Comments Add Comment

लोडसेडिङका कारण ९ वर्षमा ११ खर्ब गुम्यो


२९ जेठ, काठमाडौं । लोडसेडिङका कारण पछिल्लो ९ वर्षमा देशले ११ खर्ब रुपैयाँ बराबरको नोक्शानी भोेग्नुपरेको पाइएको छ ।

विश्व बैंकको पछिल्लो रिपोर्टका अनुसार लोडसेडिङकै कारण नेपालले सन् २००८ देखि १६ सम्ममा ११ खर्ब रुपैयाँ गुमाउनुपर्‍यो । देशले ९ वर्षमा गुमाएको ११ खर्ब बराबरको रकम २००८ को कुल ग्रार्हस्थ उत्पादन बराबरको रकम हो ।

लोडसेडिङकै कारण राजस्व संकलनमा पनि २ं५ प्रतिशतले कमी आएको रिपोर्टमा उल्लेख गरिएको छ ।

विद्युत प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि लोडसेडिङ हटाउने अभियान सुरु भयो र जेठयता देश लोडसेडिङमुक्त भएको छ ।

विश्व बैंकका अनुसार २००८ देखि २०१६ सम्ममा लोडसेडिङकै कारण आर्थिक बृद्धिमा समेत असर परेको छ । ‘यो बीचमा लोडसेडिङमा नभएको भए बाषिर्क थप ७ प्रतिशतको आर्थिक वृद्धि हुन्थ्यो’ विश्व बैंकको रिपोर्टमा उल्लेख छ ।

‘लोडसेडिङका कारण नेपालले एक दशकमा कति गुमायो ?’ नामक रिपोर्टमा लोडसेडिङकै कारण बाहृय तथा आन्तरिक लगानीमा समेत असर परेको उल्लेख छ ।

रिपोर्टकाअनुसार बिगतका ९ वर्षमा यदि लोडसेडिङ हुँदैनथ्यो भने लगानी वाषिर्क रुपमा ४८ प्रतिशतले वृद्धि हुन्थ्यो । लोडसेडिङका कारण साना र मझौला उद्योगहरुको स्थिति धरासायी नै भयो । ठूलो लगानी भएका उद्योगहरुले नियमित उत्पादन गरेपनि उनीहरुको लागत उच्च हुँदै गएको थियो ।

विश्व बैंकका अनुसार लोडसेडिङकै कारण उद्योगको उत्पादनमा वाषिर्क ६.९ प्रतिशतको गिरावट आएको थियो । यसले निर्यातमा पनि असर परेको थियो । विद्युत आपूर्ति सहज नहुँदा निर्यातमा वार्षिक २.८ प्रतिशतले कमी आएको विश्व बैंकको निश्कर्ष छ ।

आयातमा भने ५.४ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । लोडसेडिङका कारण देशमा ग्यास, डिजल र पेट्रालको खपत भने बढ्यो ।

जसका कारण समग्र सेवा क्षेत्रमा आयात ५.२ प्रतिशतले बढेको देखिन्छ । ‘एलपिजी कुकिङ ग्यासको आयात बढेसँगै सेवा क्षेत्रमा वृद्धि देखिएको हो’ रिपोर्टमा भनिएको छ ।

लोडसेडिङकै कारण नेपालमा धेरै विद्युत खपत गर्ने मल तथा केमिकल उद्योगको स्थापना हुन नसकेको विश्व बैंकको निश्कर्ष छ ।

लोडसेडिङका कारण सेवा क्षेत्रबाहेक अन्य सबैमा भने नकारात्मक असर पारेको देखिन्छ । रिपोर्टका अनुसार निर्माण क्षेत्र वार्षिक ३१ प्रतिशत र खानी तथा उत्खनन कार्य २७.३ प्रतिशतले कमी आएको अध्ययनको निश्कर्ष छ ।

लोडसेडिङ हटेसँगै घरघरमा हुने खर्च घटेको छ । घरघरमा यसअघि भएको ब्याट्री इन्भर्टर जस्ता सामानमा हुने खर्चमा कमी आएको विश्व बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment