Comments Add Comment

सेलवेजको दशौं शाखा बिरौटामा खुल्यो

३१ जेठ, पोखरा । पोखराको महेन्द्रपुलबाट ब्यबसाय शुरु गरेको सेलवेज डिपार्टमेन्टल स्टोर्सले पोखराको विरौटामा नयाँ शाखा खोलेको छ ।

आफ्नो दशौं शाखाको रुपमा सञ्चालनमा ल्याएको सेलवेजले विरौटाचोक शाखाबाट शुक्रबारदेखी कारोबार शुरु गर्ने विहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

पोखरामा भने सेलवेजको यो तेश्रो शाखा हो । यसअघि सेलवेजले पृथ्वीचोक र लेकसाइडमा शाखा बिस्तार गरिसकेको छ ।

विरौटा शाखाबाट खाद्यान्नका वस्तुहरु, मासुजन्य वस्तुहरु, दुग्धजन्य पदार्थहरु, मदिराजन्य वस्तुहरु, जुसजन्य पदार्थहरुलगायतका सामानहरु विक्री हुने सेलवेजका सञ्चालक तथा निर्देशक सुशीलमान प्रधानाङ्गले जानकारी दिए ।

ब्यबसायमा वर्षौंदेखिको अनुभव, व्यवसायीक इमान्दारिता, मेहनत तथा ग्राहकहरुले देखाएको अपार विश्वासलाई कदर गर्दै आफूहरुले विरौटा शाखा खोलेको उनले बताए ।

यसैबीच सेलवेजमा म्याद गुज्रेका सामान भेट्नेलाई इनाम दिने घोषणा भएको छ । सेलवेजका सञ्चालक तथा निर्देशक सुशीलमान प्रधानाङ्गले आफ्नो डिपार्टमेन्टल स्टोर्समा म्याद गुज्रेको सामान आगामी दिनमा भेट्नेलाई इनाम दिने घोषणा गरेका हुन् ।

केही दिनअघि मात्र गुणस्तर तथा नापतौल विभाग कास्कीले अनुगमनका क्रममा पोखराको महेन्द्रपुलस्थित सेलवेजबाट म्याद गुज्रेका सामान बरामद गरेको विषयमा प्रष्ट पार्दै उनले कर्मचारीको त्रुटीका कारण २/३ वटा सामान म्याद गुज्रेको भेटिएको स्वीकार्दै आगामी दिनमा त्यस्तो नदोहोरिने बताए । उनले भने,’हो हाम्रोमा म्याद गुज्रेको सामान भेटिएको सत्य हो, हाम्रो सबै सिस्टमबाट चल्छ तर कर्मचारीको गल्तीका कारण त्यस्तो भएको हो, तर अब त्यस्तो गल्ती दोहोर्‍याउँदैनौं, आगामी दिनमा कसैले सेलवेजबाट म्याद गुज्रेको सामान भेट्टाए इनाम दिन्छौं ।’

सेलवेलमा विक्रीका लागि राखिएका सामानहरु ८० प्रतिशत आयातित रहेको सञ्चालक प्रधानाङ्गले जानकारी दिए । उनले भने,’नेपाल कृषि प्रधान देश हो भनेर मैले पनि पढेको हुँ, तर यहाँ बेचिने चामलदेखी दालसम्म हेर्दा ८० प्रतिशत आयातित सामान हुन्छ, बाँकी २० प्रतिशत मात्र स्थानिय उत्पादन हो ।’

सेलवेजले विरौटामा नयाँ शाखा सञ्चालनमा ल्याएको अवसरमा अफर दिने जनाएको छ । सञ्चालक प्रधानाङ्गका अनुसार नयाँ शाखा विरौटामा सामान खरिद गर्ने ग्राहकलाई १५ दिनसम्म एक हजार सामानको खरिदमा १ किलो चिनी, एउटा आइसक्रिम, एउटा रियल जुस र एक किलोको खाने तेल सित्तैमा प्रदान गरिनेछ । साथै विभिन्न ब्राण्डका सामानहरुको स्वादसमेत निःशुल्क चखाइने जनाइएको छ ।

आजभन्दा २५ वर्षअघि पोखराको महेन्द्रपुलमा २ वटा सटरबाट ब्यबसाय शुरु गरेको सेलवेजको काठमाडौंमा ६, पोखरामा ३ र धरानमा १ शाखा रहेका छन् । सेलवेजले ११ औं शाखा भने एक महिना पछि काठमाडौंमा खोल्न लागेको सञ्चालक प्रधानाङ्गले जानकारी दिए । त्यस्तै केही समयपछि नै पोखराको अमरसिंहचोक वा रामबजार पेन्सनक्याम्प वरीपरी अर्को शाखा खोल्ने तयारीमा रहेको उनले बताए ।

२ वटा सटरमा १५ लाख खर्चेर २५ वर्ष अघी ब्यबसाय शुरु गरेका प्रधानाङ्गले अहिले सेलवेजमा एक अर्ब भन्दा बढी लगानी भइसकेको जानकारी दिए । शुरु गरेको २ वर्षपछि वैंकबाट २० लाख ऋण लिएर सेलवेज डिपार्टमेन्टल स्टोर्स बनाएको स्मरण गर्दै उनले अहिले वैंकमा ५० करोड लोन पुगेको बताए । मुख्यसहित सबै शाखाहरुमा गर्दा हाल सेलवेज कम्पनीमा ५ सयले प्रत्यक्ष रोजगारी गरिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment