Comments Add Comment

नारायणगढ मुग्लिन सडक बनेपछि चितवनबाट जहाज चढ्ने घटे

३०, जेठ, चितवन । कुनै समय भरतपुर विमानस्थलमा यात्रुहरुको खचाखच भीडभाड हुन्थ्यो । काठमाडौं जाने र फर्किने यात्रुको चापले साघुरो बनेको विमानस्थल अहिले भने खुकुलो हुन थालेको छ ।

नारायणगढ मुग्लिन सडकखण्डमा निर्वाध रुपमा आवतजावत हुन थालेपछि यसको असर भरतपुर विमानस्थलमा देखिन थालेको छ । जेठ २५ गतेदेखि नारायणगढ मुग्लिन सडक दिउँसोमा समेत निर्वाध रुपमा सञ्चालनमा आएपछि उड्ने भन्दा गुड्ने यात्रु बढ्न थालेका छन् ।

भरतपुर विमानस्थल कार्यालयले अनलाइनखबरलाई दिएको जानकारी अनुसार अहिले विमान कम्पनीहरुले उडानसेवा नै कटौती गरेका छन् । पहिले दैनिक १४ वटासम्म हुने उडान अहिले ८ वटामा झरेको छ ।

भरतपुरबाट बुद्ध, यति र सिमि्रक एयरले सेवा दिँदै आएका छन् । बुद्ध एयरले दैनिक २ उडान भरतपुर-पोखरा गर्दै आएको छ । विगत ३ बर्षको अवधिमा हवाई यात्रुको संख्या चार गुणाले बढेको थियो ।

विमानस्थलका सूचना अधिकारी दीपक विकका अनुसार पहिला टिकट लिन असाध्यै मुश्किल भए पनि अहिले भने आजको आज नै टिकट पाउन सक्ने अवस्था आएको छ ।

नारायणगढ मुग्लिन सडकखण्ड चौविसै घण्टा सञ्चालन हुन थालेको एक साता अघिदेखि नै हवाइ यात्रुको चाप घटेको सूचना अधिकारी विकले जानकारी दिए ।

मुग्लिन नारायणगढ सडक खण्ड निर्माणको चरणमा दिउँसोमा बन्द गर्ने गरिएको थियो । सडक बन्द हुँदा घण्टौं जाममा बस्नुपर्ने हुनाले यात्रुहरुले अवाइ मार्ग प्रयोग गर्ने गरेका थिए ।

पहिला दैनिक १३ सय यात्रु भरतपुर काठमाडौं, काठमाडौं भरतपुर आउने गरेको भए पनि अहिले सो संख्या घटेर सात सयको हाराहारीमा आएको विकको भनाई छ । पहिले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा दैनिक २१ वटासम्म उडान भरतपुर विमानस्थलबाट हुँदै आएको थियो ।

जहाज चढ्न सक्नेहरु पनि अहिले सडक मार्गमै रमाउन थालेको सूचना अधिकारी दीपक विकले बताए । ‘पहिला मान्छेलाई जसरी पनि जानै पर्ने वाध्यता थियो’ विमानस्थलका सूचना अधिकारी विकले भने, ‘अहिले बाटो पनि राम्रो भयो, चार घण्टामा काठमाडौं पुगिन्छ, विमान कम्पनीहरुले टिकटको मुल्य बढाए, त्यसले पनि यात्रुको रुची घट्यो ।’

यति एयरलाइन्सले पहिले दैनिक ५ उडान गर्दै आएकोमा अहिले उडान कटौती गरेर दैनिक दुई देखि तीन वटासम्म मात्रै सञ्चालन गरेको छ ।

यति एयरलाइन्सका एसिस्टेन्ट स्टेसन इन्चार्ज अनुप ढकालले अहिले ४० प्रतिशत यात्रु घटेको बताए । उनका अनुसार भरतपुरबाट काठमाडौं जाने यात्रुको चाप नघटे पनि काठमाडौंबाट र्फकदा विमानहरुमा यात्रु हृवात्तै घटेका छन् ।

बुद्ध एयरका भरतपुर प्रबन्धक भक्तबहादुर बस्नेतले बुद्ध एयरले पनि दैनिक उडान कटौती गरेको छ । पहिला दैनिक १० वटासम्म उडान गरेको बुद्धले जेठ २५ गते यता दैनिक चारदेखि पाँच उडान मात्रै गरेको छ ।

यात्रु घट्न थालेपछि विमान कम्पनीहरुले अफर फेयर समेत छाड्न थालेको बुद्ध एयरका भरतपुर प्रवन्धक भक्त बस्नेतले बताए । एकपटकमा ५ देखि १० वटा टिकटसम्म अफर फेयर छाड्ने गरिन्छ ।

निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाँदा ४८ घण्टासम्म यात्रु जाममा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment