Comments Add Comment

नेकपामा महिला प्रतिनिधित्वः हेपाइको पनि हद हुन्छ नि !

जेठ ३ गते मदन भण्डारीको स्मृति दिवस पारेर नेपालका दुई ठुला कम्युनिस्ट पार्टीबीच एकता सम्पन्न भएको छ । यसको तरंगले राजनीतिक क्षेत्रलाई मात्र नभएर समाजको अरू क्षेत्रलाई पनि तरंगित बनाएको छ । आकारमा मात्र ठुलो नभएर सरकारको नेतृत्व समेत गरेको हुनाले यसो हुनु स्वाभाविक हो ।

एकताको सन्दर्भमा अध्यक्ष केपी ओलीको अभिब्यक्ति स्मरणीय छ-‘टेम्पो हो र एउटा मात्र चालक हुनलाई ? यो त जेट बिमान हो, जेट बिमानमा दुईटा चालक हुन्छ ।’

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भनेका छन्, ‘जेट बिमानले २९० को रफ्तारविना उडान (टेकअफ) गर्न सक्दैन । नेकपा नामक जेट बिमानको रफ्तार २९० देखिएन ।’

निश्चय नै देशको आबश्यकता परिपूर्ति गर्न टेम्पोको कुरै छाडौं, द्रुत गतिको बस र रेल पनि काफी छैन । आबश्यकता जेट बिमानकै हो । तर पहिलो कुरा त नेकपा नामको यस जेट बिमानले उडान गर्न सक्छ कि सक्दैन ? उडान गरिहाले पनि सुरक्षित अवतरण गराउँछ कि गराउँदैन ? परिणामको लागि प्रतीक्षा नै गर्नुपर्ने देखिन्छ ।

‘दिनको संकेत बिहानीले गर्छ’ भन्छन् । सत्य प्रिय हुँदैन । फेरि पनि सत्य कुरा भन्नै पर्छ । यस सरकारले ल्याएको बजेट र पार्टी नेतृत्वमा महिलालगायत जनजाति, दलित, मधेसी, मुस्लिमहरूको प्रतिनिधित्व हेर्दा नेकपा जेट बिमान होइन, टेम्पोमै सीमित रहने अधीक संभावना देखिन्छ ।

जेहोस्, चुनावबेला पार्टी एकता गर्ने जनताबीच गरेको बाचा नेताहरूले पुरा गरेका छन् । यसर्थ,
बिशेषत : अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई धन्यवाद दिनै पर्दछ ।

यस छोटो आलेखमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा महिला प्रतिनिधित्वको बिषयलाई लिएर छोटो विमर्श गरिने छ ।

महिला प्रतिनिधित्वबारे

पार्टीहरूको दस्तावेज होस् वा नेताहरूको भाषण, सबैतिर महिला अधिकार र समानुपातिक सहभागिताको कुरा चर्को रूपमा लेखिन्छ र सुनिन्छ । झन्नै ५२ प्रतिशत महिला जनसंख्या रहेको हाम्रो देशमा संविधानले ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गरेको छ । तर ब्यबहारत: कुनै पनि पार्टीको नीति निर्माण तहमा महिला सहभागिता नाम मात्रको छ ।

अरू पार्टीको कुरा छाडिदिउँ । आफूलाई चौबिस क्यारेट कम्युनिस्ट भन्ने नेकपा (नेकपा) को केन्द्रीय नेतृत्वमा महिला प्रतिनिधित्व सबभन्दा हरिबिजोग छ । नौ जनाको कार्यालयमा एकजना पनि महिला छैन । ४५ जनाको स्थायी समितिमा जम्माजम्मी ३ जना महिला छन् । यो महिलामाथिको सामान्य उपेक्षा हो कि हदैसम्मको अत्याचार ? मेरो बिचारमा यो हदैसम्मको अत्याचार हो ।

अत्याचार भएपछि आवाज उठ्ने नै भयो । आवाज उठ्यो । तर नवगठित पार्टीका सुप्रिमो तथा सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूले समस्यालाई सम्बोधन गर्नु त कता हो कता उल्टै सन्किएर भन्नुभयो- “एनजीओको ट्याउँ-ट्याउँ” । प्रधानमन्त्रीज्यू संवैधानिक ब्यवस्थानुसार महिला सहभागिता गर भन्नु एनजीओको ट्याउँ-ट्याउँ नै हो त ?

तपाईं लोकतन्त्रको कुरा गर्नुहुन्छ । लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र भन्नुहुन्छ । आखिर के हो लोकतन्त्र ? समाजको पींधमा परेका वा पुर्याइएकाहरूलाई पार्टी र राज्यका हरेक निकायहरूमा समान सहभागिता गराउनु नै सच्चा लोकतन्त्र होइन ? अनि खोइ तपाईंको पार्टीमा समानुपातिक सहभागिता ? समानुपातिकको कुरै छाडौं, खोइ संवैधानिक ब्यबस्था अनुसारको सहभागिता ?

सबभन्दा ठुलो पार्टीको अध्यक्ष, इतिहासकै सर्वाधिक शक्तिशाली सरकारको प्रधानमन्त्री अनि विचारमा कम्युनिस्ट हुनाको नाताले यतिखेर तपाईंले नेतृत्व गर्नु भएको पार्टी र सरकार यस्तो श्याम-श्वेत होइन, असाध्यै मनोहारी इन्द्रधनुषी हुनुपर्ने हो । अरूले तपाईं र तपाईंको पार्टी अनि सरकारबाट के सिक्ने ? अगुवा नै यस्तो गतिछाडा भएपछि पछुवाको हालत के होला ?

प्रधानमन्त्रीज्यू ! तपाईं स्वीकार्नुस् या नस्वीकार्नुस्, महिलामाथिको यो दमन तपाईंको प्रतिगामी कदम हो । संविधानको उल्लंघन हो । संविधान उल्लंघन गर्ने अधिकार शक्तिशाली भयो भन्दैमा कसैलाई पनि छैन । कुनै पनि नाम र रूपको बादशाह नेपाली जनतालाई स्वीकार्य हुने छैन । किनकि, बादशाह बिरूद्ध बिजय प्राप्त गरेका जनता हुन् नेपाली ।

नवगठित पार्टीका अर्का सुप्रिमो पुष्पकमल दाहाल समानुपातिक सहभागिताको मुद्दामा यतिसम्म तल झर्नुहोला भन्ने लागेको थिएन । किनकि, समावेशी/समानुपातिक हिजो उहाँले नेतृत्व गर्नु भएको माओवादी पार्टीको मुद्दा थियो । नेताहरू कति बेइमान हुँदारहेछन् ? कति निष्ठुर र निर्मम हुँदारहेछन् ? आफैँले जन्माएको सन्तानलाई कसरी आफैँले हत्या गर्न सकेको ?

हिजो जनयुद्ध लडिरहँदा जनमुक्ति सेनामा ४० प्रतिशत महिला सहभागिता रहेको र त्यसको लागि आफूले असाध्यै गौरव गरेको तपाईंको भाषण के आज बिर्सनु भयो ? कि महिलाहरू सेना मात्र बन्न सक्ने नेता बन्न नसक्ने हुँदारहेछन् ? हिजो लडाइँमा चाहिँ महिला सबभन्दा काबिल हुने अनि आज पार्टी र सरकार चलाउन चाहिँ सबभन्दा कमजोर हुने ? के हो कमरेड तपाईंको दृष्टिकोण ?

सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशमा एकलौटी तपाईंको पार्टीको सरकार छ । ६ वटा मुख्यमन्त्रीमा एकजना पनि मुख्यमन्त्री बन्न लायक महिला पार्टीमा चुनाव जितेका रहेनछन् ? नत्र किन यति धेरै घोर अन्याय र अपमान गर्नुभएको ? भन्नुहोला- देशको राष्ट्रपति नै हामीले महिला बनाएका छौं । हो, हिजो पनि देशको राष्ट्रपति मधेसी बनाउनु भएको थियो । तर त्यहीबेला मधेसमा मधेसीहरूले अधिकार माँग्दै सबभन्दा बढी आन्दोलन गरेका थिए ।

हिजो राजाले पनि समाबेशिताको नाममा बिभिन्न समुदाय, लिंग र क्षेत्रबाट एकाध प्रतिनिधित्व सरकारमा गराउने गर्थे । के तपाईंहरूले पनि त्यस्तै चाहानु भएको हो ?

कार्यकारी पदहरूमा समानुपातिकताको आधारमा होइन, मेरिटोक्रेसी (योग्यता) को आधारमा लैजान पर्छ भन्ने तर्क स्वयं तपाईँहरूकै मुखारबिन्दबाट ब्यक्त भएका छन् । पक्कै पनि यो पनि एउटा सिद्धान्त हो । तर यो सिद्धान्तले समाजमा सबैलाई न्याय, अबसर र शान्ति दिँदैन, तसर्थ समानुपातिक सिद्धान्त आबश्यक पर्यो भनेर तपाईंहरूले नै समानुपातिकको नयाँ सिद्धान्त बनाउनु भएको होइन ?

हिजो महिलालाई कसले पछि पार्यो ? यही पुरूषप्रधान सत्ताले होइन । हिजो शदीयौंसम्म पछि पारिएको महिला आज मेरिटोक्रेसीको आधारमा पुरूषसँग प्रतिस्पर्धा गर्न लायक छैन भनेर फेरि पनि महिलालाई चुलोचौकोमै बन्दी बनाउने बिचार छ ? महिलालाई घरेलु दासी बनाएर पुरूषहरू फेरि पनि मालिक बन्ने सपना छ ? यदि होइन भने कम्तिमा अहिले सबै ठाउँ नसके पनि पार्टीभित्र संवैधानिक ब्यवस्था अनुसार महिलाको प्रतिनिधित्व गराउनु तपाईंहरूलाई के कुराले छेक्यो ? कुन शक्तिले रोक्यो ?

अन्तमा, महिला-पुरूष एउटै रथका दुई पांग्रा हुन् । एकले अर्कोलाई होच्याएर, अपमानित र अन्याय गरेर देश, समाज, घरपरिवार कहिँ कतै पनि सुख, शान्ति, समृद्धि र खुसी प्राप्त हुँदैन । एकले अर्काको आबश्यकता महशुस गरी समान अवसर र उचित सम्मान पार्टी, सरकार, समाज, घरपरिवार सबै ठाउँमा दिँदै जानु पर्दछ । महिला-पुरूष एउटाको विकल्प अर्को होइन, दुबै दुबैको आबश्यकता हो । सबैलाई चेतना भया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राधा पोखरेल

अनलाइनखबरमा नियमित स्तम्भ लेख्ने युवापुस्ताकी लेखिका राधा पाेखरेल सामाजिक-राजनीतिक विषयमा केन्द्रित रहेर विशेषतः नारी एवं बालबालिकाकाे पक्षमा कलम चलाउँछिन्

ट्रेन्डिङ

Advertisment