्मार्टफोन र इन्टरनेट प्रयोग बढ्नु देश र समाज विस्तारै डिजिटल प्रविधि तर्फ उन्मुख भएको अर्थमा बुझ्न सकिने एनसेलले बताएको छ ।

डाटा सेवाको शुल्कमा गिरावट, स्मार्टफोनको मुल्य घट्नु लगायतका कारणले पनि डाटाको माग र प्रयोगकर्ता बढेका छन् । एनसेलको पहिलो त्रैमासिक विवरण अनुसार प्रति ग्राहक प्रति महिना इन्टरनेट खपत गतवर्ष सोही अवधिको २६३ एमबीबाट बढेर ४७५ एमबी पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment