Comments Add Comment

नजरमा पर्ने पाँच कप्तान

काठमाडौं । टिममा प्रमुख भूमिकामा रहन्छन् कप्तान । मैदानमा उनीहरुले लिने निर्णयले नतिजामा असर पर्न सक्छ । विश्वकपमा सहभागी ३२ देशका कप्तानमा केही पुरानै अनुहार छन्, कोही पहिलोपटक कप्तानी गर्दै छन् ।

केही कप्तान छन्, जो यसपटक विशेष नजरमा पर्दै छन् ।

एसाम एल हादारी, इजिप्ट

इजिप्टका एसाम एल हदारी अहिले ४५ वर्ष पाँच महिनाका भए । उनले यो विश्वकपमा यो सबैभन्दा बढी उमेरमा विश्वकप खेल्ने कीर्तिमान बनाउँदै छन् । सन् १९७५ को जनवरी १५ मा जन्मिएका एल हादारी इजिप्टका गोलरक्षक हुन् ।

उनले यसपटक कप्तानीको जिम्मेवारी पनि सम्हाल्दै छन् ।

अहिले कोलम्बियाका फ्राड मोनड्रागनको नाममा ४३ वर्ष तीन दिनको उमेरमा विश्वकप खेलेको कीर्तिमान नै सबैभन्दा बढी उमेरमा विश्वकप खेल्ने कीर्तिमान छ ।

हृयारी केन, इंग्ल्याण्ड

सन् १९९३ जुलाई २८ मा जन्मिएका हृयारी केनले पहिलो पटक विश्वकपमा इंग्ल्याण्डको कप्तानी गर्दैछन् ।

केन फुटबलका उदाउँदा स्टार हुन् । इंग्ल्याण्ड टिमका कप्तानी सम्हाल्न लागेका उनले इंग्लिस प्रिमियर लिगमार्फत नै आफ्नो खुबी देखाएका हुन् ।

उनलाई सन् १९९६ को फिफा वर्ष खेलाडीको सूचिमा तेस्रो स्थानमा आएका एलन शिएररसँग पनि तुलना गरिन्छ ।

२४ वर्षका केन कडा मेहनत गर्छन्, अनुशासित व्यवहार देखाउँछन् । समयको महत्व र कुरा बुझ्ने उनको क्षमता राम्रो छ ।

उनकै बलमा टोटनहृयामले पि्रमियर लिगको राम्रो प्रदर्शन गर्दै आएको छ । इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपको मुखैमा आएर ठूलो विश्वाससहित कप्तानको जिम्मा केनलाई थमाएबाट पनि उनको महत्व प्रष्ट हुन्छ । उनी यो विश्वकपका सबैभन्दा कम उमेरका कप्तान बन्दैछन् ।

नेइमार, ब्राजिल

२६ वर्षे नेइमारले विश्वकपमा सबैभन्दा सफल टिम ब्राजिलको कप्तानी गर्दैछन् । उनीमाथि ब्राजिललाई छैटौँ पटक विश्व विजेता बनाउने जिम्मेवारी आएको छ ।

फिफा कन्फेडेरेसन कप र ओलम्पिक स्वर्ण पदक विजेता खेलाडी नेमार आफ्नो दोस्रो विश्वकपमा सहभागी हुन लागेका हुन् । डि्रबलिङ, पास र फिनिसिङ तीनै कुरामा नेमारको शैली राम्रो छ ।

गएको विश्वकपमा घरेलु मैदानमा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित भएको थियो । यसपटक त्यो हारबाट बाहिर निस्किएर ऐतिहासिक उपाधि उचाल्न नेमार महत्वपूर्ण रहेका छन् । त्यसबेला क्वाटरफाइनलमा कोलम्बियालाई २-१ ले हराएको खेलमा नेमार घाइते भएका थिए ।

यसपटक ब्राजिल पहिलेको जस्तै डरलाग्दो टिमको रुपमा देखिएको छ । त्यसमा ब्राजिलियन फुटबलको पुरानो समय फर्काउन नेमार एक मुख्य पिलर हुन् । नेमार मैदानमा मात्रै होइन मैदान बाहिर पनि आफ्नो टिमका लागि हौसलाका पात्र हुन् ।

आरोन गुनार्सन, आइसल्याण्ड

न् १९८९ अपि्रल २२ मा जन्मिएका गुनार्सन पहिलो पटक विश्वकप खेल्न लागेको आइसल्याण्डको कप्तानी गर्दैछन् । मिडफिल्डर गुनार्सनले विश्व फुटबलमा चर्चामा आइरहेको टिमको जिम्मेवारी फुटबल महाकुम्भमा गर्दै छन् ।

उनको टिमले सन् २०१६ मा पहिलो पटक युरोकप खेल्यो र क्वाटरफाइनलसम्म पुग्यो । गुनार्सनले दुई वर्षअघि फ्रान्समा भएको युरो कपमा देखाएको जस्तै उत्साह यसपटक विश्वकपमा पनि दिने आशा गरिएको छ ।

राडामेल फाल्काओ, कोलम्बिया

सन् १९८६ फेब्रुअरी १० मा जन्मिएका फरवार्ड फाल्काओले कोलम्बियाको कप्तानी गर्दै छन् । उनले चोटका कारण चार वर्षअघि विश्वकप गुमाउनु परेको थियो ।

सन् २०१४ को जनवरी २२ मा घुँडामा चोट लागेपछि फाल्काओले विश्वकप खेल्न पाएनन् । त्यो विश्वकपमा कोलम्बिया क्वाटरफाइनलमा पुग्यो । तर उसका सर्वाधिक गोलकर्ता फाल्काओ मैदानमा थिएनन् ।

क्वाटरफाइनलमा ब्राजिलसँग कोलम्बिया पराजित भयो । अहिले रसिया विश्वकपमा उनै फाल्काओ फर्किएका छन् । देशलाई विश्वकपमार्फत नयाँ उचाइमा लैजान सक्षम देखिन्छन् ।

फिफा डटकमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment