Comments Add Comment

छापामा आजः सरकारमा सहभागिताबारे राजपामा विवाद

भाँचिएको दायाँ हात, बायाँमा गरियो प्लास्टर !


२ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले सातवटै प्रदेशले शुक्रबार प्रस्तुत गरेको बजेटलाई समेटेका छन् । नागरिक र राजधानी दैनिकले यसलाई मुख्य समाचार बनाएर छापेका छन् भने गोरखापत्र, कान्तिपुर र अन्नपूर्ण पोस्टले पनि ‘कभरेज’ गरेका छन् ।

शनिबार भएकाले आज खोजमूलक र गहन प्रकृतिका समाचार बढी छन् । नयाँ पत्रिका दैनिकले प्रतिनिधिसभा र प्रदेशसभाका जोडी सांसदबारे सोधीखोजी गरेको छ । समाचार अनुसार, प्रतिनिधिसभा र प्रदेशसभामा ११ जोडी सांसद् छन् ।

कान्तिपुर दैनिकले निर्माण क्षेत्रको विकृतिसँगै वैदेशिक रोजगारीका क्रममा गएका नेपालीको मृत्युको डरलाग्दो तथ्यांक पहिलो पृष्ठमा प्रस्तुत गरेको छ ।

‘के गर्दैछ कोइराला परिवार ?’ शीर्षक दिएर अन्नपूर्णले कोइराला परिवारका सदस्यहरुको चियोचर्चो गरेको छ भने नागरिकले जनप्रतिनिधि नै बिजुली चोरीमा संलग्न भएको, प्रदेशको बजेटको प्राथमिकतामा सडक, पर्यटन र ऊर्जा परेकोलगायत खबर छापेको छ ।

सरकारमा सहभागिताबारे राजपामा विवाद

सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टी, नेपालमा विवाद देखिएको नयाँ पत्रिकाले जनाएको छ ।

समाचार अनुसार सरकारलाई हेर्ने राजपाका नेतामा तीन धार देखिएको छ । एउटा पक्ष सरकारमा जाने र अर्को पक्ष जान नहुने पक्षमा भए पनि जानुपर्ने पक्षधर नै बलियो छन् ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्षमण्डलका दुई सदस्य शरतसिंह भण्डारी र राजेन्द्र महतो सकारात्मक भए पनि अनिल झा र महेन्द्र राय यादव सरकारमा जानै नहुने अडानमा छन् । राजकिशोर यादव भने तटस्थ छन् ।

सरकारमा जानेबारेको छलफलमा सहभागी राजपाले दुई मन्त्रालयमा दाबी गरेको छ ।

डेढ सयको अक्सिजन ६० हजारमा बिक्री

७ हजार २ सय लिटरको मेडिकल अक्सिजन पाँच सय ५ सय ५० मा खरिद गरेर १ हजार २ सय लिटरका ६ वटा सिलिन्डरमा भरेर प्रतिसिलिन्डर ६० हजार रुपैयाँमा बिक्री गर्ने गरेको अन्नपूर्णमा समाचार छ ।

सरकारी नियामक निकायको बेवास्ताले कम गुणस्तरका अक्सिजनलाई धेरै रकममा बिक्री गर्दा आरोही ठगिएका छन् ।

अन्नपूर्ण लेख्छ– पर्वतारोहणमा प्रयोग गरिने अक्सिजनको मापदण्ड ड्यू पोइन्ट मोइस्चर माइनस ६० डिग्री हुनुपर्छ । यो लिक्विड अक्सिजनमा मात्र हुने गर्छ , जुन माइनस १ सय ८३ डिग्रीमा मात्र लिक्विड अक्सिजन बन्नेगर्छ । यो अक्सिजन उच्च हिमाली क्षेत्रको चिसो र अक्सिजनको एकदमै अभाव भएको क्षेत्रमा प्रयोग गरिन्छ । तर हिजोआज ६० प्रतिशतभन्दा बढी अक्सिजन कम गुणस्तरको सस्तो मेडिकल अक्सिजन प्रयोग हुने गरेको छ ।

के गर्दैछ कोइराला परिवार ?


अन्नपूर्ण पोस्ट दैनिकले आज कांग्रेस राजनीतिमा सक्रिय कोइराला परिवारका सदस्यहरुको सोधीखोजी गरेको छ ।

समाचार अनुसार कांग्रेस राजनीतिमा शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला सक्रिय छन् । महामन्त्री शशांक देउवा–पौडेल दुवै नेतालाई समान दूरीमा राख्न र आफूलाई सन्तुलित छवि बनाउन प्रयासरत छन् ।

शेखर पार्टी नेतृत्वको आलोचना गर्दै तल्लो तहका नेता तथा कार्यकर्तासँग संवाद र अन्तक्र्रिया गरिरहेका छन् । सुजाता कोइराला भने क्यान्सरको उपचारपछि घरमै आराम गरिरहेकी छन् । यद्यपि, उनले राजनीतिक भेटघाट र छलफलहरुलाई पनि निरन्तरता दिइरहेकी छन् ।

बेतबली बिदा बस्ने कर्मचारीलाई लगाम

बेतलबी बिदा लिएर विदेश जाने तर फर्केर कार्यालयमा हाजिर गर्न नआउने कर्मचारीलाई सरकारले लगाम लगाउने भएको छ । यसैगरी आफूखुसी अध्ययन बिदामा विदेश जाने कर्मचारीलाई पनि सरकारले लगाम लगाउने भएको छ ।

सरकारले बेतलबी बिदा बसेका कर्मचारी बिदा अवधि सकिएपछि अनिवार्य रुपमा कार्यालयमा हाजिर हुन आउनुपर्ने प्रावधान राख्दै संघीय निजामति सेवा ऐन २०७५ को मस्यौता तयार गरेको नागरिकमा समाचार छ ।

मस्यौदामा कर्मचारीहरु आफूखुसी अध्ययन भ्रमणका नाममा विदेश जान नपाउने प्रावधान राखिएको छ ।

एकै दिन चार कफिन


त्रिभुवन विमानस्थलको आगमन कक्षबाट शुक्रबार बिहान ३ नेपाली श्रमिकका शव राखिएका कफिन निकालिए । कफिनमा शव थिए–भूपेन्द्र दर्लामी मगर, रामसिस मुखिया र दीपक श्रेष्ठका ।

कान्तिपुरका अनुसार कतारबाट ल्याइएका भूपेन्द्र र रामसिसको कफिन एके चोटि निकालिएको थियो । साउदीबाट ल्याइएको दीपकको शव रहेको कफिन भने अलि पछि निकालियो ।

काठमाडौंका दीपक सानैमा आमा गुमाएकी एक्ली सन्तान पूजालाई घरमा छाडेर साउदी अरेबिया गए । विदेशमा पसिना बगाएर छोरी पढाउने सपना देखेका उनको रियादमा काम गर्दागर्दै गत जनवरी २५ मा मृत्यु भयो । सहाराविहीन पूजालाई यो समाचारले कम्ती विक्षिप्त बनाएन । त्यसमाथि बुबाको शव ल्याउन खेप्नुपरेको सास्ती पनि उत्तिकै पीडादायक थियो ।

जनप्रतिनिधि नै चोर्छन् बिजुली

बिजुली चोरीमा जनप्रतिनिधि नै संलग्न भएको पाइएको छ । बिजुली चोरी नियन्त्रण गर्ने अभियान थालेको नेपाल विद्युत्त प्राधिकरणले बिजुली चोरेर प्रयोग गरेको भेटिएपछि बिहीबार दुई वडाध्यक्ष पक्राउ परे ।

नागरिक दैनिकका अनुसार चोरी नियन्त्रणका लागि बिहीबार खटिएको विद्युत्त प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो ।

सुरक्षाकर्मीसहित खटिएको काभ्रे वितरण केन्द्रको टोलीले लम्सालले कुन्ताबेसीमा हुकिङ गरी कुखुरा फर्मममा विद्युत्त प्रयोग गरेको फेला पारेपछि उनलाई पक्राउ गरेको समाचारमा उल्लेख छ ।

भाँचिएको दायाँ हात, बायाँमा गरियो प्लास्टर

जिल्ला अस्पताल कालिकोटमा डाक्टरको चरम लापरबाही देखिएको छ । एक बालिकाको दायाँ हात प्लास्टर गर्नुपर्नेमा बायाँ हात प्लास्टर गरिएको छ । साबिक राम्नाकोट ४ हाल पचालझरना गाउँपालिका वडा नम्बर ५ निवासी ४ वर्षीया दैनाकुमारी बमको बायाँ हात प्लास्टर गरिएको छ ।

नागरिक दैनिकका अनुसार डाक्टरले आकस्मिक कक्षमा लगेर चेकजाँच गर्दा दायाँ हात फ्याक्चर भएको पुष्टि भए पनि लापरबाहीले बायाँ हात प्लास्टर गरिएको छ ।

प्लास्टर जिल्ला अस्पतालका डाक्टर विज्ञान प्रजापतिले गरेका हुन् ।

‘हामीले त छोरीको दायाँ हात भाँचियो भनेको हुँ’, बिरामीको बुवा धीरबहादुर बमले नागरिकसँग भनेका छन्, ‘तर डाक्टरले बायाँ हात प्लास्टर गरिदिनुभयो ।’

डाक्टरले लापरबाही गरेको स्थानीय रत्न शाहीले बताए । बिरामीको एक्सरे गरेको र चेकजाँच गरेको आधिकारिक रिपोर्टमा भने दायाँ हातको विवरण छ ।

तर डा. प्रजापतिले बावुले नै बायाँ हात भनेकाले प्लास्टर गरेको बताए । चेकजाँच गर्नेभन्दा पनि बिरामीका आफन्तको कुरा सुनेर प्लास्टर गरेको उनको भनाइ छ ।

र, यो पनि– स्वास्थ्य मन्त्रालयबाटै ५ सय प्याकेट सुर्ती बरामद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रहरीले दुई महिनाको अवधिमा ७ सय थान सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

मन्त्रालयलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरे पनि कर्मचारीकै उदासीनताका कारण घोषणा कार्यान्वयनमा समस्या भइरहेको नयाँ पत्रिकामा समाचार छ ।

मन्त्रालयले १६ वैशाख २०७४ बाट मन्त्रालय हाताभित्र सुर्तीजन्य पदार्थ निषेध गरेको थियो । त्यसयता मन्त्रालय परिसरमा प्रत्येक दिन दुईजना प्रहरीले खानतलास गर्दै आएका छन् । मन्त्रालयका कार्यरत प्रहरी हवल्तार चन्द्र हमालले कर्मचारी तथा मन्त्रालयमा सेवा लिन आउने सेवाग्राहीबाट सो परिमाणको सुर्तीजन्य पदार्थ बरामद गरेको बताए । यसमा कर्मचारीको संख्या उल्लेख्य छ ।


हेर्नुहोस् आजको पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment