Comments Add Comment

नेपालमा अन्धोपन बनाउने खस्रे रोग बल्झन सक्छ ?

३० जेठ, काठमाडौ । अन्धोपन विभिन्न कारणले हुनेगर्छ । त्यसमध्ये अन्धोपनको दोस्रो प्रमुख कारण मानिन्छ, खस्रे रोग । यसलाई चिकित्सकको भाषामा ‘ट्रकोमा’ भनिन्छ ।

यो रोग नेपालमा फेरि बल्झन सक्ने खतरा औंल्याएका छन्, नेपाल नेत्रज्योती संघका पदाधीकारीहरूले ।

ब्राजिल, लगायतका विश्वका अफि्रकी मुलुकहरूमा एक पटक उन्मुलन भइसकेको ट्रकोमा रोग फेरी देखिएको छ । त्यसैगरी नेपालमा पनि यो रोग दोहोरिन सक्ने उनीहरूको आशंका छ ।  खुला सिमाना, मानिसहरूको बढी आवतजावत हुने ठाउँहरूमा यसको जोखिम बढी छ ।

नेपालमा निवारण भएको थियो ट्रकोमा

ट्रकोमा रोग निवारण गर्नेमा नेपाल दक्षिण पूर्वी एसियाली राष्ट्रहरूमध्ये नै पहिलो भन्दै  विश्व स्वास्थ्य संगठनले गत वैशाख ११ गते नेपाललाई ट्रकोमा रोग जनस्वास्थ्य समस्याको रुपमा नरहेको देशको रुपमा प्रमाणित गरेको थियो ।

विश्व स्वास्थ्य संगठनको ७१ औ महासभामा भाग लिने क्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई विश्व स्वास्थ्य संगठनले ट्रकोमा उन्मुलन गर्ने देश भनेर समेत प्रमाणपत्र दिएको थियो ।

नेपालबाट ट्रकोमा रोग निवारण भएसँगै ट्रकोमा निवारण गर्ने दक्षिण पूर्वी राष्ट्रहरूमा नेपाल पहिलो स्थानमा रहेकेा छ ।

‘दक्षिण पुर्वी एसियाली राष्ट्रहरूमध्य नेपाल ट्रकोमा नभएको देशमा पर्नु आफैमा खुशीको कुरा हो । तर यसमा जति धेरै खुशी छ, चुनौती पनि उत्तिकै छ’, नेपाल नेत्रज्योती संघका अध्यक्ष प्रा. डा. तीर्थ प्रसाद मिश्रले भने ।

विशेषगरी, खुला सिमाना, स्वास्थ्य सेवाको पहुचमा कमी लगायतका कारण पनि नेपालबाट निवारण भइसकेको ट्रकोमा रोग फेरी बल्झन सक्ने हुँदा चुनौतीहरू धेरै रहेको उनले बताए ।

विशेषगरी, उत्तर प्रदेशका केही क्लस्टरहरूबाट आफूहरूले डाटा संकलन गर्ने क्रममा त्यहाँका विरामीहरूले नेपाल आएर यहाँका आँखा अस्पतालहरूमा ट्रकोमा रोगको शल्यक्रिया गरेको पाइएकले पनि ट्रकोमा निवारणमा प्रशस्त चुनौतीहरू रहेको नेपाल नेत्रज्योती संघका कार्यकारी निर्देशक शैलशकुमार मिश्रले बताए ।

उनले भने ‘ उक्त प्रदेशको डाटा संकलन गर्ने क्रममा त्यहाँका विरामीले ट्रकोमा रोगको शल्यक्रिया नेपालमा आएर गर्ने गरेको पाइएसकेपछि भने हामी ढुक्क हुने अवस्थामा छैनौ । ‘ ।

यद्यपी, नेपालबाट निवारण भइसकेको ट्रकोमा रोगको जोखिम  कम गर्न संघले खुला सिमाना भएका तराईका जिल्लाहरूमा आवश्यक निगरानी बढाउन सुरु गरेको उनले बताए । त्यसैगरी, स्वास्थ्य मन्त्रालयसितको सहकार्यमा ती जिल्लाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई विशेष तालिम दिने तयारी समेत भइरहेको संघले जनाएको छ ।

के हो अन्धोपन ल्याउने खस्रे रोग

बोलीचालीको भाषामा खस्रे रोग भनेर चिनिने ट्रकोमा एक सरुवा रोग हो । मानिसलाई दृष्टिविहिन गराउन सक्ने आँखाको विभिन्न रोगहरूमध्य यो  एक प्रमुख सरुवा रोग हो ।

आँखाको माथिल्लो ढकनीको भित्र ल्केमेडिया ट्रकोमाटीस भन्ने व्याक्टेरियाको संक्रमण भएमा यो रोग लाग्छ । सरसफाईको कमी तथा झिंगाका कारण पनि यो रोग एकव्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ ।

ट्रकोमा रोगको जोखिममा विशेषगरी एक देखि नौ वर्ष सम्मका बालबालिका रहने गरेका छन् । उनीहरूलाई ट्रकोमा भएमा यो रोग बच्चाबाट आमा, बाबु , दिदीबहिनी लगायतका घर परिवार तथा समाजमा सर्ने गर्छ ।

नेपालबाट ट्रकोमा रोग निवारण भएसँगै नेपाल दक्षिण पूर्वी एशियामा ट्रकोमा रोग जनस्वास्थ्य समस्याको रुपमा नरहेको देशको रुपमा सुचीकृति भएको छ ।

कुनै पनि देशमा ट्रकोमा रोग निवारण हुन ती देशका एक वर्ष देखि नौ वर्षका बालबालिकामा ट्रकोमा रोगको जोखिम पाँच प्रतिशत भन्दा कम रहेको हुनु पर्छ  ।

सन् १९८१ मा गएकिो एक सर्वेक्षणमा नेपालमा कुल जनसंख्याको ६५ प्रतिशतमा मानिसमा अन्धोपना रहेको पाइएमा उक्त अन्धोपन मध्य पनि २.४ प्रतिशत अन्धोपना ट्रकोमाको कारण भएको पाइएको थियो । त्यतिबेलामा नेपालमा मोतियाविन्दु पछि अन्धोपनाको

दोश्रो मुख्य कारणमा ट्रकोमा रहेको पाइएपछि सन् २०१७ सम्ममा नेपालबाट ट्रकोमा रोग उन्मुलन गर्ने उद्देश्यले नेपाल नेत्र ज्योती संघले  सन् २००२मा ट्रकोमा रोग निवारणका लागि ट्रकोमा रोगबाट प्रभावित जिल्लाहरूमा ‘राष्ट्रिय ट्रकोमा कार्यक्रम’ सञ्चालन गरेको थियो ।

जस अन्तगर्त संघले नेपालका ७७ वटै जिल्लाहरूमा ट्रकोमा रोगको प्रकोप सम्बन्धि सर्वेक्षण सम्पन्न गर्नुका साथै ट्रकोमा रोगबाट सर्वाधिक प्रभावित २० जिल्लाहरूको पहिचान समेत गरेको थियो ।

ती जिल्लाहरूमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, रोल्पा, बैतडी, दैलेख, रुकुम, दाङ्ग, सुर्खेत बाके, बर्दिया, कफिलवस्तु , नवलपरासी वारा, पर्सा रौतहट,सलार्ही , रसुवा रहेका छन् ।

ती जिल्लाहरूमा संघले विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरेको सेफ रणनिति अनुरुप आँखाको शल्यकि्रया गर्ने, ट्रकोमा प्रभावित जिल्लाहरूमा आम औषधी वितरण गर्ने, आँखा, अनुहार र हातको सफाई गर्ने, तथा वातारण सुधार गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । ।

त्यसैको आधारमा संघले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कार्यक्रम सञ्चालन गरिएका जिल्लाहरूमा ट्रकोमा रोगको प्रकोपका स्थितिको मुल्याङ्गकन गर्न आवश्यक निगरानी सर्वेक्षण गरेको थियो । उक्त निगरानी सर्वेक्षणबाट आएको नतिजाकै आधारमा संघले निवारणको प्रकि्रया अघि बढाएको थियो ।

सो क्रममा नेपालका विभिन्न अस्पतालहरूमार्फत ४५ देखि ५० हजारको हाराहारीमा ट्रकोमा रोगको पहिचान भई शल्यकि्रया सम्पन्न भएको थियो । जसमध्य नेपाली ३० हजार तथा विदेशी २० हजार रहेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment