Comments Add Comment

नक्कली सिफारिस दिएको आरोपमा वडाअध्यक्ष पक्राउ

३० जेठ, सिन्धुपाल्चोक । नक्कली बाबु खडा गरी नेपाली नागरिकता प्रमाण-पत्र सिफारिस गरेको आरोपमा हेलम्बु गाउँपालिका -६ साविकको इचोकका वडाअध्यक्ष खेतनाथ घिमिरे पक्राउ परेका छन् ।

मेलम्ची नगरपालिका-१० ज्यामिरे निवासी खुसी तामाङलाई नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका-६ इचोकबाट नागरिकता सिफारिस गरिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नक्कली बाबु खडा गरेर खुसी तामाङलाई स्थानीय आशाराम तामाङमार्फत वडा अध्यक्ष घिमिरेले नागरिकता सिफारिस दिएका थिए । नागरिकता सिफरिस पछि आशाराम दाइ बनेरै खुसीको नागरिकतासमेत बनाएको प्रहरीले जानकारी दिएको छ ।

नक्कली नागरिकता बनाएपछि उनीहरु दुवै जनालाई काठमाडौंको बौद्धमा प्रहरीले पक्राउ गरेर सिन्धुपाल्चोक पठाएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

खुसी तामाङको बाबुको नाम बिर्खबहादुर तामाङ हो तर नागरिकतामा भने आशारामको बाबुको नाम बिरबहादुर राखेर नागरिकता लिएकी थिइन् ।

जेठ ११ गते जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट २४-०१-७५-०१०३५ नम्बरको नागरिकता प्रमाण-पत्र लिएर सोही दिन नै राहदानीको सिफारिस समेत लिएको प्रहरीले जानकारी दिएको छ । खुसीले केन्द्रीय राहदानी विभागबाट राहादानीसमेत बनाइसकेकी थिइन ।

नक्कली दाइ बनेर नागरिकता सिफारिस गरेका आशारामको परिवारले आफ्नो परिवारको सदस्य भएर नागरिकता बनाएको थाहा पाएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको थियो ।

ज्यामिरेकी महिलाले किन हेलम्बु गाउँपालिकाबाट नागरिकता लिइन् भन्ने चाहिँ गम्भीर विषय भएको प्रहरीले बताएको छ । ‘हामी अनुसन्धान सुरु गरेका छौं’ एसपी पोखरेलले भने । नक्कली दाइ बनेका आशाराम स्थानीय चुनावमा वडा अध्यक्ष घिमिरेका चालक थिए । लामो समय शिक्षण पेशामा आवद्ध घिमिरेले स्थानीय चुनावमा शिक्षकबाट राजीनामा दिएर चुनाव लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment