Comments Add Comment

कोटेश्वरमा तीन घन्टासम्म जाम ! सरकार भन्छ-सुरुङ मार्ग बनाउँछौं


३० जेठ, काठमाडौं । कोटेश्वरबाट पूर्व बस्नेहरुलाई काठमाडौं प्रवेश गर्दा जाममा बस्नु नपरेको दिनै हुँदैन । अझ कार्यालय समयमा पर्‍यो भने त २/३ घन्टासम्मै जाममा नै वित्छ । सडक चौडा भएपनि जाम घटेको छैन, बरु बढेको छ ।

तर, सडक विभागले भने सुरुङमार्गको नारा दिन छाडेको छैन । अर्थमन्त्री युवराज खतिवडाले पनि बजेटमा कोटेश्वरमा सुरुङ मार्ग निर्माण गरिने उल्लेख गरेका छन् ।
अघिल्लो बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरेर सुरुमार्ग बनाइने उल्लेख थियो । नयाँ बनजेटमा तीनकुने-जडिबुटी खण्डमा सुरुङ बनाइने उल्लेख छ ।

सडक विभागले विमानस्थलमुनी सुरुङ तयार पार्ने काम आफ्नो इच्छाले मात्र सम्भव नरहेको राय राष्ट्रिय योजना आयोगलाई दिएको थियो । तर, बजेटमा परेपछि अध्ययन अघि बढाउने योजना बनाएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।

यसबारे नेपाल नागरिक उड्ययन प्राधिकरणसँग छलफल गर्न बाँकी रहेको उनले बताए । सडक विभागले गत वर्ष नै विमानस्थलसँग सीधा जोडिने भएकाले प्राधिकरणमार्फत् नै सम्भाव्यता अध्ययन थाल्नुपर्ने सुझाव दिएको थियो ।

नागरिक उड्डयन बेखबर

तर, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु यो परियोजनाबारे नै अनभिज्ञता प्रकट गर्छन् ।

लगातार दुई वर्ष बजेटमा कसले समेट्यो भन्ने समेत थाहा छैन । ‘यो योजनाबारे मलाई औपचारिक जानकारी आएको छैन’ विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले अनलाइनखबसँग भने, ‘विमानस्थल स्तरोन्नतिसँग सुरुङमार्ग सम्बन्धित छैन ।’

उड्ययन अधिकारीहरु विमानस्थलमुनी सुरुङमार्ग बनाउन आर्थिक र प्राविधिक हिसाबबाट सम्भव नरहेको बताउँछन् । सुरुङ बनाउँदा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या आउन सक्ने नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले बताए ।

यद्यपि शंका निवारणका लागि भए पनि सम्भाव्यता अध्ययन गर्दा फरक नपर्ने विज्ञहरुको भनाइ छ । अहिले त्रिभुवन विमानस्थलमा धावनमार्ग विस्तारको काम भइरहेको छ, जसअनुसार कोटेश्वरतर्फ तीन सय मिटर धावनमार्ग विस्तार हुँदैछ ।

धावनमार्ग विस्तारपछि विमानस्थलको ‘रनवे-सिग्नल लाइट’ हाल सेनाको क्याम्पसहितको भीओआररडीएमई उपकरण रहेको स्थानतर्फ करिब तीन सय मिटर दक्षिण धकेलिने छन् । अहिले सडकको छेउसम्म सिग्नल लाइट छन् ।

धावनमार्ग विस्तारपछि सिग्नल लाइटको व्यवस्थापनका लागि सडकमाथि सानो बि्रजिङ -पुल निर्माण) गर्नुपर्ने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए ।

सडककै कारण अहिले विमानस्थलको व्यवस्थापनमा ठूलो समस्या नरहेकाले सुरुङमार्ग निर्माणका लागि कुनै सुझाव पनि नदिएको उड्डयन अधिकारीहरु बताउँछन् । तर, सडक विभागका अधिकारीहरु भने काटेश्वरको हुने गरेको जाम हटाउन सम्भव देखिएकाले सुरुङमार्ग बनाउनु पर्ने बताइरहेका छन् ।

विज्ञ भन्छन्ः यो समाधान होइन

पूर्वाधारविदहरुले पनि जाम हटाउन सुरुङमार्ग बनाउने योजना उपयुक्त नभएको बताउँछन् ।

प्रा. सूर्यराज आचार्य प्रति प्रश्न गर्छन्, ‘सुरुङमार्ग बनेपछि कोटेश्वरको जाम त हट्ला तर, बानेश्वरमा त्यस्तै जाम हुन्छ । अनि यहाँ पनि सुरुङमार्ग बनाउने हो ?’

उनले सहरी यातायातबारे ठोस योजना बनाएर मात्र काम गर्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment