Comments Add Comment

महासेनानी बढुवा सिफारिसमा मनोमानी गरेको भन्दै प्रधानसेनापतिविरुद्ध उजुरी

रक्षामन्त्री भन्छन्– नियमावलीले मर्का पारेको छ

३० असार, काठमाडौं । नेपाली सेनाका ४७ जना प्रमुख सेनानी (कर्णेल) लाई महासेनानी (फुल कर्णेल) बढुवा सिफारिस विवादमा परेपछि मन्त्रिपरिषदमा पुगेर अड्किएको छ । अन्यायमा परेका बरिष्ठ अधिकृतले सिफारिस फिर्ता गर्न ध्यानाकर्षण गराएका छन् ।

प्रधासेनापति राजेन्द्र क्षेत्रीले ९ वर्ष जुनियर प्रमुख सेनानीहरुलाई अग्रपंक्तिमा बढुवा गरेर सिनियरलाई अन्याय गरेको उजुरी परेपछि सोमबारको मन्त्रिपरिषद बैठकमा सो एजेण्डा प्रवेश नगरेको स्रोतले जनाएको छ ।

नियतवश चलखेल

आगामी ०७५ सालमा खाली हुने महासेनानीको संख्या ४७ छ । कात्तिकमै पहिलो बेसिकका प्रमुख सनेताहरुलाई महासेनानीमा बढुवा गर्नुपर्ने नियमावलीको व्यवस्था विपरीत प्रधानसेनापतिले आफू निकटलाई अगाडि ल्याउन अहिलेसम्म रोकेर राखेको आरोप लागेको छ ।

यदी दुई पटक पदोन्नति गरिएको भए ०६९ मा बढुवा भएका २८ देखि ३१ बेसिकका प्रमुख सेनानी कात्तिकमै महासेनानी भइसक्ने थिए । बाँकी ३२ देखि ३६ का अधिकृतलाई आउने असोज कात्तिकमा बढुवा गर्दा रोलक्रम मिचिने र बढुवामा अन्याय परेर घर जानुपर्ने अवस्था आउने थिएन ।

तर, सेनापतिले आफू अवकाश हुनै लाग्दा आफू निकटहरुलाई बढुवाको शीर्ष स्थानमा राखेर सिफारिस गरेपछि जंगी अड्डाको सिफारिस विवादमा परेको छ । बढुवामा नपरेका सिनियर अधिकृतले नियम अनुसार दिएको निवेदनसमेत सुनुवाइ नभएपछि यो विषय रक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म पुगेको हो ।

प्रधानसनेपति क्षेत्रीको सिफारिसलाई रक्षामन्त्री ईश्वर पोखरेलले पनि जस्ताको त्यस्तै सदर गरेर मन्त्रिपरिषदमा पठाएपछि अन्यायमा परेकाहरुको गुनासो प्रधानमन्त्रीसम्म पुगेको स्रोतले जनाएको छ ।

८ वटा बेसिकका सैनिक अधिकृतलाई एउटै लटमा बढुवा गर्ने प्रचलन काहिँ नभएको भन्दै रक्षामन्त्रीले शुरुमा सो सिफारिस पुनर्विचार हुने आश्वासन दिएका थिए । तर, पछि सोही प्रस्ताव अघि बढाइएको असन्तुष्टहरुको गुनासो छ ।

९ वर्ष बरिष्ठलाई पनि कनिष्ठ बनाइयो

नेपाली सेनाका २८,२९,३० र ३१ ब्याचका अधिकृतहरु ०६९ सालमा प्रमुख सेनानीमा बढुवा भएका थिए । त्यस्तै, ०७० मा ३२, ३३, ३४, ३५ र ३६ ब्याचका अधिकृत प्रमुख सेनानीमा बढुवा भएका थिए ।

तर, अहिले महासेनानी बढुवा गर्ने क्रममा २८ देखि ३६ बेसिकसम्मका सबैलाई एकै ठाउँमा राखेर ३६ बेसिकका पदमबहादुर बुढालाई एक नम्बरमा पुर्‍याइएको गुनासो सैन्य अधिकारीहरुको छ ।

संसारको कुनै पनि सेनामा प्रचलित बढुवा प्रणालीको बर्खिलाप र सैनिक निमायवलीको आफूखुसी ब्याख्या गरी एकै साथ ८ बेसिकका ८ वर्ष जागिर अवधि फरकरहेका अधिकृतहरुलाई एकैचोटि ‘प्रमोसन बोर्ड’मा राखी प्रतिस्पर्धा गराइएको भन्दै सेनाभित्र असन्तुष्टि बढेको छ ।

९ वर्ष जुनियर अधिकृतलाई सेनाजस्तो मर्यादाक्रममा चल्ने संस्थामा सबैभन्दा पहिलो नम्बरमा बढुवा गराएर सिनियर बनाउने कुराले चेन अफ कमाण्डमै असर गर्ने उच्च सैनिक अधिकारीहरु बताउँछन् ।

यदी एकैपटक ४७ जनाको बढुवा गर्नुपर्ने भएमा बरिष्ठ अधिकृतलाई कनिष्ठभन्दा बढी नम्बर दिनुपर्ने प्रचलन पनि भत्काइएको गुनासो अधिकृतहरुले गरेका छन् ।

भावी सेनापतिका लागि चलखेल

भावी प्रधानसेनापतिको लाइनमा आफ्नो मान्छे राख्ने योजनाअन्तर्गत चलखेल गरिएको आरोप छ । प्रधानसेनापतिले सिनियर अधिकृतहरुलाई पछि पारेर ३६ बेसिकका पदम बुढामगर, माधव थापा, रञ्जित थापा लगायतलाई शीर्ष स्थानमा सिफारिस गरेका छन् ।

त्यस्तै, ३३ बेसिकका पवन खत्री र ३२ बेसिकका द्रब्यराम भण्डारी पनि शीर्ष ५ भित्र पारिएका छन् ।

जबकि, २९, ३० र ३१ बेसिकका सिनियर अधिकृतहरुलाई निकै पछाडि राखेर माथिल्लो पदमा बढुवा हुने बाटो नै बन्द गर्न खोजिएको आरोप सेनापतिमाथि लागेको छ ।

प्रधानसेनापतिले सैनिक नियमावली अनुसार एकैपटक आठ बेसिकका अधिकृतहरुलाई बढुवा प्रतिस्पर्धा गराउनुपरेको भने पनि सेनामा यसअघि यस्तो भएको थिएन ।

सेनपातिका नातेदारलाई नियम लागेन

सैन्य स्रोतका अनुसार प्रधानसेनपतिका नजिकका नातेदार रविन्द्र केसीलाई महासेनानी बढुवा गर्दा नियमावली प्रयोग भएको थिएन ।

उनलाई बैकल्पिक उम्मेदवारमा राखेर पछि खाली भएका बेला प्रतिस्पर्धा नगराई महासेनानी बढुवा गरिएको थियो । जबकि, नियमावलीमा वैकल्पिक उम्मेदवार राख्ने प्रावधान छैन ।

सैनिक नियमावली ०६९ अनुसार प्रमुख सेनानीबाट महासेनानी बढुवा गर्दा एक जना बढुवा गर्न तीनजना बीच प्रतिस्पर्धा गराउने व्यवस्था छ । त्यसो गर्दा एउटै बेसिकका वा दुई तीनवटा बेसिकका अधिकृतहरुबीच प्रतिस्पर्धा गराउनुपर्नेमा प्रधानसेनपातिले एकैपटक ४७ जना बढुवा गर्ने भन्दै आठ वटा बेसिकका अधिकृतहरुलाई प्रतिस्पर्धा गराए ।

जबकि, प्रधानसेनपातिका विश्वासपात्र हालका महासेनानी अनुपजंग थापा र २८ बेसिकका पछाडिका अन्य अधिकृतहरुलाई पदोन्नति गराउँदा एक बराबार तीनजनाको अनुपात अलम्बन नगरिएको बताइएको छ । जागिर खाएको २९ वर्ष अवधि पुगेका र २० वर्षमात्र पुगेका सबैलाई एकै दर्जामा राखेर प्रतिस्पर्धा गराउँदा नम्बर पनि मनोमानी र अपारदर्शी ढंगले दिएको उजुरी परेको छ ।

एक उच्च सैनिक अधिकृतले भने, ‘सैनिक नियमावलीमा रहेको १ः३ को प्रावधानलाई अपब्याख्या गरियो । कनिष्ठलाई सबैभन्दा बरिष्ठमा सिफारिस गरिएको छ ।’

१ः३ को अनुमात भनेको आठ वटा बेसिकबीच प्रतिस्पर्धा गराएर समान पदोन्नति नम्बर दिनुले पनि यसमा ठूलो चलखेल भएको प्रष्ट हुने स्रोतको दाबी छ ।

जाँदाजाँदै सेनापतिको मनोमानी

बरिष्ठतामा तलमाथि पार्न खोज्दा बिगतमा १ः३ मा मात्र नटेकेर बुद्धिमतापूर्वक बरिष्ठताको सन्तुलन हुने गरी बढुवा सिफारिस गर्ने प्रचलन स्थापित भएको थियो । तर, प्रधानसेनपति क्षेत्रीले आफू साउनमा अवकाश हुनुअघि आफ्ना निकटस्थ ९ वर्ष कनिष्ठ अधिकृतलाई महासेनानीको शीर्ष स्थानमा राखेर बढुवा गर्न खोजेको स्रोतले जनाएको छ ।

बढुवा सिफारिस गर्दा नियमावलीमा रहेको अंक वितरणलाई न्यायोचित ढंगबाट वितरण नगरी कनिष्ठलाई माथि ल्याउन बरिष्ठलाई अन्याय गरिएको आरोप लागेको छ । विशेष गरी कायमी सेवा (जागिर अवधि) वापत प्राप्त हुने अंक ३१ देखि २६ बेसिक (५ वर्ष सिनियर, जुनियर) सबैलाई समान ५ अंक दिइएको छ ।

नियमावली अनुसार कायमी सेवा बापत १७ नम्बर दिन सकिन्छ । एक दिनको बरिष्ठ भए पनि कायमी सेवा अंक उसले बढी पाउने प्राबधान विपरीत २९ वर्ष सेवा अवधि र २० वर्ष सेवा अवधि भएका सबैलाई समान अंक दिएर सिनियर अधिकृतलाई अन्याय गरिएको गुनासो सरकार समक्ष पुगेको छ । यो भनेको भावी प्रधानसेनापतिको आधार तयार पार्न खोजिएको हो ।

नम्बरदेखि बिभुषणसम्म गोलमाल

कार्य सम्पादन बापत प्राप्त हुने ३३ अंकमा प्रधानसेनापति र पदोन्नति बोर्डमा रहेका उच्च अधिकृतहरुले आफ्नो मान्छेलाई मनपरी ढंगले दिएको आरोप समेत लागेको छ । कार्य सम्पादन मूल्यांकनबाट प्राप्त हुने अंकलाई एक सय मान्दा ८० भन्दा बढी दिनुपर्दा कारण खुलाउनुपर्छ ।

असाधारण काम गर्ने अधिकृतलाई दिइने नम्बरमा मनोमानी गर्दै आफ्ना निकटस्थलाई ९० नम्बर सम्म दिएको भेटिएको स्रोत बताउँछ । पहुँच नहुने बरिष्ठतम अधिकृतहरुलाई भने ८० भन्दा तलको अंक दिइएको छ ।

पदोन्नतिका क्रममा बिभुषणलाई ३ नम्बर दिने व्यवस्था नियमावलीमा छ । बिभुषण ऐन ०६४ अनुसार बिभुषण अन्तर्गत मानपदवी, अलंकार र पदक पर्छन् । तर, यसपटक महासेनानी बढुवा सिफारिसका क्रममा पदकलाई अंक नदिई आफू निकटस्थको नम्बर माथि पार्न खोजिएको आरोप समेत लागेको छ ।

निवेदनको सुनुवाई नै भएन

पदोन्नतिका लागि बोर्डले दिएको नम्बर पारदर्शी नभएको भन्दै उजुरी परेको छ । पदोन्नतिका लागि सिफारिस भएका ४७ जनाको नाम सार्वजनिक भएपछि असन्तुष्ट भएका केही अधिकृतले नियम अनुसार उजुरी पनि दिए ।

प्रमुख सेनानी मनोज खत्री र खन्नु मुन्ना राईले आफूहरु के कारणले पदोन्नति सिफारिसमा नपरेको भनी निवेदन दिएकोमा त्यसको सुनुवाई नभएको भन्दै लिखित र मौखिक उजुरी सरकारसमक्ष पुगेको स्रोतले जनाएको छ ।

सैनिक नियमावली अनुसार निवेदन दिने अधिकृतहरुलाई जंगी अड्डाले लिखित जवाफ दिनुपर्छ । तर, बरिष्ठता क्रममा रहेर पनि बढुवा नपाएका ती अधिकृतको निवेदनको कुनै सुनुवाई नै भएन ।

नियमावलीमा आफूले कति अंक प्राप्त गरेको हो भनेर हेर्न पाउने व्यवस्था छ । तर, सो व्यवस्थालाई यसपटक लत्याइएको र अपारदर्शी रुपमा अंक तलमाथि गरिएको आरोप सेनापतिमाथि लागेको छ ।

रक्षामन्त्री भन्छन्– नियमावलीले मर्का पारेको छ

अन्यायमा परेका अधिकृतहरुले सबैभन्दा पहिले आफ्नै संगठनमा गुनासो गरे । तर प्रधानसेनापतिले न्याय गर्न नसकेपछि उनीहरु रक्षामन्त्रालय पुगे । रक्षामन्त्रीले बढुवा सिफारिसमा मनोमानी भएको भन्दै जस्ताको तस्तै पास नहुने बताए पनि सो फाइल मन्त्रिपरिषद पुगिसकेको छ ।

प्रधानमन्त्रीपछिको दोस्रो बरियताका उपप्रधानमन्त्री ईश्वर पोखरेल मन्त्री भएको बेला पनि रक्षा मन्त्रालय जंगी अड्डाको आदेश तामेली गर्ने अड्डाबाट माथि उठ्न नसकेको यो प्रकरणले पनि पुष्टि गरेको छ । विवादमा परेको बढुवा सिफारिस पुनर्विचार गर्न रक्षमन्त्रीले प्रधानसेनापतिलाई फिर्ता पठाउन सक्थे तर किन गरेनन् ?

यसबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले सैनिक नियमावली अनुसार आएको प्रस्तावलाई मन्त्रालयले फिर्ता पठाउन नसकेको बताए । उनले यो नियमावलीकै कारण धेरै सैनिक अधिकृतमाथि मर्का परेको बारे आफू जानकार हुँदै हुँदै पनि कानुनसम्मत सिफारिस अगाडि बढाउनुको विकल्प नरहेको जवाफ दिए ।

पोखरेलले भने, ‘नियमावलीका कतिपय प्रावधानले चेन अफ कमाण्डलाई असर गर्ने देखिएको छ । यसबीचमा यही प्रक्रियाबाट चार/पाँच बेसिकका अधिकृतको बढुवा भइसकेको रहेछ । अब नियमावलीमा समयानुकुल परिमार्जन गर्दै जानुपर्छ भन्ने मेरो सोचाइ छ ।’

रक्षामन्त्रालयले पदोन्नतिलाई पारदर्शी र स्वीकार्य बनाउन पदोन्तनति बोर्डले दिएको सम्पूर्ण अंकहरुका विवरण माग गर्न सक्ने रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

तर, निमायवली देखाएर प्रधानसेनापति क्षेत्रीको मनपरी भने जारी रहेको गुनासो केही सैन्य अधिकारीहरुले गरेका छन् ।

अवकाशको मुखमा बढुवामा चलखेलजस्ता कार्यमा सेनापति आफैं संलग्न हुँदा रक्षामन्त्रालयले रोक्न नसकेको उच्च सैनिक अधिकृतहरुले टिप्पणी गरेका छन् ।

जाँदाजाँदै सेनापतिले सैनिक संगठनलाई दीर्घकालीन असरपर्ने खालका काम गरिरहेको भन्दै संसदको राज्य व्यवस्था समिति र सभामुख समक्ष पनि उजुरी हाल्ने तयारी सैनिक अधिकृतहरुले गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment