Comments Add Comment

भीएलएन सञ्चालक धरौटीमा रिहा हुनेबित्तिकै फेरि पक्राउ

३० जेठ, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको आरोपमा पक्राउ परेका भीएलएनका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले १० लाख धरौटीमा छाड्न अादेश दिएको छ । तर, प्रहरीले फेरि पक्राउ गरेको छ ।

बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमर बस्नेतको इजलानसले धरौटीमा छाड्न आदेश दिएको थियो । तर, त्यसलगत्तै उनलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जिल्ला प्रहरी कार्यालय, ललितपुरमा उनी सम्बन्धित अर्को उजुरी अनुसन्धानको क्रममा भएकाले पक्राउ गरिएको बताए ।

‘ललितपुर प्रहरीबाट आएको पत्र अनुरुप उनलाई ललितपुर प्रहरी समक्ष बुझाइनेछ’, पोखरेलले अनलाइनखबरसँग भने ।

प्रहरीले गत ७ जेठमा भीएलएनको कार्यालयमा छापा मारेर सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको थियो ।

अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

वाइड स्पेस म्यानपावरका सञ्चालक श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक पनि हुन् । श्रेष्ठले भिसा स्ट्याम्पिङका लागि भीएलएन खडा गरेर ३२ सय रुपैयाँ असुल्दै आएका थिए । उनको यो धन्दा २०७० कात्तिकदेखि चलिरहेको थियो । ७ सय रुपैयाँमा हुने कामका लागि उनले ३२ सय असुल्दा कामदार मर्कामा परेका थिए ।

उनले पनि २०७३ असोजबाट वान स्टप सेन्टरका नाममा पनि कामदारमाथि आर्थिक भार थपे । महाराजगञ्जमा राहदानी संकलन गरी सानेपा पुर्‍याउँदा २८ सय रुपैयाँ लिने अर्को धन्दा उनले चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment