Comments Add Comment

ब्राजिलको बलियो सम्भावना, तर अरु हेर्न मात्र गएका होइनन् !

काठमाडौं । विश्वकपमा जब ब्राजिल, स्पेन, जर्मनी र फ्रान्सको कुरा हुन्छ, अरु टिम कमजोर नै लाग्छन् । तर, विश्वकप ‘होम एण्ड अवे’ का आधारमा हुने च्याम्पियन्स लिग जस्तो होइन ।

राम्रा मानिएका देशलाई कुनै पनि बेला सामान्य सोचिएको देशले हराइदिनसक्छ । विश्वकप खेलमा हुने उत्साह र आवेग अरु कुनै आँकलनभन्दा बाहिर छ ।

जब तपाइँ विश्वकपका खेल हेर्दै हुनुहुनेछ यो कुरा याद गर्नुस् । विश्वकपमा पछिल्लो तीन फाइनल निर्धारित ९० मिनेट बराबरीमा सकिएको छ । पछिल्लो १२ फाइनलमध्ये ८ मा एक गोल अन्तर कि त अतिरिक्त समय कि त टाइबे्रकरमा पुगेको छ । जब मैदानमा भइन्छ तब सोचेजस्तो हुँदैन ।

ब्राजिलः बलियो सम्भावना

यो समय ब्राजिल सबैभन्दा मन पराइएको टिम हो । जतिबेला टिटेले ब्राजिलियन टिम सम्हाले, अबब के होला भन्ने अवस्था थियो । उनका लागि छैठौं पटक विश्वकप उपाधि जित्ने मात्र होइन, ब्राजिलियन फुटबलटिमप्रति गुमेको विश्वास पनि फर्काउने जिम्मेवारी थियो । गएको विश्वकप सेमिफाइनलमा जर्मनीसँग ७-१ ले हारेपछि पूरा देश चिन्तामा थियो ।

त्यो हारका बेला घाइते भएर मैदानबाहिर रहेका विश्वका सबैभन्दा महंगा फुटबलर नेइमार अहिले फिट छन् । मिडफिल्डदेखि विपक्षी गोलपोस्टसम्म उनको कला राम्रो छ ।

अर्का छन्, गोलकिपर एलिसन । यसपटक ब्राजिलियन टिमको जितमा नेइमार र एलिसनकै प्रमुख भूमिका छ ।

नेइमार र एलिसन मात्र होइन, उम्दा र युवा खेलाडीले भरिएको ब्राजिल टिम निकै बलियो देखिन्छ ।

ब्राजिलले सन् १९३० देखि २०१४ सम्म २० पटक विश्वकप खेलेको छ । सन् १९३० देखि विश्वकपमा सहभागी हुन थालेको ब्राजिलले त्यसको २८ वर्षपछि सन् १९५८ मा पहिलो उपाधि जितेको थियो । त्यसपछि १९६२, १९७०, १९९४ र २००२ मा ब्राजिल विश्व विजेता बन्यो । ११ पटक सेमिफाइनलमा पुगेको ब्राजिलले सातपटक फाइनल खेलेको छ । चार पटक क्वाटरफाइनलबाट बाहिरिएको छ ।

जर्मनीः ब्राजिलको मुख्य भिलेन

चार वर्षअघि ब्राजिलियन टिमको भिलेन बनेको थियो जर्मनी । यो पटक पनि जर्मनी प्रमुख दावेदार नै हो ।

तर, ५६ वर्षअघि लगातार दुई विश्वकपमा ब्राजिलले जितेपछि कुनै देशले लगातार दुईपटक जितेको छैन । पेलेको ब्राजिल त्यतिबेला १९५८ र १९६२ मा लगातार विश्व विजेता बनेको थियो ।

जर्मनी पछिल्लो चार विश्वकपमा सेमिफाइनल पुगेको छ । त्यसअघि पनि जर्मनी टिमको रेकर्ड राम्रो छ । यसपटक पनि उनीहरु मानसिक, शारीरिक र खेल क्षमताका आधारमासमेत तयार छन् । त्यसैले विश्व च्याम्पियन बन्ने ब्राजिलको सपनामा यसपटक पनि जर्मन टिम नै प्रमुख बाधक बन्न सक्छ ।

स्पेनः २०१० कै लयमा 

विश्वकप सुरु हुुनु एक दिन स्पेनको फुटबल टिममा ठूलै उथलपुथल भयो । प्रशिक्षक नै बर्खास्त भए ।

तर, २०१० को विश्व विजेता स्पेन टिममाथि यसपटक पनि आशा छ । मुख्य प्रशिक्षक जुलेन लोपेटेगी बर्खास्त हुँदा टिममा मानसिक रुपमा जति दबाव परेको छ, त्यति नै अझ एकतावद्ध गरेको छ ।

लोपेटेगीको स्थान फर्नान्डो हिरेरोले लिएका छन्, जो स्पेनिस टिमका हरेक सदस्यका लागि चिरपरिचित पात्र नै हुन् । त्यसैले पनि स्पेनका खेलाडीहरु अहिले पनि खेलबाहेक अरु सोचिरहेका छैनन् ।

त्यसैले स्पेन पनि उपाधिको दावेदार नै हो ।

युरोपियन फुटबलमा स्पेनिस खेल शैली नचल्ने अनुमान भइरहेका बेला पछिल्ला २० खेलमा स्पेनले जे गरेको छ, त्यसका आधारमा ब्राजिललाई रोक्न सक्षम देखिन्छ । विश्वकप जित्दाका केही खेलाडीको आˆनै शैलीको खेलसँगै यसपटक टोलीमा नयाँ खेलाडी पनि रहेकाले स्पेन बलियो बनेको छ ।

फ्रान्स : हरेक खेलाडी उम्दा

विश्वकप खेल्ने २३ जनाको टोलीमा परेकाबाहेक अरु खेलाडीको टिम बनाउँदा पनि प्रतिस्पर्धामा आउने टिम हो फ्रान्स ।
जित चाहिएको बेला खेल हार्ने ‘खराब बानी’ यसपटक नदोहोरिने हो भने फान्स टिम कसैले रोक्ला र जस्तो देखिन्छ ।

डिफेन्समा स्यामुअल उमटीटी हुन् या राफेल भराने, मिडफिल्डमा पोउल पोग्वा हुन् या एन्जेलो कान्टे, अगाडि केलियन एमबाप्पे र एन्टोनी गि्रजम्यान सबै उम्दा छन् ।

त्यसैले २०१६ को युरो कप फाइनलमा भएको हारलाई हेरेर फान्सको सम्भावना आँकलन गर्न मिल्दैन । कतिपय समय सोचिएको प्लानले काम बन्दैन । साथै घरेलु मैदानको प्रेसर पनि सानो हुँदैन । त्यसपछि पनि फ्रान्स टिममा धेरै परिर्वतन भएको छ, जसले जितको बलियो आधार बनाएको छ ।

मेस्सी र रोनाल्डो

विश्वकपको दाबेदारीको कुरा गर्दा लियोनल मेस्सीको देश अर्जेन्टिना र क्रिष्टियानो रोनाल्डोको पोर्चुगलको कुरा नगरी कसरी होला । उनीहरुको टिममाथि गरिएको आश अनुरुप मिल्नेसम्म तयारी दुवै देशले गरेका छन् ।

पोर्चुगलले युरो कप जितेको सम्झने हो भने त आश नगर्ने पनि कसरी ? चमत्कार खेलमा हुने कुरा त होइन । तर, ‘खेल हो भन्न सकिन्न’ भन्ने भनाइ सही भइदिन सक्छ । त्यस्ता उदाहरण पनि प्रशस्त छन् ।

उस्तै लाग्छ मेस्सीको अर्जेन्टिना पनि । गएको विश्वकपमा फाइनलमा निराश बनेको अर्जेन्टिनामाथि यसपटक पनि आश गर्न मिल्ने ठाउँ छन् । अर्जेन्टिनाको अगाडि खेल्ने स्टार खेलाडीहरु खेलमा पनि राम्रै लयमा रहे पनि डिफेन्स लाइन उति बलियो छैन । त्यसैले अर्जेन्टिना र पोर्चुगलले विश्वकप जित्छ भन्ने दाबी गर्दा असामान्य खेल प्रदर्शनलाई सम्झनु पर्ने हुन्छ ।

अनि अरु ?

अहिले आश गर्न मिल्ने अर्को राम्रो टिम हो इंग्ल्याण्ड । प्रशिक्षक ग्यारेथ साउथगेटले गरेको मेहनत र युवा खेलाडीको उत्साह हेर्दा इंग्ल्याण्ड राम्रो टोली हो । सबै इंग्लिस लिग खेल्ने खेलाडी रहेको इंग्ल्याण्ड टोलीको खेल हेर्न लायक हुन्छ । सोचिरहेको नतिजामा फरक पारिदिने क्षमता उनीहरुसँग छ ।

अर्कोतर्फ यो बेल्जियम फुटबलको सुनौलो युग हो । खेलाडी हेर्दा बेल्जियम टिम सन्तुलित देखिन्छ । गएको विश्वकपमा बेल्जियम क्वाटरफाइनलमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो ।

तर, बेल्जियमको दुःख के हो भने हरेक खेलाडी व्यक्तिगत रुपमा उम्दा छन् तर, मैदानमा टिमको प्रदर्शन औषत मात्र रहन्छ । बेल्जियमका खेलाडीहरुको उदर्शनको निरन्तरता पनि रहँदैन ।

विश्वकपको दाबेदारी दिन सक्ने बेल्जियम यसपटक सेमिफाइनलसम्म पुग्ने अनुमान फुटबल पण्डितहरु गर्छन् ।

उसो भए रुस विश्वकपको सम्भावित विजेता बारे सोच्दा अरु कुन-कुन टिम सोच्न सक्नुहुन्छ ? केहीलाई छाडेर सबै । सोच्न त पाइन्छ नै । अझ खेलमा आश गर्न मिल्ने ठाउँ धेरै हुन्छन् ।

लुइस स्वारेज र इडिसन काभानीको उरुग्वे, लुका मोडरिक र इभान र्‍याकिटिकको क्रोयसिया, जेम्स रोडि्रग्वेजको कोलम्बिया यस्ता टिम हुन्, जसमा प्रतिभाहरु अब्बल छन् तर, स्थिरता कमजोर । तर, यो विश्वकप हो । केही हप्ताका लागि उत्कृष्ट खेल्न सक्दा नतिजा धेरै यताउति हुनेछ ।

९० मिनेटअघि सोचिएको कुरा खेल सकिँदासम्म अर्कै भइदिन्छ । बेला यस्तै हुन्, जहाँ इतिहास बन्छ । कोस्टारिका, इजिप्ट, डेनमार्क, स्वीडेन, दक्षिण कोरिया, आइसल्याण्ड, पानामा हरेकले सक्दो गर्ने छन् । उनीहरुले पनि कुनै पनि बेला सोचिएको नतिजालाई उल्टाउन सक्ने छन् ।

यसैले ब्राजिलको सम्भावना बलियो भएपनि कमजोर खेल कसले खेल्ला र ? हरेक देशका लागि विश्वकप अघिको बार हुन् बाँकी ३१ देश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment