Comments Add Comment

सुपेरियोरिटी कम्प्लेक्सको टुप्पोबाट खसेको मेरो मित्र !

यहाँ हामी दुई पात्र छौँ-ऊ र म । उसलाई मैले मित्र भनेको छु । ऊ मेरो आत्मीय मित्र हो-आत्मामा सँगै रहने । त्यसैले ऊ मेरै पाटो हो भन्दा पनि हुन्छ । मभित्रको अर्को पाटो जो सुरक्षाको खोजीमा असुरक्षित घुमिरहन्छ- यो शहरमा, यो शहरभित्रका सडक र गल्लीहरुमा, ती सडक र गल्लीहुँदै म छिर्ने क्याम्पसहरुमा, क्याम्पसभित्रका कक्षाकोठाहरुमा ।

घटना : परीक्षा (परइच्छा)

पास र फेलको ट्याग हान्ने क्रममाफेलको ट्यागले डामिएर मेरो मित्र घाइते भएको छ । घटना एउटै हो । म यसलाई केवल घटना भन्छु । जे हुनु थियो भयो भनी सम्झिन्छु, मित्रलाई सम्झाउँछु ।  तर मित्र यसलाई दुर्घटना भन्छ  । नहुनु पर्ने भयो भनी मन दुखाउँछ । घाइते मन देखाउँदै हिँड्छ ।

त्यस दिन उसलाई देख्नासाथ मैले नमस्कार भनेँ, गरेँ । मित्रले नमस्कार मात्र भन्यो, गरेन । मैले हात तन्काएपछि उसले हत्तपत्त हातको झोला अर्कापट्टि झुन्डायो र दायाँ हात तेस्र्यायो । उसको नमस्कारको फिर्तीमा सदाको झैँ उच्च तान थिएन । सदा आरोहमा बोल्ले उसको स्वर आज भनेअवरोहतिरझर्दै गरेको शास्त्रीयराग जस्तो थियो । हात मिलाइमा कामरेडीशैली र जोश थिएन । बोली शिथिल । हाउभाउशिथिल । उसमा आएको परिवर्तनको मैले सहजै अनुमान लगाएँ । मलाई थाहा थियो अघिल्लो साता निस्किएको परीक्षाफल उसकालागि निस्फल भएको थियो । उसको नाममाफेलको ट्याग लागेको थियो । विद्यार्थीहरु उसलाई नमस्कार भन्दै, कोही नमस्कार गर्दै कक्षातिर जाँदै थिए । उसको आधा ध्यान मतिर थियो,  आधा ती विद्यार्थीतिर।

हेर्छु ऊ सकेसम्म नमस्कार-कर्ताबाट छलिने प्रयासमा छ ।

मैले उसलाई सहानुभुति देखाएँ- मित्रजी, कस्तो नराम्रो खबर ।

ऊ अघिदेखि मेरो यही वाक्यको पर्खाइमा थियो । मेरो बोलीले उसका आँखाको स्वीच थिचे झैँ लाग्यो ।

– खै के भन्नु । नसोचेको भयो ।

उसले थप सहानुभूति खोज्यो । मैले व्यवस्थालाई दोष दिएँ। उसले सहमतिमा टाउको हल्लायो ।  परीक्षा प्रणाली नै त्रुटिपूर्ण छ भनेँ । उसले गम्भीर भावमा दाहिले हातले दाह्री मुसार्‍यो । मानसिक रुपले गलेको मान्छे सहानुभूति खोज्छ । मनोविज्ञानले भनेको सम्झिएँ  ।  खोजेको कुरा उसले थोरै भए पनि मबाट पायो । अब उसको शरीर अलि तन्कियो । भुईँमा राखेको झोला टपक्क टिप्यो र फनक्क घुमाएर पछाडि भिर्‍यो । उसको हाउभाउ र बोलीमा जीवन्तता आयो ।

तर ऊ थप व्यग्र देेखियो ।

ऊ आफूलाई ज्ञानको डाक्टर ठान्छ, विद्यार्थीलाई अज्ञानताको बिरामी। तिनै विद्यार्थीले यस्तो विशिष्ट शिक्षक पनि फेल भएको देखे, अनुहारमा  उसको  निरीहता पढे, बोलीमा उसको व्यग्रता  सुने, अज्ञानता बुझे। आफ्नो अहंकारको खवटा फुटेर वास्तविक रुप बाहिर आएको चाल पाएपछि अहिले मेरो मित्र धरधमराएको छ

मित्रको चिन्ता- यार, कताकता पोलिरहन्छ । विद्यार्थीकाअगाडि उभिँदा सबै आफैँलाई हेरेर खिसी गरे झैँ लाग्छ । सबै विद्यार्थीलाई था’छ  आफू भर्खरै फेल भएको । फेलरले पास कसरी हुने भनी सिकाउनुपर्छ ।  झुट बोलेझैँ लाग्छ ।

मेरो मित्र सहानुभूतिको खोजीमा थियो । म भने दर्शन थप्ने मौकाको खोजीमा थिएँ । म पनि आफ्ना अनेकौँ असफलतालाई दर्शनको आधार दिन खोज्दै थिएँ ।  मैले दर्शन थपेँ- भनिदिनु नि आफ्ना विद्यार्थीलाई- सक्छौ मेरो सफलताबाट सिक, सक्दैनौ मेरो असफलताबाट। आखिरमा तिमीबाट  विद्यार्थीले केही न केही त सिकिहाल्छन् । सुनाइदिनु नि आफ्ना असफलताका कथा । यसबाट कमसेकम उनीहरुको असफलताको भय कम हुन्छ । उनीहरुलाई थाहा हुन्छ, हामी शिक्षक कुनै विशेष प्राणी होइनौँ । हामीपनि विद्यार्थी नै हो । हामी पनि पासफेलको चक्रमा पस्छौँ, फस्छौँ । कहिले बाहिर निस्कन्छौँ । कहिले भित्रै निस्सासिन्छौँ ।

म मेरो मित्रको मानसिक बिमारीसँग राम्रैसँग परिचित छु । यसलाई मनोविश्लेषणले सुपेरियोरिटी कम्प्लेक्स  भनेको छ । यही बिमारीले गर्दा ऊ विद्यार्थीका सामु विशेष प्राणीका रुपमा उभिन खोज्छ । विद्यार्थीभन्दा निकै पर रहस्यमा बस्न खोज्छ । ऊ आफूलाई ज्ञानको डाक्टर ठान्छ, विद्यार्थीलाई अज्ञानताको बिरामी। तिनै विद्यार्थीले यस्तो विशिष्ट शिक्षक पनि फेल भएको देखे, अनुहारमा  उसको  निरीहता पढे, बोलीमा उसको व्यग्रता  सुने, अज्ञानता बुझे। आफ्नो अहंकारको खवटा फुटेर वास्तविक रुप बाहिर आएको चाल पाएपछि अहिले मेरो मित्र धरधमराएको छ ।

उसलाई यति मात्र भनेँ- आफूलाई यति कमजोर नठान्नु । यो फेल भन्ने कुरो अरुको मापदण्डमा आफू फिट नभएको मात्र हो । मुख्य कुरा त आफ्नो मापदण्ड आफैँले तोक्ने हो । त्यसै अनुसार चल्ने हो ।  अरुको मापदण्डमा जीवनलाई राख्ने हो भने त कति पटक फेल भइन्छ भइन्छ ।

तर उसको व्यग्रता घटेन । उसको विफलताको घाउमा मेरो तर्कको एनेस्थेसियाले कुनै काम गरेन ।

मैले विस्मयवोधक प्रश्न गरेँ-दुई-चार जनाको सानोसमूहले फेल भन्दैमा त्यस्तो उत्पात चिन्ता किन ? तिमी उनीहरुले बनाएको सूचीमा अनुपस्थित भयौ । कुरो यत्ति न हो । सानो समूह ? (पछि उसले संकेत गर्‍यो तीन जनाको समूह रे । तीन ठूला दलबाट प्रतिनिधित्व हुने भएकाले एउटाको सूचीमा परेको तर दुइटाकोमा नपरेको । अल्पमतका कारणऊ अन्यायमा परेको ।)

उसले बुझ्ला भन्ने ठानेरअनुपस्थितिको सिद्धान्तको संकेत गरेँ-धेरै होला, तिमी अब यो जागिरमा अनुपस्थित हौला । हुन सक्छ  तिम्रो उपस्थिति अन्त कतै निर्धारण भएको छ । एक ठाउँमा अनुपस्थित हुनु भनेको अनेकौँ ठाउँमा उपस्थित हुनु हो ।  मैले उसको मनमा अमेरिकाको नक्सा उतार्न खोजेँ । बेलायतको अकार बनाउने प्रयास गरेँ । तर त्यहाँका कुनै पनि विश्वविद्यालयको नक्सा उसको मनमा उत्रिएन । उसको अनुहार भिजेको झुम्राको डल्लो जस्तो थियो । त्यसबाट उसको हीनताभाव चुहिरहेको थियो ।

असफल भइस् भनेर अरुले घोषण गर्नुभन्दा पहिले, भनौँ न परीक्षाको नतिजा आउनुभन्दा पहिले, त्यति दह्रो मेरो मित्र कसरी  यति साह्रो गल्यो । म यही उदेक बोकेर आफूले पढाउनु पर्ने क्याम्पसतिर लागेँ ।त्यहाँ गएर मैले पनि विद्यार्थीलाई कसैले तोकेको मापदण्डमा आफूलाई कसरी पास गराउने भन्ने जुक्ति सिकाउनु छ। उही मित्रलाई सम्झी हिँडेँबस चढ्ने ठाउँसम्म । देख्छु ऊ सुपेरियोरिटी कम्प्लेक्सको टुप्पोबाट खसेर इन्फेरियोरिटी कम्प्लेक्सको फेदमा सत्रङ्ग पल्टिरहेको छ । मनोविश्लेषणमा यसको कारण खोज्छु । त्यसले भन्छ- सुपेरियोरिटी कम्प्लेक्स भएको व्यक्तिलाई मात्र हीनताभावले समाउँछ । हिजोसम्म मैँ हुँ त्यो सर्वज्ञाता भनी हिँड्ने मित्रलाई एउटा समूहले निष्कर्ष निकालिदियो-लौ हेर्आफ्नो  हैसियत । अरुले निकालेको निष्कर्षले ऊ एकाएक विपरीत ध्रुवमा फ्याँकियो । अब सुपेरियोरिटीको विमारीको सट्टा उसलाई इन्फेरियोरिटीको विमारीले समात्यो । हनहनी ज्वोरोकोविरामीलाई बरफले सेक्दा तापक्रम घटेर निमोनियाले समाएझैँ भयो ।

म उही मित्रसँग काल्पनिक वात मार्दै जान्छु ।

हे मित्र, म छु यता । न त म सफलतामा उफ्रिएर कराउन सक्छु । न त विफल हुँदा एकान्तमा चिन्तित नै  हुन सक्छु । यी दुवै मेरा लागि केबल उत्तेजना बनेर आउँछन् । दुबैले मुटुको धड्कन बढाउँछन् । शरीर तातेर आउँछ । वर्तमानको टेको फुत्किन्छ । अरुले तँ पास भइस् भनेको रात, अरुले तँ फेल भइस् भनेको रात म झन्डै अनिँदो रहन्छु । दुवै उत्तेजनामा मनको सन्तुलन धर्मराउँछ । अनि हेर्छु मात्र आफैँलाई । मेरो उत्तेजना कसरी बढ्छ । कसरी सास फुलेर आउँछ, कसरी मुटुको धड्कन कानको चेपचेपमा सुनिन्छ । अनि सबै सेलाएर जान्छ । न पास छ, न फेल छ । छ त केवल केही आवेग, केही उत्तेजना छ । केवल त्यही आवेग र उत्तेजनाको अनुभव छ । त्यही अनुभवबाट सिक्ने हो । रमाइलो माने पनि नरमाइलो माने पनि आखिर त्यही उत्तेजना न हो ।

कीर्तिपुरको  ओरालोबाट माइक्रोबस कालीमाटीतिर हुँइकिन्छ । अब भने मित्रको आकार, हाउभाउ र बोली  धमिलिन थाल्छ । मित्रको ठाउँमा म आफैँभित्रको जागिरे आकृति र परीक्षा दिँदाको थकित मानसिकताले ठोस आकृति लिन थाल्छ । त्यस आकृतिले भन्छ-तँ आफैं तेरो त्यो मित्र होस् । तँ उसलाई भन्न सक्दैनस् कसैको परीक्षाबाट बाहिरिनु भनेको नन-कन्फर्मिस्ट हुनु हो

उसले सोधेको  भए म यसो भन्दो हुँ-कसैले तँ पास भनिदिए पछि सबै काम तमाम भएझैँ लाग्छ । अब सिक्नु पर्ने नै के रहृयो भन्ने मुर्ख्याइँ बढेर आउँछ । बाहिरतिर ज्यादा हेरिन्छ । तर असफलताको झट्काले व्यक्तिलाई तत्काल भिडबाट बाहिर फ्याँकिदिन्छ । व्यवस्थाले उसलाई पर धकेलिदिन्छ । ऊ एक्लो उभिन्छ । अब उसले आफैँभित्र हेर्नुपर्ने हुन्छ । उसलाई संकटको अनुभव हुन्छ । ऊ असुरक्षित हुन्छ । उसको अस्तित्व धर्मराउँछ । आफूलाई टिकाउन उसले आफैँभित्र ऊर्जाको खोजी गर्नुपर्छ । संकटमा पनि आफूभित्र यात्रा गर्ने चेत नभएकाहरु सबैतिर अन्धकार देख्छन् । बाहिरको उज्यालोले साथ नदिए भित्रको उज्यालोको सहारा लिनु मित्र । बाहिरको दुनियाँसँग सम्बन्ध टुटेका बखत भित्रको उर्जासँग जोडिन सकिएन भने जीवन व्यर्थझैं लाग्छ ।

म मेरो मित्रलाई सम्झेर आफैँलाई सम्झाउँछु- हे मित्र, अब पनि आफूलाई आफैँतिर फर्काउन सकेनौ भने परीक्षामा होइन जीवनमा नै फेल हुने छौ । परीक्षामा हार मान्ने तिमी कुनै दिन जीवनबाटै हार मान्ने छौ । त्यसपछिको कल्पना म गर्दिनँ । तिमी जीवनबाट हार मानेर त्यता गएको खबर मलाई सुन्नु छैन । जुन कुरा मलाई सुन्नु छैन त्यसको बारेमा सोच्नु पनि छैन ।

कीर्तिपुरको  ओरालोबाट माइक्रोबस कालीमाटीतिर हुँइकिन्छ । अब भने मित्रको आकार, हाउभाउ र बोली  धमिलिन थाल्छ । मित्रको ठाउँमा म आफैँभित्रको जागिरे आकृति र परीक्षा दिँदाको थकित मानसिकताले ठोस आकृति लिन थाल्छ । त्यस आकृतिले भन्छ-तँ आफैं तेरो त्यो मित्र होस् । तँ उसलाई भन्न सक्दैनस् कसैको परीक्षाबाट बाहिरिनु भनेको नन-कन्फर्मिस्ट हुनु हो । कन्फर्मिस्टहरु अरुको मापदण्डमा नपरेकोमा चिन्तित हुन्छन् । तँमा पनि त्यही चिन्ता छ । उनीहरु व्यवस्थाभित्र भित्रिने बाटोको खोजीमा हुन्छन, पर्खाइमा रहन्छन् । तैंले पनि त्यसैलाई कुरिस, अनि भित्र पसिस् ।

कन्फर्मिस्टहरु व्यवस्थाबाट बाहिरिनु पर्दा दु:खी हुन्छन्  । दु:खमा नै रहन्छन् ।  बाहिरिँदा पनि खुसी हुनेहरु भने निकै कम हुन्छन् । स्वेच्छाले बाहिर बस्न चाहनेहरु ननकन्फर्मिस्ट हुन् । ननकन्फर्मिस्टहरु अल्पजनमा पर्दछन्  । यिनीहरुलाई बहुजनका मापदण्डले विचलित मानसिकताको ट्याग दिन्छ । तर यस्तै विचलनमा चल्नेहरुले समाजमा वैकल्पिक चलनको थालनी गर्छन् । अन्ततः बहुजन यिनै अल्पजनका चेनताले चल्छन् । यस्ताहरु सहजै असहज जीवन बाँच्छन् ।

साँझमा क्याम्पसको गेटबाट बाहिरिनासाथ मलाई जुँगे नित्सेको भूत चढ्छ। अनि म उसैलाई सम्झेर मनमनै आफूलाई विद्रोही पात्रका रुपमा प्रस्तुत गर्छु- जोखिमविनाको जीवन मलाई घृणा लाग्छ । तर यो विद्रोह धेरैबैर टिक्दैन किनभने मसँग भोक छ

तर म यी अल्पजनको प्रशंसक मात्र हुँ अनुयायी होइन । रम्छु मात्र- म यिनीहरुलाई हेरेर, पढेर, यिनका बारेमा सुनेर। म यिनका साथमा हिँड्न सक्दिनँ । म छु अर्धकन्फर्मिस्ट । बाहिरिने र छाड्ने क्रममा रमिरहन्छु । बाँच्ने  चाँजोपाँजो मिलुन्जेलम पुरै ननकन्फर्मिस्ट हुन्छु । यता कीर्तिपुरमा कोठाको भाडा तिर्ने दिन नजिकिँदै आउँदा, भान्साको सरसामान घट्दैँ जाँदा, बजारभाउ बढ्दै जाँदा,  चाहेको किताब किन्नलाई पैसा नहुँदा, हतार र आपतमा पनि ट्याक्सी चढ्ने आँट नआउँदा भने कन्फर्मिस्ट हुन्छु । कुनै भरपर्दो व्यवस्थाभित्र छिर्छु । त्यहाँका ऐन नियम मेरालागि सर्वस्वीकार्य हुन्छ । कुनै प्रश्न उठाउँदिन । तर्क गर्दिनँ । विवेकको कम प्रयोग गर्छु ।

प्रश्न उठाउनु, तर्क गर्नु, विवेकको प्रयोग गर्नु भनेको जोखिमको जीवन बाँँच्नु हो । व्यवस्थाभित्र रहनेले, व्यवस्थाले दिएको ट्याग भिर्नेले, त्यहीट्याग धारण गरेर जीवन चलाउनेले यस्तो जोखिम लिने आँट गर्दैनन् । म पनि क्याम्पसको गेट छिरेपछि आफ्नो ट्यागको बचाउका लागि यस्तो कुनै जोखिम लिदिनँ । तर साँझमा क्याम्पसको गेटबाट बाहिरिनासाथ मलाई जुँगे नित्सेको भूत चढ्छ। अनि म उसैलाई सम्झेर मनमनै आफूलाई विद्रोही पात्रका रुपमा प्रस्तुत गर्छु- जोखिमविनाको जीवन मलाई घृणा लाग्छ । तर यो विद्रोह धेरैबैर टिक्दैन किनभने मसँग भोक छ । मेरो भोकसँग मेरा आफ्नाजनको भोक पनि जोडिएको छ । केही लोभ पनि । भोक शमनकालागि, लोभ पूरा गर्नका लागि म मापदण्डमा बाँधिन्छु । पास र फेलको ट्यागलाई स्वीकार्छु । भिर्छु । तर  म केबल पेट होइन ।  म मस्तिष्क पनि हुँ । चेतना पनि हुँ -कुनै पनि स्थापित मापदण्डको आयामभन्दा निकै माथि र निकै परसम्म फैलिएको ।  म हृदय पनि हुँ  । कुनै पनि मापदण्डको तटबन्धनले छेक्न नसक्ने,म प्रेम हुँ ।

नित्सेको विचार टाउकोमा खेलाउँदै, खलिल जिब्रानको प्रेम हृदयमा राखेर म अर्धकन्फर्मिस्ट विद्यार्थीका अगाडि उभिन्छु । पढाउनु पर्ने विषय नै त्यस्तो छ । केही कुरा नित्सेको दस स्पेक जराथ्रुस्ट्रको, ओशोको नवमानव चेतानाको, कृष्णमूर्तिको शिक्षाको औचित्यको, जिब्रानको प्रोफेटको, दलाइ लामाको आध्यात्मको । विद्यार्थीहरुलाई ननकन्फर्मिस्ट बन भन्छु तर आफू भने व्यवस्थाले बनाइदिएको स्थिर रुटिनमा चल्छु । परीक्षाको तयारी कसरी गर्ने उपाय सुझाउँछु । पास फेलको सन्जालबाट यो जुनी कसरी पार लगाउने अनेकौँ सूत्र बताउँछु ।  आफ्नै अनुभव सुनाउँछु । डेलको कालो झोलाभरि किताव बोकेर साँझमा कीर्तिपुर कोठा फर्किँन्छु । अनि सोच्छु -मानसिक सुरक्षाको खोजीमा असुरक्षित भौतारिँदै हिड्ने त्यो मित्र मै हुँ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment