Comments Add Comment

दुई छाक भातका लागि सांसदलाई दाता चाहिदैनः दीनानाथ शर्मा

३१ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नकेपा) का नेता एवम् राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले नेपालका सांसदहरुलाई एक/दुई वटा प्रशिक्षणको लागि विदेशीको सहयोग लिन जरुरी नरहेको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लबमा बिहीबार आयोजित साक्षात्कारमा बोल्दै नेता शर्माले भने, ‘यूएनडीपीले हामीलाई प्रशिक्षणको लागि नै सहयोग गर्न जरुरी छैन, बरु संसद भवन निर्माण गरिदिए हुन्छ, सांसदको लागि आवास बनाइदिए हुन्छ, टुक्रे र खुद्रे कामको लागि हामीलाई सहयोग चाहिँदैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘यूएनडीपीलाई मेरो भन्नु के छ भने यस प्रकारको सहयोग गर्न हामीलाई रकम चाहिँदैन्, दुई दिनको सेमिनारमा दुई छाक भात हामी आँफ्नै पैसाले खाएर पनि प्रशिक्षण लिन सक्छौं ।’

सांसदहरुलाई एउटा झोला भिराएर प्रभावित पार्ने काम नहोस् भन्ने शर्माको आग्रह छ । उनले भने, ‘उनीहरुले दिएको पैसा राष्ट्रिय महत्वका काममा सदुपयोग होस्, यो कुरा यूएनडिपीको केन्द्रीय हेडक्वार्टरमा पुगोस् ।’

नेता शर्माले साना-साना काममा सांसदलाई विदेश पठाउने र कार्यक्रममा बोलाउने काम भैरहेको भन्दै आपत्तिसमेत जनाए । उनले भने, ‘व्यक्ति/व्यक्तिसँग सम्पर्क बढाउने र प्रभावित पार्ने काम भएको छ, अब यी कामहरु बन्द होउन् ।’

सांसदलाई अब कसैलेपनि ‘डिक्टेट’ गर्न नपर्ने शर्माको जिकिर छ । उनले भने,’हामी आपसमा छलफल गर्छौं, चाहिने ऐन तथा कानून निर्माण गर्छौं, तर हामीले अन्तर्राष्ट्रिय अनुभवहरु आदान-प्रदान गर्नुपर्छ ।’

दातृ निकायको सहयोग प्रायोजित रुपमा नभइकन आफूहरुको हितमा उपयोग हुनुपर्ने उनको भनाइ छ ।

शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने दाबी गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमण विकास निर्माण र समृद्धिमा बढी केन्द्रित हुनुपर्छ, उनको भ्रमणले दुई देशबीचको सद्भाव बढाउने हो, नेपालको समृद्धिको लागि चीन र भारतबाट हामीले सहयोग लिन सक्नुपर्छ ।’

प्रधानमन्त्री ओलीको चीन भ्रमण राजनीतिकभन्दापनि सद्भावपूर्ण भ्रमण हुने उनको विश्वास छ ।

चीनको ‘वान बेल्ट वान रोड’को वेल्ट एण्ड रोड ईनिसियसन र व्यापार तथा पारवाहनबाट पनि नेपालले फाइदा लिनुपर्ने शर्माको तर्क छ । उनले भने, ‘प्रधानमन्त्रीको यो भ्रमण पूर्ण रुपमा सफल हुन्छ भन्नेमा म विश्वस्त छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment