+
+

मागी विवाहमा यौन समस्या आउन सक्छः करुणा कुँवर

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २ गते ९:१६

नमस्ते करुणा दिदी,

तपाईले धेरैजनाको समस्याको समाधान गरिरहनु भएको कुरा अनलाइनखवरमा तपाईंका लेख पढेर थाहा पाइरहेकी छु । मेरो पनि समस्या ठीक हुने आशामा मैले समस्या पठाएकी हुँ । यस्ता समस्या अरु महिलामा पनि हुन सक्छन् । तर, यसरी खुलेर भन्न सक्तैनन् । सायद तपाईंको उत्तरले उनीहरुलाई पनि राहत महसुस हुनेछ ।

म २७ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको ३ वर्ष भयो । श्रीमानको र मेरो सल्लाह अनुसार हामीले अहिलेसम्म सन्तान जन्माएका छैनौं । हामीमा कुनै स्वास्थय समस्या छैन । हामी एक अर्कालाई माया पनि गर्छौ । तर, यौन सम्र्पकको कुरा गर्दा धेरैजसो समयमा म आफूले सन्तुष्टिको अनुभूति नगरेको महसूस हुन्छ । म आफू मात्रै होइन, श्रीमानले पनि पूर्ण सन्तुष्टिको महसूस गर्नु हुन्न । मेरो यस्तै अवस्था भयो भने भविष्यमा के होला, कतै श्रीमानले पछि गएर अरुसँग सम्बन्ध बिस्तार गर्नु हुने हो कि भन्ने पीर लाग्छ ।

कहिलेकाहीँ मैले कतै श्रीमानलाई असन्तुष्ट बनाइराखेको त छैन भन्ने पनि लाग्छ । तपाईकै लेखहरुमा पढेअनुसार यौन सन्तुष्टिका लागि फोर प्ले आवश्यक हुन्छ भन्ने थाहा भयो । तर, श्रीमानसँग यस किसिमको अनुभव छैन । मैले यस विषयमा कुरा गर्दा पनि यस विषलाई महत्व दिनु हुन्न । यसरी सन्तुष्टि नहुँदा हामी दुवैजनालाई यौन सम्र्पकपछि दुखाइको अनुभव हुन्छ र हामी दुबैबीच लामो दिनसम्म यौन सम्बन्ध हुदैन । यो कस्तो समस्या हो ? यसबाट मुक्ति पाउन केही उपाय छन् कि ?

जवाफः चिकित्सकको सल्लाह लिनोस्

तपाईको जस्तै समस्या लिएर मकहाँ आउने थुप्रै महिलाहरु छन । कतिपय महिलाहरुमा चरम सन्तुष्टिमा नपुग्ने समस्या हुन सक्दछ भने कतिपय महिलाहरुले जीवनकालभरी नै चरम सन्तुष्टिको अवस्था प्राप्त गर्न नसकेको गुनासो पनि गर्ने गरेका छन् । अनुसन्धानका अनुसार ४२ प्रतिशत महिलामा कहिलेकाही चरम सन्तुष्टिमा पुग्न नसक्ने समस्या हुन्छ र १० प्रतिशत महिलाले आफ्नो जीवनकालभरि एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको कुरा उल्लेख गरेका छन् ।

जो महिला आफ्नो जीवनकालमा एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको वा कहिलेकाहीँ मात्र चरम सन्तुष्टि लिएको अनुभव गरेका हुन्छन् भने उनीहरुले मनोविद् वा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । किनकि यसो हुनुका पछाडि मनोबैज्ञानिक पक्षहरु लुकेका हुन्छन् । तिनको कारण पत्ता लगाई समयमै उपचार गर्नुपर्ने हुन्छ ।

अब तपाईंले भोगिरहनु भएको समस्या के हो भन्ने छोटो चर्चा गरौं ।

महिलामा हुने यस्तो समस्यालाई एनोरगाज्मीया भनिन्छ । यो यौनमनोविज्ञानमा अध्ययन गरिनुपर्ने महत्वपूर्ण पाटो हो । एनोरगाज्मियाका बारेमा थाहा पाउनुपर्ने अर्को महत्वपूर्ण कुरा के हो भने यसो हुनुमा जैविक, मनोवैज्ञानिक र सामाजिक कारण हुन सक्दछन् ।

जैविक कारणमा जीर्ण रोग जसले नशामा असर गरेको हुन्छ वा कुनै रासायनिक वा औषधिको लामो समय सम्मको प्रयोगले पनि एनोरगाज्मिया हुन सक्दछ । यसको अर्थ यौन सन्तुष्टि प्राप्त गर्न नसक्नुमा शारीरिक कारण पनि हुन सक्दछ । यसका लागि कुनै अस्पतालमा गएर फिजिसियनलाई भेट्नु उपयुक्त हुन्छ ।

सामाजिक कारणमा पार्टनर सँग कम कुराकानी हुने वा हुदै नहुने, एकअर्कावीच झगडा भैरहने वा सांस्कृतिक वा धार्मिक विश्वास जसमा महिलाले यौन ईच्क्षालाई प्रकट गर्न नहुने मान्यता लिएको छ । त्यस्तोमा पनि महिलामा एनोरगाज्मिया हुने पाइएको छ । यस्तो समस्या विशेषगरी मन नपरिकन मागी विवाह भएका जोडीहरुमा देखिएको छ ।

मनोवैज्ञानिक कारणमा दिक्दारिपन, चिन्ता, यौन रोग, गर्भ रहने डर जस्ता पक्षहरुको भूमिका हुन्छ । यदि यौन हिसा भएको इतिहास छ भने पनि एनोरगाज्मीया हन सक्दछ । चरम सन्तुष्टिमा नपुग्न सक्नुको कारणमा यीमध्ये एक वा यी सबैको मिश्रण भएको पाइएको छ । हरेक महिलामा एनोरगाज्मिया एउटै कारणले हुदैन । त्यसकारण यीमध्ये कुन कारण हो त्यसलाई पत्ता लगाउन आवश्यक हुन्छ र जुन कारण होे त्यस अनुसारको उपचार गरिनुपर्दछ ।

यसअन्र्तगत प्रचलित उपचार अन्र्तगत दम्पत्तिमा गरिने परामर्श र चिकित्सकीय उपचार हो । यस अन्र्तगत अर्को उपायमा महिलालाई कसरी उत्तेजना हुन्छ, त्यस्तो बिधि अन्तर्गत त्यस्तो प्रयास गर्न पनि सल्लाह दिईन्छ । यसअन्र्तगत हस्थमैथुन पनि पर्दछ । हस्थमैथुन बिधि अपनाउने क्रममा यौन आनन्दको महसूस हुन्छ भने त्यसलाई सफल मानिन्छ । आफूलाई यदि कुनै बिधि ठीक लागेमा आफ्नो पार्टनर सँग भन्ने र त्यही बिधि अनुसार पार्टनरलाई यौन सम्पर्क राख्न भन्ने गरिन्छ ।

यदि एक अर्कासँग मनको कुरा गर्ने, कुराकानी गर्ने, एकअर्कालाई सम्मान देखाउने जस्तो कुराको कमी हो भने पनि त्यस बारेमा खुलेर कुरा गर्नुपर्ने हुन्छ र यसको पनि कारणको खोजी गर्नुपर्ने हुन्छ । विभिन्न किसिमको औषधि उपचार भएता पनि धेरैजसो महिलाहरुलाई औषधिको सेवनले प्रभाव नपारेको कुरा बताउनुहुन्छ । किनकि कुनै पनि औषधि जादु भने होइन । विशेष गरेर यदि मनोवैज्ञानिक वा सामाजिक कारण लुकेको छ भने औषधिले समाधान गर्न सक्दैन । समय र पैसाको नोक्सान मात्र भइरहन्छ ।

तपाईको बारेमा भन्नु पर्दा तपाई र तपाईको श्रीमानवीच हाल सुमधुर सम्बन्ध छ जस्तो बुझिन्छ र तपाईहरु आफैले पनि यौन सन्तुष्टिका लागि प्रयास गर्दै हुनुहन्छ । तर, तपाईको प्रयासले अझै काम गरिरहेको छैन भने तपाईको सम्बन्धलाई बिगार्नबाट बचाउनका लागि तपाईहरु दुवैले खुलेर एकअर्का सँग कुरा गर्ने र दम्पत्ति परामर्श लिन आवश्यक छ ।

लामो समयसम्म समस्यालाई राखी राख्दा ग्लानी, हिनताबोध, र दुई दम्पत्तिबीचको बुझईमा कमी आउन थाल्दछ । तपाईहरु मध्ये एकजनाको कारणले यौनमा चरम सन्तुष्टिको अनुभव हुन नसकेको हो की दुवैजनाको समस्याले हो, त्यसलाई पत्ता लगाउन पनि विशेषज्ञको सल्लाह लिन आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?