Comments Add Comment

११ अाैं कलाश्री सम्मेलनमा १३ कवि सम्मानित

वर्षका उत्कृष्ट लेखक बने बलराम अधिकारी


एकदशक भन्दा बढी समयदेखि कला र साहित्य लगायतका क्षेत्रमा समर्पित नेपाली कला साहित्य डटकम प्रतिष्ठानले ‘सद्भाव र सिर्जना’ को मूल नारासहित आफ्नो ११ अाैं वार्षिकोत्सव मनाएकाे छ । कलाश्री पत्रिकाको प्रकाशनसमेत गर्दै आएको उक्त संस्था नेपाली भाषा, साहित्य, कला, सङ्गीत, इतिहास, दर्शन र संस्कृतिलाई एकै स्थानमा समेट्ने गैरनाफामूलक संस्था हो ।

नेपाली कलासाहित्यडटकम वेभसाइट समेत चलाएको उक्त संस्थालाई एनएलजी इन्स्योरेन्स तथा नेपालका अन्य प्रतिष्ठित व्यवशायिक संस्थाको साथ छ ।

‘देश भनेको सीमानाभित्रका माटो वा जनता होइनन्, त्यो भूगोलभित्रका भाषा, साहित्य, कला, सङ्गीत, इतिहास, दर्शन र संस्कृति पनि हो’, एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्त भन्छन्, ‘देश बन्न महत्त्वपूर्ण भूमिका खेल्ने यी विषयलाई लिएर अघि बढिरहेको नेपाली कलासाहित्य डटकमले गरेको सिर्जनात्मक कामबाट प्रभावित भएर काम देखेपछि यसमा हामी पनि संलग्न भएका हौं ।’

बुद्ध जयन्तीको सन्दर्भ बनाएर यो संस्थाले आफ्नो वार्षिक उत्सव मनाउने गर्छ । यसपटकको कार्यक्रममा कलाश्री पत्रिकामा प्रकाशित ‘सुपेरियोरिटी कम्प्लेक्सको टुप्पोबाट खसेको मेरो मित्र’ निबन्धका लागि बलराम अधिकारीलाई एघार हजार एक सय एक रुपैंयाको सिर्जनात्मक प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा अशेष मल्ल, सुलोचना मानन्धर, किशोर पहाडी, राजेन्द्र शलभ, शशी लुमुम्बू, साम्ब ढकाल, देबकी अभिलाषी, निमेष निखिल, सुनीता खनाल, जीवन खत्री, अमृता स्मृति, केशव सिग्देल, कविता राई गाउँले जस्ता १३ कवि–लेखकलाई सम्मान गरिएको थियो ।

प्रतिष्ठानले नेपाली साहित्यकारहरुलाई नेपालका गाउँ–गाउँ घुमाउने र सिर्जनात्मक कार्यमा प्रोत्साहनको कार्य पनि गरिरहेको छ । यसैगरि नेपाली भाषी बसोबास भर्ने भारतका विभिन्न राज्य र म्यान्मारको भ्रमण गर्ने वातावरण नेपाली कविहरुलाई गराउँदै आएको छ ।

कवि तथा अर्थशास्त्री विमल कोइरालाको प्रमुख संरक्षण पाएको उक्त संस्थामा शिक्षाविद् उमेश श्रेष्ठ विशिष्ट संरक्षक रहेका छन् । त्यसैगरि वरिष्ठ कवि द्वारिका श्रेष्ठ, जलेश्वरी श्रेष्ठ र उषा शेरचन यो संस्थाका संरक्षक छन् ।

गएको साता आफ्नो एघारौं वार्षिक उत्सब मनाएको उक्त कार्यक्रममा देशभरिबाट सयौं कवि–लेखक तथा बौद्धिक–आर्थिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थित थियो । कवि तथा निबन्धकार मोमिला अध्यक्ष रहेको उक्त संस्थाले निकाल्ने वार्षिक पत्रिकामा एक सय ५० भन्दा बढि रचना समावेश गरिएका छन् । पत्रिकाको सम्पादन अध्यक्ष मोमिला स्वयंले गर्दै आइरहेकी छन् ।

त्यसैगरी ती रचनालाई नेपाली कलासाहित्य डटकममा पनि राखिएको छ । कार्यक्रममा एनएलजी इन्स्योरेन्स कम्पनीका तर्फबाट मानव सन्साधन प्रमुख नौमिनाथ अधिकारी सुमनले कला साहित्यको भब्य जमघटमा उपस्थित हुने अवसर पाएको भन्दै खुसी व्यक्त गरे । त्यसैगरी पूर्व अर्थमन्त्री एवं कवि एसपी कोइरालाले देशका लागि कला साहित्यको महत्वलाई प्रस्ट्याएका थिए ।

उक्त संस्थामा डा. ध्रुवचन्द्र गौतम, डा. रामप्रसाद उप्रेती, कृष्ण प्रसाईं, दीपक सरकार तथा होम परिभाग सल्लाकारमा रहेका छन् । संस्थाले ४७ जना साहित्यकारलाई मानार्थ सदस्यता प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment