Comments Add Comment

डाक्टर कुमुद धितालका नजरमा डा. उपेन्द्र

 

फाइल तस्वीर

म आफ्नो मनलाई गह्रौँ बनाएरै भए पनि उपेन्द्र दाइको स्वास्थ्यबारे खबर बुझ्दै छु । उहाँको र हाम्रो पुर्ख्याैली घरबीचको दूरी एकदमै कम छ । तर पनि हाम्रो पहिलो भेट करिब ३५ वर्ष अगाडि लन्डनमा भएको थियो । उहाँ स्नायु चिकित्सासम्बन्धी एक तालिमका लागि लन्डन आउनुभएको थियो भने मैले पीएचडीका लागि अनुसन्धान भर्खरै सुरु गरेको थिएँ । म उहाँलाई मेरा काका राघव धितालको लन्डनस्थित घरमा बारम्बार भेट्थेँ । काकाको घरले मलाई नेपालको सम्झना दिलाउँथ्यो भने यो आफ्नो मातृभूमिका लागि सामूहिक रूपमा केही गर्नुपर्छ भन्ने प्रेरणाको स्रोत पनि थियो ।

त्यो समय साँच्चै नै रमाइलो थियो । मलाई उपेन्द्र दाइले छिट्टै प्रभावित पार्नुभयो । साँच्चै नै तपाईंले उहाँलाई केही मिनेट सुन्नुभयो अनि उहाँको आँखाको ज्योतिलाई एकपटक हेर्नुभयो भने मात्र उहाँको क्षमता, समर्पण र प्रेम थाहा पाइहाल्नुहुन्छ । उहाँले आजसम्म जे–जे गर्नुभयो र जे–जस्तो सफलता हात पार्नुभयो, त्यो सबै यही क्षमता, समर्पण र प्रेमको उपज हो ।

त्यो समयमा म स्नायु तन्तुमा रक्त नलीले कसरी रगत प्रसारण गर्छन् भन्ने विषयमा अनुसन्धानरत थिएँ र स्नायु चिकित्सक बन्ने अठोट थियो । त्यसैले उपेन्द्र दाइलाई चिन्नु पनि आफैँमा एउटा प्रेरणा थियो । म उहाँजस्तै स्नायु चिकित्सक बन्छु भन्ने उद्देश्यले कलेज भर्ना भएँ । पछि त केही समयका लागि उहाँकै सहयोगी भएर वीर अस्पतालमा काम पनि गरेँ । अन्ततः म कार्डियोथोरासिक सर्जरीप्रति आकर्षित भए पनि लन्डनको एट्किन्सन मोर्लेज हस्पिटलमा छ महिना न्युरोसर्जरीमा पनि बिताएँ, ता कि मेरो रुचि के हो भन्ने कुरामा निश्चित हुन सकूँ । त्यस क्रममा मैले मानिसहरूले उपेन्द्र दाइलाई कत्ति माया र सम्मान गर्दा रहेछन् भन्ने थाहा पाएँ । हुन त यो आफैँमा नौलो कुरा थिएन किनकि रोयल सर्जिकल कलेजले परीक्षणका लागि थोपरेका हरेक बाधा व्यवधानलाई उहाँले सजिलैसँग, अनि तीव्र गतिमा पार गर्नुभएको थियो । उहाँमा रहेको प्रकृति प्रदत्त प्राज्ञिक क्षमतामा उहाँका शल्यक्रियात्मक र सञ्चार सीप थप्दा थाहा हुन्थ्यो कि उहाँलाई कसैले केही कुराले पनि रोक्न सक्दैन । अन्य युरोपेली देशका तुलनामा संयुक्त अधिराज्य (बेलायत) मूल्यमा आधारित (मेरिट बेस्ड) समाज हो र त्यहाँ बसेको भए उपेन्द्र दाइ अत्यधिक सफल हुनुहुने थियो । तर उहाँ आफ्नो दृढ लक्ष्यलाई पूरा गर्न नेपाल फर्कनुभयो र त्यहाँ आधुरिक स्नायु चिकित्साको सुरुवातकर्ता (फाउन्डिङ् फादर)का रूपमा आफूलाई स्थापित गर्नुभयो ।

मलाई दुःख छ कि उपेन्द्र दाइको परिवार मात्र नभएर सिङ्गो राष्ट्र नै आफ्नो एउटा नायक गुमाउने क्रममा छ । केही महिना मन्त्रीका रूपमा सरकारमा सहभागी भएका समयमा बाहेक उहाँले आफ्नो सम्पूर्ण वयस्क जीवन तथा अतुलनीय अनुभव हाम्रा देशका असङ्ख्य नागरिकको जीवन बचाउनका लागि खर्चिनुभएको छ ।

विभिन्न अनलाइन सञ्चार माध्यममा प्रकाशित उहाँका लेखरचनाबाट मैले थाहा पाएको छु कि उहाँले आफ्नो काल बनेर आएको रोगलाई स्वीकार गरिसक्नुभएको छ । आखिर हामी सबैले जीवनको अस्थायित्व स्वीकार गर्नैपर्छ, किनकि यो सबैका लागि समान नै छ । भर्खरै छ दशकको उमेर पार गरेका तथा देशका लागि अझ धेरै योगदान दिन सक्ने उपेन्द्र दाइको यो अदम्य साहसप्रति मेरो उच्च सम्मान छ ।

आखिर हामी सबै एक दिन खरानी र माटोमा परिणत हुन्छौँ नै । तर हामी सबै, आफ्नो क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफूलाई महापुरुषका रूपमा स्थापित गरी नेपालमा आधुनिक चिकित्सा सेवाको आधार स्तम्भ तयार गर्ने उपेन्द्र देवकोटाको जस्तो अनन्त पहिचान (लिगेसी) छाड्न सक्दैनौँ । उपेन्द्र दाइका लागि सुस्वास्थ्य तथा शान्तिको कामना गर्दै उहाँका परिवार र शुभचिन्तकका लागि प्रार्थना गर्दछु ।

(डा. कुमुद  धिताल, अष्ट्रेलियामा कार्यरत नेपाली मूलका विश्वविख्यात मुटुरोग विशेषज्ञ हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment