Comments Add Comment

विश्वकपः तपाई रसियाको समर्थक कि साउदीको ?

कुन टीमको समर्थक के आधारमा बन्ने ?

३१ जेठ, काठमाडौं । आजबाट रसियाको खेलमैदानमा विश्वकप फुटबलको सुभारम्भ हुँदैछ । शुरुवाती खेल नेपाली समय अनुसार राति ८ः४५ बजे समूह ‘ए’ अन्तरगतका रसिया र साउदी अरेबियावीच हुँदैछ । आम नेपाली दर्शकहरुमा चर्चा छ- तपाई कतापट्टि लाग्ने ? रसिया कि साउदी ?
विश्वकपमा कुन टीमको समर्थक बन्ने भन्ने विषय निकै नै अप्ठ्यारो छनोटको विषय हो । वृद्धदेखि वालकसम्म सबैले ‘म त फलाना टीमको समर्थक हुँ’ भन्न थालिसकेको अवस्थामा तपाई हामीमा पनि कोही न कोही टीमको समर्थक बन्न दबाव परिरहेकै छ ।

कुनै गेम हेर्न बसिसकेपछि एउटाको पक्ष लिनु स्वाभाविकै पनि हो । उदाहरणका लागि आज हुने रसिया र साउदी वीचको खेलमा दर्शकका रुपमा कुनै न कुनै टीमप्रति सहानुभूति त जनाउनैपर्ने हुन्छ । तर, कताको पक्ष लिने रसियाको कि साउदीको ? यो अप्ठ्यारो छनोट हो ।

काठमाडौंको गल्लीमा यतिबेला अर्जेटिनाको जर्सी लगाएर हिँड्नेहरुको संख्या बढेको छ । त्यसैगरी ब्राजिलको पहेंलो जर्सी अनि जर्मनीको सेतो जर्सी पनि देखिइरहेका छन् । गल्ली गल्ली चोक चोकमा यो टीम र त्यो टीम भन्दै नेपालीहरुवीच भनाभन सुरु भइसकेको छ ।

आखिर के आधारमा नेपालीहरुले अर्जेन्टिना, जर्मनी, ब्राजिल वा अन्य कुनैपनि टीमको पक्ष लिन्छन् ? यसको छनोटको आधार के हो ? के यसमा विशुद्ध खेलको सौन्दर्यले मात्रै काम गरेको छ कि अरु पनि राजनीतिक वा भावनात्मक पक्ष जोडिएको छ ? यो प्रश्न निकै नै रोचक छ ।

टीम छनोट गर्ने केही आधारहरु

विश्वकपमा कुन टीमको पक्ष लिने भन्ने छनोटका पछाडि केही तर्कहरु पाइन्छन् । जस्तो कि धेरैले अर्जेन्टिनाको पक्ष लिनुका पछाडि मेस्सीलाई मन पराउनु, उनको फ्यान बन्नु अनि अर्जेन्टिनाको खेल प्रदर्शन राम्रो हुनु पनि हो ।

त्यसैगरी रोनाल्डो, मुलर नेयमार वा अरु कसैलाई मन पराएकै आधार उनैको टीमको पक्ष लिने ट्रेन्ड पनि देखिएको छ ।

तर, एउटा खेलाडी मन पर्दै उसैको देशको टीमलाई समर्थन गरिहाल्नुपर्छ भन्ने छैन भन्नेजस्तो मान्यता राख्ने मानिसहरु पनि छन् ।

उदाहरणका लागि खेललाई राम्रोसित बुझेका राप्रपाका नेता कमल थापाले व्यक्तिगत रुपमा मेस्सी, रोनाल्डो आदिको खेल मन परेता पनि आफू जर्मनको समर्थक रहेको बताएका छन् ।

तर, विश्वकपमा टीम छनोट गर्दा फ्यान वा राम्रो खेलाडि मात्रै हेरिँदैन । कतिपयले राजनीतिक विचारधारा, जात, क्षेत्र आदिलाई पनि आधारका रुपमा लिने गरेको पाइन्छ । फुटबल आफैंमा निवर्गीय सौन्दर्य बोकेको विश्वविख्यात खेल हो । यसले संसारलाई एउटा मैदानमा जोड्छ । तर, यसलाई हेर्ने मामिलामा दर्शकहरुको चश्मा आ-आफ्नै रंगको हुने गर्छ ।

जस्तै अर्जेन्टिनाले फोकल्याण्डमा गोर्खालीमाथि गोली चलाएको हुनाले म अर्जेन्टिनाको पक्षमा लाग्दिनँ भन्नेहरु पनि छन् । कोही चाहिँ म चे ग्वेभाराको फ्यान हुँ, त्यसैले उसको देश अर्जेन्टिनालाई समर्थन गर्छु भन्नेहरु पनि छन् ।

एउटा अफि्रकन दर्शकले फ्रान्स र अफि्रकी देशको टीमवीच फुटबल भइरहँदा पक्कै पनि फ्रान्सलाई समर्थन गर्दैन । युरोपको कुनै टीम र अफि्रकाको टीमवीच खेल हुँदा अफि्रकी दर्शकले युरोपेली टीमको समर्थन शायदै गर्ला । किनभने, त्यतिबेला अफि्रकन दर्शकले युरोपले विगतमा अफि्रकामाथि लादेको उपनिवेशवादको समर्थन गर्छ ।

कुनै मुस्लिम समुदायको दर्शकको हकमा पनि यही कुरा सत्य हुन सक्छ । जस्तो साउदीको टीमले रसिया वा अरु कुनै युरोपेली मुलुकसँग खेल भइरहँदा आफ्नै खाडी मुलुकलाई समर्थन जनाउने सम्भावना बढी रहन्छ ।

रसिया र अन्य कुनै देशवीच खेल हुँदा कम्युनिष्ट ह्याङओभर बोकेको कुनै नेपाली दर्शकले पुरानो सोभियतसंघ सम्झँदै रसियाको पक्ष लिने सम्भावना बढी हुन सक्छ । त्यस्तै कांग्रेसको छाता ओढेको दर्शकले रसियालाई छ्या भन्न पनि सक्छ । त्यस्तै दक्षिण कोरियाको टीमले खेलिरहँदा कुनै चिनियाँ दर्शकले दक्षिण कोरियाभन्दा विपक्षी टीमलाई समर्थन जनाउन सक्छ ।

खेलकुदमा कसको समर्थन गर्ने भन्ने विषयमा राजनीतिले निकै ठूलो भूमिका खेल्ने गरेको पाइन्छ ।

यस्ता उदाहरणहरुलाई हेर्दा विश्वकपमा कुन टीमलाई समर्थन गर्ने भन्ने मामिलामा केही न केही ऐतिहासिक, राजनीतिक, एवं सामुदायिक भावनाले प्रभाव पारेको निश्कर्ष निकाल्न सकिन्छ ।

तर, नेपाली खेलअनुरागीहरुमा भने अचम्मको छनोट विधि छ । धेरै नेपालीहरु दक्षिण अमेरिकाजस्तो साइनो सम्बन्ध नै नरहेका मुलुकका टीमहरुप्रति बढी क्रेजी देखिन्छन् । र, यही कारणले काठमाडौं र अन्य शहरका गल्लीमा ब्राजिल र अर्जेन्टिनाका जर्सीहरु बिक्ने गर्छन् । नेपालीहरुको यो छनोटमा जातीयता वा क्षेत्रीयता भन्दा पनि विशुद्ध खेल-सौन्दर्यप्रतिको भाव झल्कन्छ ।

विश्वकप फुटबलमा दक्षिण अमेरिकी देशहरुको उपस्थिति बलियो छ । त्यससँगै बलियो उपस्थिति भनेको युरोको हो । अफि्रका विस्तारै अघि बढ्दैछ । र, एशियाको उपस्थिति त निकै नै कमजोर छ । उदाहरण यही नै पर्याप्त छ कि एशियामा आफूलाई पावरफूल ठान्ने चीन, भारत, पाकिस्तान, इण्डोनेसिया, थाइल्याण्ड, सिंगापुर कसैको पनि विश्वकप-२०१८ मा नामो निशाना छैन । नेपालको त कुरै नगरौं ।

यस्तो स्थितिमा अहिलेको विश्वकपमा एशियाबाट साउदी अरेबिया, दक्षिण कोरिया, इरान, जापान र स्वयं आयोजक देश रसियाले भाग लिइरहेका छन् । तैपनि नेपाल लगायतका एशियाली देशका फुटबलप्रेमीहरु ‘आफ्नो महादेश’ भन्ने पक्षमा छैनन् । उनीहरु राम्रो एवं जित्ने टीम छान्छन् र दक्षिण अमेरिका एवं युरोपतिरै नजर लगाउँछन् ।

एशियाका टीमलाई समर्थन जनाएर विश्वकप जित्ने अनुमान गर्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment