Comments Add Comment

झमकबहादुरः ‘मुम्बई एक्सप्रेस’को कपी कि ‘सुन काण्ड’ को कथा ?

कपि गरेको आरोप लाग्दा निर्देशक खुशी !

नायक अनुप विक्रम शाहीलाई शिर्ष भूमिकामा लिएर तयार भएको चलचित्र ‘झमकबहादुर’को ट्रेलर सार्वजनिक भएपछि यसको चर्को आलोचना भयो । साउथ इन्डियन चलचित्र ‘मुम्बई एक्सप्रेस’को हुबहु कपि गरिएको भन्दै दर्शक र मिडियाले यसको खेदो गरे ।

चलचित्र ‘कोहलपुर एक्सप्रेस’को धेरै अंश ‘मुम्बई एक्सप्रेस’बाट कपि गरिएको तातो घटना सेलाउन नपाउँदै ‘झमकबहादुर’ आगोमा घ्यू थप्न आइपुगेको थियो । तर, चलचित्रका निर्देशक बोमन कटुवाल भने चलचित्र कपि नभएको दावी गर्छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने-‘हाम्रो चलचित्र ‘मुम्बई एक्सप्रेस’बाट कपि होइन । तर, त्यसका केही दृश्यहरु हामीले चलचित्रमा प्रयोग गर्नुको कारण छ ।’

उनले पहिलो पटक कथा खुलाउँदै भने-‘यो सुनकाण्डको कथा हो । प्रहरीले छापा मारेको सुनलाई फिर्ता ल्याउन एउटा व्यापारीले बुनेको योजनामा चलचित्र बनेको छ ।’

उसो भए, किन ‘मुम्बई एक्सप्रेस’को अधिकांश दृश्य प्रस्तुत गर्नुभएको त भन्ने प्रश्नमा उनले भने-‘हो, हामी साउथ चलचित्रबाट प्रभावित छौ । तर, प्रभावित हुनुको आफ्नै कारण छ । प्रहरीले छापा मारेर लगेको सुन फिर्ता ल्याउनका लागि व्यापारीले प्रयोग गर्ने उपाय ‘मुम्बई एक्सप्रेस’बाट प्रभावित छ ।’

उनका अनुसार, चलचित्रमा ती व्यापारीले नेपाली, हिन्दी र अंग्रेजी चलचित्र खुबै हेर्ने गरेको देखाइएको छ । थुप्रै चलचित्र हेर्ने ती व्यापारीले आफ्नो सुन फिर्ता ल्याउनका लागि फिल्मकै स्टाइल प्रयोग गरेको देखाइएको निर्देशकले बताए । जबकि ट्रेलरमा भने मुम्बई एक्सपे्रसमा जस्तै बच्चा अपहरणकै कथा देखाइएको छ ।

उनले, चलचित्रको कथा लेख्दा आफूले ‘मुम्बई एक्सप्रेस’सँगै अन्य चलचित्र पनि हेरेको बताए । बजारमा चलचित्रलाई कपि गरेको भनेर आरोप लागे पनि निर्देशक कटुवाल खुशी देखिए । ‘दर्शकले चलचित्र के हो भन्ने हेरेपछि नै थाहा पाउनुहुनेछ । तर, चलचित्रले एक प्रकारको हाइप पाएको छ, त्यसमा खुशी छु,’ निर्देशकले भने ।

अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता देवकोटा लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र साउन १८ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment