Comments Add Comment

‘अनि मैले मृत्युको स्वागतमा गीत गुन्गुनाएँ’

नेपालका ९० प्रतिशत भूभाग टेकिसकेका लेखक-पत्रकारको यात्राकथा

२ असार, काठमाडौं । नेपालका गाउँगाउँमा पुगेर तिनका कथा ब्यथालाई पुस्तक तथा पत्रपत्रिकामा उतार्ने लेखक कति छन् ? यो प्रश्न आफैंमा उत्तरविहीन लाग्न सक्छ । ठूला भनिने सञ्चार माध्यमका जिल्ला सम्वाददाताहरु आफ्ना जिल्लाका कुनाकाप्चा पुगे पनि सम्पूर्ण नेपाल घुम्ने पत्रकार छैनन् भन्दा फरक पर्दैन । यात्राका सौखिन केही व्यक्तिले नेपालका धेरै जिल्ला र गाउँ घुमे पनि उनीहरुले देखे-अनुभव गरेका कुरा विस्तारमा बाहिर ल्याउने काम भएको छैन ।

मोहन मैनाली नेपालका यस्ता लेखक-पत्रकार हुन्, जसले नेपालका करिब-करिब ९० प्रतिशत भुभाग टेकिसकेका छन् । यो काम अरुले पनि गरेका हुन सक्छन् । फरक के छ भने नेपालका अति सुगमदेखि दुर्गमसम्म पैदल यात्रा गरेर त्यसको व्यवस्थित रिपोर्टिङ गर्ने मैनाली सम्भवतः पहिलो पत्रकार हुन् ।

 नेपाल टेलिभिजनबाट प्रशारण हुने आँखीझ्याल भिडियो म्यागेजिनमा पहिलो अंकदेखि लगातार ११ वर्ष गाउँ गाउँ पुगेर खिचिएको ‘डकुमेन्ट्री पत्रकारिता’मा उनको संलग्नता अहिले पनि जारी छ । आँखीझ्यालका एक हजारभन्दा बढी अंकमा उनी प्रत्यक्ष संलग्न भएका  छन् । नेपाल खोजपत्रकारिता केन्द्रमामार्फत उनको पुस्तक ‘खोज पत्रकारिता किन र कसरी ?’ नेपाली पत्रकारले पढ्नैपर्ने पुस्तकमा गनिन्छ । त्यसबाहेक विनोद भट्टराईसँगको सहकार्यमा लिखित ‘खोज पत्रकारिता’ पुस्तक त्रिभुवन विश्वविद्यालयको कोर्ष बुकमा राखिएको छ ।

नियात्रा साहित्यमा पनि उनको योगदान विशिष्ट मानिन्छ । उनको ‘उपल्लो थलो’ पुस्तकले नेपालमा भएको माओवादी द्वन्द्वउत्कर्षमा पुग्नुपर्ने कारणको खोजी गरेको छ । त्यसैगरी दोस्रो पुस्तक ‘मान्ठा डराएको जुग’ ले बन्दुक नबोकेका निर्दोष मानिसहरु कसरी द्वन्द्वका कारण पीडित भए त्यसको गम्भीर खोज गरेको छ । माओवादी द्वन्द्वका कारण पीडित भएका सबैजसो गाउँ पुगेर लेखिएको यो पुस्तकले ‘पदमश्री’ पुरस्कार प्राप्त गरेको थियो ।

हालै उनको तेस्रो पुस्तक ‘देखेको देश’ सार्वजनिक भएको छ । यो पुस्तकले नेपाल र हिमालको उत्पतिदेखि नेपालले अपनाउने विकासको मोडलको खाकासम्म सार्वजनिक गरेको छ ।

यात्रा र अध्ययनले खारिएका ५४ वर्षीय लेखक-पत्रकार मोहन मैनालीसँग यो साता अनलाइनखबरका लागि अश्विनी कोइरालाले कुराकानी गरेका छन् ।

तपाईंका तीनवटै नियात्राका पुस्तक पढ्दा तिनले मूलधारमा लेखिने विषय भन्दा फरक अनुभूति दिन्छन् । यी तीनवटै पुस्तकका बारेमा तपाईंको कुनै टिप्पणी छ ?

लामो समय खोज, अनुसन्धान र अध्ययनपछि लेखिएका पुस्तकले फरक अनुभूति दिनु स्वभाविक नै हो । मेरा तीनवटा पुस्तकलाई मैले ‘नेपाल परिचय भाग एक, दुई र तीन’ मान्ने गरेको छु । पहिलो पुस्तकले नेपालको गरिवी, दोस्रोले द्वन्द्वबाट पीडित जनताको पीडा र तेस्रो पुस्तकले नेपाल किन त्यस्तो भयो र यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ, भन्ने विचार प्रस्तुत गरेको छु । यस अर्थमा यी तीनवटै पुस्तक एक अर्कामा सिलसिलेवर छन् भन्ने लाग्छ ।

करिब २० वर्षदेखि लगातार नेपालका कुनाकाप्चामा घुमिरहनुभएको छ । अब त उमेर पनि घर्कदैछ, गाह्रो लाग्दैन ?

२० वर्ष होइन, २४ वर्ष भन्नुपर्ला । पहिलो पटक ०५१ सालमा धादिङको बेनिघाटदेखि गोर्खाको उत्तरी भेग छेकम्बारहुँदै पुनः गोर्खाको सदरमुकामसम्म पैदल यात्रा गरेका थियौं । यो यात्रा २५ दिनको थियो । पत्रकारिताकै उद्देश्यले गाउँ गाउँ घुमेर यो यात्रा गरेको हुँदा मैले यसैलाई मेरो जीवनको उद्देश्यमूलक यात्रा मानेको छु । यसरी हेर्दा व्यवस्थित यात्राले २५ वर्ष टेक्न लाग्यो ।

व्यवस्थित यात्रा सुरु गर्नुअघि पनि नेपाल घुम्नुभएकै थियो होला । ती यात्राको अनुभव कस्तो छ ?

सायद यात्रा गर्नु मेरो नियति नै हो । म पूर्वी नेपालको दुर्गम पहाडी जिल्ला तेह्रथुममा जन्मिएँ । मेरो घरबाट एक हजार मिटर अग्लो डाँडो सङ्ग्रान्ती बजारमा हरेक शनिबार हाट लाग्थ्यो । जुन बेलादेखि म हिँड्न सक्ने भएँ, प्रत्येक साता दुई घण्टा दुरुह उकालो चढेर बजार पुग्दथ्ोँ । अहिले सम्झँदा उकालो चढ्ने यो मेरो पहिलो तालिम थियो । अर्को कुरा सानैदेखि खेती किसानी गर्नुपर्ने बाध्यता थियो । यसका लागि पनि आधा घन्टा हिँड्नु पर्दथ्यो । बच्चाका लागि मावली जानु ठूलो रहरको कुरा हो । यो रहर पूरा गर्न पनि ४ घन्टा हिँड्नु पर्दथ्यो । सायद, यसरी शरीरले सानैदेखि प्राक्टिस गरिरह्यो ।

त्यो त घर वरपरको यात्रा थियो । टाढाको पहिलो यात्रा कसरी सम्झनु हुन्छ ?

एसएलसी दिएर बसेको साल (०३७ ) देशमा जनगणनाको लहर चलेको थियो । एसएलसी पढेको किशोर भएका कारण मलाई ताप्लेजुङका दुई दुर्गम पञ्चायत नाङ्खोलाङ् र थेचम्बुका सबै गाउँमा पुगेर जनसंख्या टिप्नु पर्ने गणकका रुपमा खटाइयो ।

त्योबेला मैले ती पञ्चायतका सबै गाउँका सबै घरधुरीमा पुगेर रिपोर्ट संकलन गरेको थिएँ । पछि पो थाहा भयो, अरु गणकहरु कुनै एउटा डाँडामा बसेर आउने जाने मानिसले दिएको सुचनाका आधारमा जनसंख्या विवरण भर्दा रहेछन् । तर, मलाई अपसोच लागेन । कारण मेरो स्वाभाव मानिस भेट्ने र उनीहरुका कुरा सुन्ने रहेछ ।

केही महिनापछि मेरो काम देखेर सरकारी हाकिमले व्यक्तिगत गणनाका लागि गणकहरुलाई नै तालिम दिने मौका दिए । केही वडामा आफै खटिएँ । खासमा त्यो बेला पहिले पारिवारिक गणना हुन्थ्यो । त्यो गणनामा कुनै गल्ती भयो कि भनेर सच्याउन धेरै मानिस खटाएर जो व्यक्ति जहाँ छ, त्यहीँ उसलाई भेटेर उसको विवरण लिने गरिन्थ्यो । यसलाई ‘व्यक्तिगत गणना’ भनिन्थ्यो ।

यसरी दुई तरिकाले गणना गर्दा देशको जनसङ्ख्या कति छ भन्ने कुरा सजिलै पत्ता लाग्दो रहेछ । यसरी संयोग नै भन्नुपर्छ, मेरो पहिलो जागिर नै गाउँ गाउँ घुम्ने हुन पुग्यो ।

यो जागिर कति खानु भयो ?

यो जनगणनाका लागि मात्रै भर्ना गरिएको अस्थायी काम थियो । त्यसपछि म पढ्नका लागि तराइ झरेँ । हुन त काठमाडौं नै आएर पढ्ने योजनामा थिएँ । तर झापा पुगेपछि त्यहाँ बुवाले किनिदिनु भएको घर र नातेदार देखेपछि उतै बस्न मन लाग्यो ।

सबैभन्दा आश्चर्य लागेको पहिलो यात्रा कुन थियो ?

मैले १७ वर्षको हुँदा पहिलो पटक गाडी देखेको थिएँ । त्यो बेला तेह्रथुम, पाँचथर हुँदै इलाम बजारमा आएपछि ठूला डाला भएको ट्रक चढ्ने अवसर पाएको थिएँ । त्यसैमा चढेर झापा झरेको थिएँ । ट्रकको पछाडिबाट एकातिर मात्रै खुलेको डालाबाट म पहिलो पटक घर बाहिर कतै टाढाको संसार चियाइरहेको थिएँ । जब पहाड कटेर खुला मैदानमा ट्रक कुद्न थाल्यो, मैले त्यो डालाबाट फराकिला र अनन्त फाँट देख्न थालेँ । मेरा लागि यो अद्भूत संसार थियो । त्यसपछि पिचरोड आयो । त्यस्तो चिल्लो बाटो पनि हुन्छ भन्ने मेरो कल्पनामा पनि थिएन ।

जब विर्तामोड बजारमा झरें, अर्को संसार देखेँ । किनभने यति ठूलो बजारको कल्पना मेरो दिमागले गरेकै रहेनछ । आज सम्झन्छु, त्यो एक लेनको पीच रोड र सय बढी घर भएको त्यो बिर्तामोड बजार देख्दा जसरी म अचम्मा परेको थिएँ, सायद, मेरो संसार निकै सानो रहेछ ।

पत्रकारितामा कसरी आउनुभयो ?

संयोगले आइपुगें भन्नुपर्छ । बीए पढ्न म झापाबाट काठमाडौं आएँ । झापा छाड्नुको कारण के थियो भने म पहाडको पानी खाएको मान्छे, मधेसको पानीले मेरो तिर्खा मेट्न सकेन । धीत मरुन्जेल पानी खान म कन्काइ खोलासम्म पुग्थेँ । पढ्दै गर्दा चीसो र धीत मरुन्जेल पानी खान पाइने लोभले काठमाडौं आएको थिएँ ।

काठमाडौं आए पछि बाँच्नका लागि केही त गर्नैपर्दथ्यो । पढ्ने रुचि भएका कारण पत्रिका पसल खोल्नु नै पढाइ र जीवन गुजाराका लागि महत्वपूर्ण कुरा हो जस्तो लाग्यो । डिल्लीबजारमा पत्रिका पसल खोल्दा मलाई थाहा थिएन, यसैबाट मेरो जीवन परिवर्तन हुँदैछ ।

खासमा मेरो पत्रिका पसलअघि मणिराज उपाध्यायले सम्पादन गर्ने ‘दैनिक समाज’को अफिस रहेछ । त्यही अफिसमा राजेन्द्र दाहाल, गोपाल गुरागाईं जस्ता गम्भीर पत्रकारहरु काम गर्नुहुँदो रहेछ । ‘दैनिक समाज’ पत्रिका बेच्ने र त्यो पत्रिकालाई चाहिने आवश्यक पत्रिका पुर्‍याउने अवसर नजिक भएका कारण मलाई प्राप्त भयो ।

अफिस आउँदा जाँदा मेरो सम्बन्ध दाहाल र गुरागाईंसँग त भयो नै, मणि सरले पनि समाचार लेख्न हौस्याउनु भयो । रत्नराज्य कलेजमा पत्रकारिताको अध्ययनलाई पनि अघि बढाउँन थालेँ । विस्तारै म दैनिक समाजमा आवद्ध भएँ ।

आज राजेन्द्र दाहाल र गोपाल गुरागाईभन्दा फरक ‘यात्राकार’को परिचय बनाउनुभएको छ । यो योजनावद्ध थियो कि आकस्मिक ?

यात्रा गर्न रुचाउनु सायद मेरो जीनमै थियो । बेला बेलामा घर जाँदा म ताप्लेजुङबाट हिँड्दै धरानसम्म आउँथे । जब ०५१ सालमा आँखीझ्याल भिडियो म्यागेजिनका लागि गाउँ-गाउँ पुग्नुपर्ने रिर्पोटरको आवश्यकता देखियो, त्यसलाई मैले अवसरको रुपमा लिएँ । त्यो २५ दिने यात्रामा म जसरी खटिएँ र जस्ता रिपोर्टिङ लिएर फर्किएँ, त्यसले मलाई सधैैँका लागि यो बाटो हिँड्ने अवसर दियो ।

जब मानिसलाई आफूलाई मनपर्ने काम गर्न थाल्छ, उबाट धैरै राम्रो काम हुन्छ । त्यो यात्रापछि मैले कहिल्यै पछि फर्केर हेर्नु परेको छैन ।

त्यो यात्रालाई अहिले कसरी सम्झनुहुन्छ ?

खासमा त्यो बुढी गण्डकीको किनारै किनार जसलाई अहिले ‘चुम उपत्यका’ भनिन्छ, त्यहाँ पुगेर नुब्री उपत्यका हुँदै मनाङ पुगेका थियौं । त्यसपछि लमजुङ हुँदै काठमाडौं र्फकंदा मैले जे जे देखेँ, त्यसलाई रेकर्डिङ गर्दै गए । त्यसले मलाई दुर्गम गाउँका समस्या, उनीहरुको चेतना र सपनाहरु के हुन् भन्ने कुरा राम्ररी महसुस गर्ने मौका पाएँ ।

वास्तवमा मिडिया भनेको ‘आवाजविहीनहरुको आवाज’ हो भन्ने सिद्धान्त पत्रकारिता पढ्दा थाहा थियो तर व्यवहारमा त्यो काम गरिरहेको थिएँ । जब २०५२ मा त्यो क्षेत्रको बाँकी भाग पुगेर फर्किएँ, त्यसले मलाई खोज पत्रकारिता के हो र कसरी गर्नुपर्छ भन्ने कुरा राम्रैसँग बतायो ।

तपाईं नेपालका सबै जसो जाति, धर्म, क्षेत्र र परिवेश भएको ठाउँ पुग्नुभएको छ । तीमध्ये तपाईंले गर्नुभएको अद्भूत रिपोटिङ कुन हो भन्ने लाग्छ ?

१६ वर्षअघि म रसुवाको लाङटाङ उपत्यका पुगेको थिएँ । त्यो नेपालकै सानो एक सय ३८ घर भएको सुन्दर उपत्यका  थियो । त्यो दुर्गम क्षेत्र भए पनि त्यहाँ प्रत्येक वर्ष १४ हजार विदेशी पर्यटक पुग्दथे । त्यो बेला हामीले त्यो उपत्यकाको सबै एङ्गलबाट भिडियो सुट गरेर सुन्दर डकुमेन्ट्री बनाएका थियौं । तर दुर्भाग्य, ०७२ सालमा भुकम्प जाँदा त्यो उपत्यकालाई पहिरोले पूरै बगायो । त्यत्रो उपत्यकामा एउटा घरमात्र बाँकी रह्यो ।

जब भूकम्म गएको एक वर्षपछि पहिले जुन-जुन एङ्गलबाट हामीले भिडियो सुट गर्न लाग्यौं, ती कुनै पनि स्थान बाँकी थिएनन् । मानौं, त्यो ठाउँ नै होइन । सायद, शास्त्रमा वर्णन गरिने प्रलय यस्तै हुन्छ क्यारे । जब पत्रकारिताको अनौठो अनुभव सम्झन्छु, मलाई लाङटाङ् गुमाएको क्षण याद आउँछ ।

तपाईंले गर्नुभएको रिपोर्टिङ मध्ये सबैभन्दा जोखिम यात्रा कुन थियो ?

एकपल्ट पश्चिम नेपालबाट तिब्बतको मानसरोवरको यात्रा र त्यो बेला गरेको रिर्पोटिङ् सबैभन्दा जोखिमयुक्त थियो । खासमा त्यो क्षेत्रमा भारतका तस्करहरुले नेपाली बाघको छाला, हड्डी र औैत नामक जन्तुको तस्करी गरेर तिब्बत पुर्‍याउँथे । तिब्बतबाट भने चिरुको रौं भारत ल्याउँथे । चिरुको रौं संसारको सबैभन्दा नरम ऊन भएका कारण त्यसको मूल्य ठूलो छ ।

यी सबै कारोवारका लागि नेपालको बाटो प्रयोग हुँदै तिब्बत र भारतबीच अबैध ब्यापार फस्टाइरहेको थियो । मानसरोवरमा धार्मिक पर्यटक जाने भएकाले हामीले धार्मिक पर्यटकको भेषमा लुकेर त्यो रिपोर्टिङ् गरेका थियौं । त्यो बेला तस्करहरुले प्रहरीहरुको पनि हत्या गरेका थिए । त्यस्तो अन्जान ठाउँमा तस्कर पच्छ्याउँदै मानसरोवर पुग्नु चानचुने कुरा थिएन । आज सम्झन्छु, त्यो रिर्पोटिङ् गर्ने हिम्मत नगरेको भए जीवनमा सायदै मानसरोबर पुग्थेँ होला ।

किन र ? तपाईंजतिको हिँड्ने मानिसका लागि मानसरोवर गाह्रो ठाउँ हो र ?

गाह्रो त होइन । तर, यात्रा गर्दा मेरो एउटा सर्त हुन्छ । त्यो के भने म आफ्नो पैसा खर्च गरेर यात्रा गर्दिन । तलब खाएर रिर्पोटिङ् गर्दा गर्दै म नयाँ ठाउँ घुमिसक्छु । तिब्बती क्षेत्रमा पर्ने मानसरोबरको प्रचार गर्न मलाई नेपाल सरकार वा पर्यटन मन्त्रालयले त पक्कै पैसा दिदैन ।

नेपालका सबै भाषा, जाति र समुदाय भेटिसक्दा पनि मैले केही जिल्ला घुम्न बाँकी छ । कारण के भने ती जिल्लाका ती क्षेत्रमा मैले गर्ने रिर्पोटिङ गर्ने खालका विषय छैनन् र त्यहाँ घुम्न मलाई कसैले पैसा दिदैन ।

तपाईंले गर्नु भएको रिपोर्टिङ मध्ये मलाई आज पनि ‘जोगिमाराका ज्यूँदाहरु’ ले झस्क्याइरहन्छ । त्यो डकुमेन्ट्रीले धेरै पुरस्कार पनि पाएको थियो क्यारे । यस्तो रिपोर्टिङ गर्ने अवसर कसरी पाउनुभयो ?

त्यो समय माओवादी द्वन्द्व उत्कर्षमा पुगेको समय थियो । यस्तो बेलामा धादिङबाट कालिकोटस्थित कोटवाडा एयरपोर्ट बनाउन पुगेका १७ जना मजदुर माओवादीको आशंकामा सेनाद्वारा मारिएका थिए । जोगिमारा गाउँका १५ परिवारका १७ जना मानिस मर्दा त्यो गाउँ नै शोकाकुल भएको थियो । लास नपाएकाले सम्पूर्ण गाउँलेहरुले कुशलाई सद्गत गरेका थिए ।

त्योबेला माओवादीहरुले सुराकी गरेको भन्दै सर्वसाधारणको हत्या गर्दथे भने सरकारी सुरक्षाकर्मीहरुले माओवादीको आशंकामा पनि गोली चलाउँथे । यस्तो अवस्थामा कतै पनि संलग्न नभएका सर्वसाधारण जनता कसरी मारिने गरेका छन् भन्ने एउटा उदाहरणका रुपमा ‘जोगिमाराका ज्यूँदाहरु’हरुको रिपोटिङ थियो ।

त्यसको उद्देश्य जो मारिए, उनीहरुमाथि अन्याय त भयो नै, बाँचेका उनीहरुका परिवारको अवस्था कस्तो छ भन्ने देखाउने प्रयास गरिएको थियो । यो रिपोर्टिङपछि नै नेपालमा मानवअधिकारको हननबारे अन्तर्राष्ट्रिय मञ्चहरुमा गम्भीर रुपमा प्रश्न उठ्न थालेको थियो ।

पाण्डुसेनमा पहरा दिएर बस्ने माओवादीहरु आफ्नो आन्तरिक निर्वाचनको सिलसिलामा कतै गएका रहेछन् । जसै उनीहरुले हामीलाई भेटे, हामीलाई सरकारी मानिस सम्झेर घेरा हालेर पक्राउ गरे

एकपटक तपाईंको टिम माओवादी अपहरणमा पनि परेको थियो । खासमा के भएको थियो ?

त्योबेला माओवादीहरुले बाजुराका केही विद्यालयमा ‘जनवादी शिक्षा’ लागू गरेका थिए । काठमाडौंमा जनवादी शिक्षाका विषयमा विभिन्न प्रोपोगाण्ड र बहस हुन थालेको थियो । खासमा कसैलाई पनि त्यो जनवादी शिक्षा कस्तो हो भन्ने थाहा थिएन । जति रिपोर्ट आएका थिए, माओवादीले आफ्नो अनुकूल ब्याख्या गरेका थिए तर त्यो कति व्यवहारिक छ भन्ने कुरा कसैलाई थाहा थिएन । यही कुरा बुझ्न हाम्रो टिम अछाम हुँदै बाजुराको पाण्डुसेन पुगेको थियो ।

त्यो माओवादी आधार इलाका भएका कारण अनुमति बेगर कोही जान पाउँदैन थिए । हामी जनवादी शिक्षा लागू भएको स्कुल खोज्दै पाण्डुसेन पुग्यौं । तर, पाण्डुसेनमा कोही थिएन । यही कारण भित्री गाउँतिर पुग्यौं । खासमा पाण्डुसेनमा पहरा दिएर बस्ने माओवादीहरु आफ्नो आन्तरिक निर्वाचनको सिलसिलामा कतै गएका रहेछन् । जसै उनीहरुले हामीलाई भेटे, हामीलाई सरकारी मानिस सम्झेर घेरा हालेर पक्राउ गरे ।

उनीहरुको व्यवहार कस्तो थियो ?

एउटा जासुसीमाथि जस्तो व्यवहार गरिन्छ, त्यस्तै थियो । हामीलाई कुनै पनि बेला मार्नेछन् भन्ने लागिरह्यो । तर हामीले गरेको सुरक्षासम्बन्धी तालिमले त्यो बेला हामीलाई बचाएको थियो । खासमा नेपाल प्रेस इन्स्टिच्युट र खोजपत्रकारिता केन्द्रले त्यो बेला ‘द्वन्द्वग्रस्त क्षेत्रमा गरिने रिपोर्टिङमा सुरक्षा’ विषयको तालिम दिएको थियो । त्यो तालिममा अपहरण पर्दा कस्तो  व्यवहार गर्ने, कसरी आफूलाई प्रस्तुत गर्ने भन्ने कुरा राम्रैसँग सिकेका कारण त्यस्तै व्यवहार गर्‍यौं ।

हाम्रो तालिमले हामीलाई कसरी हामी उनीहरुका शत्रु होइनौ, हामी किन उनीहरुभन्दा माथि छौं भन्ने मानसिक दबाव दिन सिकाएको थियो । लामो समय विश्वका द्वन्द्वग्रस्त इलाकामा गएर रिपोर्टिङ् गरेका पत्रकारहरुले दिएको तालिमले त्यो बेला साँच्चै नै काम गर्‍यो ।

माओवादी द्वन्द्वको अवसानपछि पनि तपाईं लगातार ती जिल्लाहरु पुग्नुभयो । यसरी एकै ठाउँमा पटक पटक पुग्नुको अर्थ के थियो ?

जुन उद्देश्यले माओवादीले विद्रोह गरेका थिए, त्यो उद्देश्य पूरा भयो ? जसले आफन्त गुमाएका थिए, समय बित्दै जाँदा उनीहरुको जीवन कसरी परिवर्तन भयो ? युद्ध पहिलेको मानसिकता र युद्धपछिको मानसिकतामा मानिसको व्यवहारमा के परिवर्तन भयो ? जस-जसले पीडा भोगेका थिए, ती अहिले कुन अवस्थामा बाँचिरहेका छन् ? उनीहरुलाई सरकारले केही सहयोग गर्‍यो कि अवस्था उस्तै छ ? यी सबै कुरा बुझ्न म पटक-पटक पुगिरहेँ ।

आज द्वन्द्व सकिएको पनि एक दशक बितिसक्यो, तपाईंको घुमाइ र अध्ययनले के देखायो त ?

युद्ध कसैको हितमा छैन भन्ने प्रमाणित भयो । केहीका लागि सत्ताको सिँढी भयो होला, तर पीडितहरुको जीवनमा खासै फेरबदल भएको छैन । बरु त्यो युद्धलाई लामो समय नेपाली समाजलाई छिँयाछिँया पार्‍यो । त्यो युद्ध निरर्थक थियो भन्ने प्रमाणित भएको छ । सुरुमा जो मारिए, अन्यायमा परे, उनीहरुलाई हामीमाथि किन यस्तो भयो भन्ने समेत थाहा भएन । उनीहरु मुर्छित जस्तै थिए । पछि हामीमाथि अन्याय भयो भन्न सक्ने भए । आजभोलि उनीहरु दोषी को हो भन्ने बझ्न थालेका छन् ।

अर्को कुरा जुन परिवर्तनका लागि ती लडाँईं भएको थियो, ग्रामीण क्षेत्रमा कुनै कुरा पनि परिवर्तन भएका छैनन् । विशेषगरी आज पनि ग्रामीण जनताको आर्थिक अवस्था उस्तै छ । जसका आफन्त थिए, उनीहरुले आघात परेकालाई विक्षिप्त हुनबाट जोगाए । जसका भरथेग गर्ने मानिस थिएनन्, उनीहरुको अवस्था झन् दयनीय भएर गयो ।

युद्धपछि नेपाली समाजको व्यवहार परिवर्तन भएको हो ? ग्रामीण भेगमा जुन मानवीयताको भावना थियो, त्यो हराएको हो ?

युद्धभरि ग्रामीण भेगमा जुन डर र त्रासको वातावरण थियो, त्योबेला मानवीयता हराएको हो कि जस्तै लाग्थ्यो । त्यो बाध्यता रहेछ भन्ने कुरा मैले यात्रा गर्दा अनुभव गर्थे । एकजना बुढा मानिसले भनेको सम्झन्छु, ‘तपाईंहरु भगवान भएर यो बिरानो गाउँमा आउनुभएको छ । बास त दिन सक्तिनँ, तर बाँचेर फर्कनुभयो भने हाम्रो कुरा देशभरिका मानिसलाई सुनाइदिनुहोला ।’

करिब आधा घन्टापछि मलाई लाग्यो, म सबैभन्दा ढिलो मर्छु । यस्तो बेलामा दुई जनाको मृत्यु हेर्नु मेरा लागि पीडादायी भएकाले भैरव दाइलाई जबरजस्ती भए पनि तल झर्नु, केही उपाय भैहाल्छ कि भनेर पठाएँ । त्यसपछि ध्रुव र म जीवनको अन्तिम समय यस्तो हुँदो रहेछ भन्दै मृत्यु कुर्न थाल्यौं

अहिले ग्रामीण समाज पुनः त्यस्तै मानवतावादी भएको छ । घरमा खाना नभए पनि पानी पिएर भए पनि जानू भन्ने मानसिकता छ । खासमा नेपाली जनता दुःखमा पनि हाँस्न सक्ने जात रहेछ ।

नेपालमा सबै क्षेत्र घुमेपछि सबैभन्दा बस्न लायक ठाउँ कुन लाग्यो ?

बस्न लायक ठाउँ त काठमाडौँ नै हो । हामीले यो हिराको टुक्रालाई चिन्न नसकेर बिगारेका मात्रै हौँ ।

काठमाडौं बाहेक नि ?

हेर्नुस्, नेपाल साँच्चै नै सुन्दर देश हो । कुनै कुनै मौसम कुनै क्षेत्रका लागि ठीक नहोला । कतै कतै पानीको समस्या होला । ती कुराको व्यवस्थापन गर्ने हो भने नेपाल साच्चै नै सुन्दर देश हो । स-सानो सहर बनाएर समुचित विकास गर्ने हो भने नेपाल साच्चै नै स्व्ार्ग बन्छ ।

यात्राका क्रममा मृत्युको मुखमा पुगेर पनि फर्किएको कुरा कतै लेख्नुभएको थियो । खासमा के भएको थियो ?

त्यो २२ दिनको यात्रा थियो । १७ दिनको यात्रापछि थाकेर लखतरान भएका बेला हामी गोर्खाको सबैभन्दा उत्तरी गाउँ लार्के भञ्ज्याङ् काटेर मनाङ पुग्दै थियौं । त्यो क्षेत्र ५ हजार मिटरमाथि थियो र हुस्सुले अगाडिको बाटो पनि देख्न नसकिने भएको थियो । त्यही बेला एकजना पत्रकार ध्रुवलाई टाइफाइट भयो र उनी हिँड्नै नसक्ने भए । अर्का पाका पत्रकार भैरव रिसाललाई उमेरका कारण श्वास प्रश्वासमा समस्या आउन थालेको थियो । फर्कंदा गोर्खाको अन्तिम गाउँ पुग्न ५ घन्टा लाग्थ्यो । अघि बढ्दा मनाङको सबैभन्दा नजिकको गाउँ पुग्न ६ घण्टा लाग्थ्यो । यस्तो बेलामा हामी तीन जना सिकिस्त भयौं ।

जो जलिकति हट्टाकट्टा थिए, उनीहरुलाई पठाएर हामी तीनजना त्यहीँ मृत्यु कुरेर बस्यौं । करिब आधा घन्टापछि मलाई लाग्यो, म सबैभन्दा ढिलो मर्छु । यस्तो बेलामा दुई जनाको मृत्यु हेर्नु मेरा लागि पीडादायी भएकाले भैरव दाइलाई जबरजस्ती भए पनि तल झर्नु, केही उपाय भैहाल्छ कि भनेर पठाएँ । त्यसपछि ध्रुव र म जीवनको अन्तिम समय यस्तो हुँदो रहेछ भन्दै मृत्यु कुर्न थाल्यौं ।

त्योबेला मनमा कस्ता कुरा आउँदा रहेछन् ?

जीवन सार्थक बितेको छ । जे गरेका छौं, समाजको भलाइका लागि गरेका छौं त्यसकारण दुःखी हुनुपर्ने कारण छैन भनेर मैले आफूलाई सम्झाएँ । मैले गरेका कामहरु समाजका लागि उपयोगी छन् र मेरो यो यात्रालाई कसैले न कसैले अघि बढाउँछ भनेर चित्त बुझाएँ । म रुँदै र परिवार सम्झदै मर्न चाहन्न थिएँ । त्यही भएर गीत गुन्गुनाउँदै मृत्युवरण गर्नुपर्छ भनेर मृत्युको स्वागत गर्दै थिएँ ।

कसरी बाँच्नुभयो ?

भैरव दाइलाई तल पठाउनु नै भाग्य खुलेको रहेछ । केही पर पुगेपछि एउटा घोडा तल झर्न मानिरहेको रहेनछ । घोडा मालिकले जतिसुकै कुटे पनि त्यो घोडा तल र्झन नमानेपछि भैरव दाइले हामी दुईको अवस्था बताएर माथि जान अनुरोध गर्नुभएछ । तल र्झन नमानेको घोडामाथि उक्लन भने तयार भएछ । यसलाई भाग्य भन्ने कि के भन्ने, हामीलाई बोकेर त्यो घोडा त्यही ठाउँसम्म पुग्यो । त्यहाँ उनीहरुसँग भएको थोरै पानी खान पाइयो । त्यसपछि घिस्ा्रँदै तल झरियो । र, त्यही घोडाका कारण ज्यान बाँच्यो । किनभने त्यो घोडा पछि पनि तल र्झन मानिरहेको थिएन ।

आज मृत्युलाई जितेर बाँचिरहनुभएको छ । जीवनमा केही गरेँ भन्ने गौरवबोध छ ?

सम्झी ल्याउँदा केही गरेँ कि भन्ने चाहिँ लाग्छ । एक हजार ५० श्रृंखलामा आँखीझ्याल चलाउँदा नेपाली समाजका जे जस्ता विषय उठ्यो र त्यसले मूलधारका पत्रकारितामा जस्तो प्रभावित पार्‍यो, त्यसमा खुसी छु । त्यसैगरी खोज पत्रकारितामार्फत पत्रकारितामा केही गर्न चाहने व्यक्तिहरुका लागि पनि केही काम गरेँ भन्ने लाग्छ । जीवन त्यसै खेर गएन भन्ने लाग्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

पछिल्लो समय आएको ‘देेखेको देश’ मा मैले यात्रा गरेर जसरी नेपाललाई बुझेको छु । त्यसलाई इमानदारिताका साथ राख्ने प्रयास गरेको छु । नेपाल बुझ्न र विकास चाहनेले त्यो पुस्तक पढिदिनु भए हाम्रो देशलाई बुझ्न सहयोग हुन्थ्यो । यसो भन्दै गर्दा यो पुस्तक धेरै राम्रो भनिरहेको छैन, केवल हचुवाको देश विकासका कुरा गर्नेहरुलाई एउटा मार्गदर्शन हुन्थ्यो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment