Comments Add Comment

छापामा आजः अनियन्त्रित गाडी हाँकिरहेका पारस ट्राफिकको फन्दामा


३१ जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् । केहीले आजदेखि शुरु हुने विश्वकप फुटबलमाथि मुख्य समाचार लेखेका छन् भने कुनैको प्राथमिकतामा अनियमितता, बेथिति, अभावलगायत विषय परेका छन् ।

कान्तिपुर, नागरिक र राजधानी दैनिकले विभिन्न शीर्षक दिएर विश्वकप फुटबलको समाचारलाई मुख्य समाचार बनाएका छन् । अन्नपूर्णले पहिलो पृष्ठमा एंकर बनाएर यसको कभरेज गरेको छ भने अन्य पत्रिकाहरुले पनि यसलाई भित्री पृष्ठमा समेटेका छन् । पूर्वी युरोपमा पहिलोपटक विश्वकप फुटबलको महाकुम्भ हुँदैछ, जसको सौभाग्य रुसले पाएको छ ।

सडकमा बढ्दो टिपर आतंकबारे अन्नपूर्ण र कान्तिपुरमा समाचार छ । कान्तिपुरले अधिकांश टिपर चालक कम उमेरका भएकाले गैरजिम्मेवारीपूर्ण तरिकाले चलाउने र दुर्घटना निम्तिने गरेको औंल्याएको छ । पछिल्लो समय टिपरको लापरबाहीका कारण कैयनले ज्यान गुमाएका छन् ।

सांसदलाई तालिम दिन युएनडीपीले ६४ करोड सहयोग दिने सम्झौता गरेको समाचारलाई मुख्य समाचार बनाएर छापेको नयाँ पत्रिका दैनिकले अनियन्त्रित गाडी हाँकिरहेका पूर्वयुवराज पारस शाह ट्राफिकको फन्दामा परेको लेखेको छ । समाचार अनुसार, तीव्र बेगमा गाडी हाँकेका पारसलाई जावलाखेल, हरिहरभवन र कुपन्डोलमा रोक्न असफल प्रहरीले थापाथलीमा रोकेको थियो ।

यसका अतिरिक्त भूकम्पबाट प्रभावित २ सय ८६ गाउँ पहिरोकाके उच्च जोखिममा रहेको, गैससमाथि लगाम लगाइएको, प्रदेश ३ का जिल्लाहरुमा मात्रै १६१ बालबालिका रहेको समाचारलाई पनि पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

ट्राफिकको फन्दामा पूर्वयुवराज पारस

ट्राफिक नियमको बेवास्ता गर्दै तीव्र गतिमा गाडी हाँक्ने पारस ट्राफिकको फन्दामा परेका छन् । पारसले तीव्र गतिमा चलाएको बा.१४ प २१३१ नम्बरको गाडी प्रहरीले समातेको हो ।

जावलाखेलदेखि हुँइकिएका उनलाई जावलाखेल प्रहरीले सोमबार थापाथलीमा नियन्त्रणमा लिएको नयाँ पत्रिकामा खबर छ ।

ट्राफिकले कागजपत्र नियन्त्रणमा लिएको र माग्दा नदिएको समाचारमा उल्लेख छ ।

प्रहरीले लाइसेन्स नदिएपछि पारसले आक्रोसित हुँदै ‘तैंले मलाई चिन्नुपर्छ’ भनेको तर ट्राफिक प्रहरीले नदिएको नयाँ पत्रिकाले लेखेको छ ।

लाइसेन्स र ब्लुबुक ट्राफिकलाई छाडेर हिँडेको केही समयपछि उनका अंगरक्षक थापाथली ट्राफिक प्रहरी कार्यालय पुगेका थिए । पारसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले पाँच सय जरिवाना गरेको रसित काटेको थियो । रसिदमा चालक र धनीको नाम पारस वि.वि. शाह उल्लेख छ । अंगरक्षकले बैंकमा पाँच सय जरिवाना तिरेर पारसको ब्लुबुक तथा लाइसेन्स लगेको नयाँ पत्रिकामा खबर छ ।

सांसदलाई तालिम दिन यूएनडीपीको ६४ करोड

देशको नीति निर्माण गर्ने थलो संसदमा दाताको प्रभाव निरुत्साहित गर्नुपर्ने आवाज उठिरहेका बेला संसद् सचिवालयले सांसदहरुको सशक्तीकरणका लागि भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बाट झन्डै ६४ करोड रुपैयाँ सहयोग लिने सम्झौता गरेको छ ।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र यूएनडीपीका प्रतिनिधि खरेनउड मेयरबीच ५९ लाख १५ हजार २ सय ५७ अमेरिकी सहयोगको सम्झौता भएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

समाचार अनुसार, १० वैशाखमा भएको उक्त सम्झौताबारे अधिकांश सांसद मात्रै होइन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेत अनविज्ञ छन् ।

महिनामा अर्बको बिजुली चोरी

चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ। यस हिसाबले एक महिनामा एक अर्ब रुपैयाँको बिजुली चोरी हुने गरेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकले देखाएको छ।

चालू आर्थिक वर्षको १० महिनामै एकै अर्ब एक करोड युनिट बिजुली चोरी भएको प्राधिकरणका प्रवक्ता प्रवक्ता प्रबल अधिकारीलाई उद्धृत गर्दै नागरिकले खबर लेखेको छ ।

प्रतियुनिट १० रुपैयाँ २ पैसा प्राधिकरणलाई यसबापत घाटा हुने गरेको छ । गत असारसम्म प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत बिजुली चुहावट हुने गरेको थियो। तर चालू आर्थिक वर्षको वैशाखसम्ममा त्यसलाई घटाएर २० प्रतिशतमा झारेको प्राधिकरणले जनाएको छ।

यसैबीच बिजुली चोरी नियन्त्रण गर्न गृह मन्त्रालयले सघाउने भएको छ ।

दूधका ४२ मध्ये ४० ब्रान्डमा सोडा

राजधानीमा दूध प्रशोधन गरी बिक्रीवितरण गर्दै आएका अधिकांश उद्योगहरुले अम्लीयपन घटाउन (फाटन नदिन) आफ्ना उत्पादनमा मानव स्थास्थ्यका लागि हानिकारक सा्डा मिसाउने गरेको पाइएको छ ।

कान्तिपुरका अनुसार केन्द्रीय प्रयोगशालाले २५ वटा दूध प्रशोधन उद्योगका ४२ ब्रान्डका नमूना परीक्षण गरेकामा ४० वटा ब्रान्ड (पाउच) का दूधमा सोडा मिसाएको पाइएको कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिबेदनले औंल्याएको छ ।

राजधानीमा ३० वटा दुग्ध प्रशोधन उद्योगले पाउचमा दूध बिक्री गर्दै आएका छन् । यीमध्ये २५ वटा उद्योगका ४२ वटा ब्रान्डका नमूना सोमबार कृषि, भूमिसुधार तथा सहकारीमन्त्री चक्रपाणि खनाल नेतृत्वको टोलीले संकलन गरेको थियो ।

हेर्नुस् पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment