Comments Add Comment

रेस ३ समीक्षाः दर्शकलाई ३ घन्टा ‘यातना’


अब्बास मस्तानद्वारा निर्देशित सस्पेन्स थ्रिलर फिल्म ‘रेस’ले दर्शकको मथिंगललाई हल्लाएको थियो । सन् २००८ मा आएको यो फिल्मको दोस्रो सिक्वेल पनि दमदार रह्यो । अहिले यसको तेस्रो सिक्वेलका रुपमा ‘रेस ३’ रिलिज भएको छ, जसमा सलमान खानले प्रमुख भूमिका निभाएका छन् ।

सलमानको नामबाटै हलहरुमा दर्शकको भिड जम्मा हुन्छ । उनका फ्यानहरुले ‘रेस ३’ बाट धेरै आशा गरेका थिए होलान् । तर फिल्म गतिलो छैन । आम दर्शकहरुलाई त सलमानले निराश बनाएका छन् नै, उनका डाइ हार्ड फ्यानहरु पनि यस फिल्मबाट दिक्क हुनेछन् । ‘रेस’ को ब्रान्डलाई यो सिक्वेलले चकनाचुर बनाइदिएको छ ।

फिल्मको कथा गल्फ कन्ट्रीबाट सुरु हुन्छ जहाँ शमशेर सिंह (अनिल कपुर) आफ्ना छोराछोरी संजना (डेजी शाह) र सूरज (साकिब सलीम) सँग बस्छन् । साथै उनको हतियारको व्यापारलाई उनको सौतेनी छोरा सिकन्दर (सलमान खान) ले पनि हेर्छन् ।

सिकेन्दरका बडिगार्ड हुन्छन् यश (बबी देवल) । राणा (फ्रेन्डी दारुवाला) को इन्ट्रीपछि कथामा ट्वीस्ट आउँछ । उ शमशेर सिंहको विजेनसलाई बर्बाद बनाउन चाहन्छ । कथामा जेसिका (ज्यालिन फर्नान्डिस) को पनि अहम् भूमिका छ । ड्रग्स, हतियार, चेस सिक्वेन्स र इलाहाबाददेखि गल्फ कन्ट्रीसम्मको यात्रा शमशेर सिंहले कसरी तय गर्छ र त्यसको पछाडि के हुन्छ भन्ने सिक्वेन्समा फिल्मको कथा बुनिएको छ ।

कथा असाध्यै कमजोर छ । र, त्योभन्दा कमजोर छ पटकथा । कुनै पनि भूमिकालाई न्यायसंगत बनाउन लेखक समर्थ छैनन् । कथामा न हिरोको उपस्थिति छ न दमदार भिलेनको । फिल्मका लामा-लामा गीतले यसको लम्बाई बढाउन मात्रै मद्दत गरेका छन् । सलमान खानले लेखेको ‘सेल्फीस’ गीत आफैंमा बकवास छ, त्यसमाथि दुईपटक दोहोर्‍याइएको छ । फिल्मका कतिपय संवादहरु हास्यास्पद छन् ।

फिल्मका कुनै पनि दृष्यमा ‘लजिक’ नामको चिज छैन । कथा कहिले हतियारको कारोबारबाट ड्रग्स र वेश्यावृत्तीमा पुग्छ, त कहिले एउटै परिवारभित्रको अन्तरकलह देखिइन्छ । कुनै पनि सिक्वेन्सले दर्शकलाई बाँध्न सक्दैनन् ।

सलमान खान अभिनेताभन्दा बढि स्टन्टम्यान देखिएका छन् । न उनको अभिनयमा नयाँपन छ न एक्सनमा । अनिल कपुरको अभिनय तुलनात्मकरुपमा राम्रो छ । डेजी शाह र ज्याकलिन फर्नान्डिजले पनि कुनै पनि प्रभाव छोड्न सकेका छैनन् । बाँकी कलाकारहरु औसत छन् । ।

‘रेस’ भन्नासाथै दर्शकले ‘टि्स्ट एन्ड टन्र्स’ को अपेक्षा गर्छन् । तर, यो फिल्ममा दर्शकलाई झस्काउने खालका ट्वीस्टहरु केही पनि छैनन् । फिल्ममा उत्तर प्रदेशको भाषाको प्रयोग गर्ने कोशिष गरिएको छ, जुन त्रुटीपूर्ण छ । फिल्मको थ्री डी क्वालिटी पनि सटीक छैन ।

समग्रमा ‘रेस ३’ ले दर्शकलाई मनोरञ्जनभन्दा बढि ३ घन्टा ‘यातना’ दिन्छ । सलमानको क्रेजले गर्दा प्रारम्भिक दिनमा हलहरु भरिन सक्छन्, तर फिल्मले दिर्घकालिनरुपमा दर्शकलाई तान्न सक्दैन । निर्देशक रेमो डिसुजाले एउटा सुन्दर अवसर खेर फालेका छन् ।

(एजेन्सीबाटं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment